काठमाडौं- भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ संक्रमित भएका छन्। आइतबार मध्यराती अर्थात गत २४ घण्टाको समयावधीमा भएको कोरोना संक्रमितको यो संख्या तीन महिनापछिको नै धेरै हो ।
भारतमा गत बुधबारबाट संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए । भारतमा आइतबार १२ हजार ७८१ कोरोना संक्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना संक्रमितको कुल संख्या चार करोड ३३ लाख भन्दा बढी पुगेका छ।
यसमध्ये ७६ हजार ७०० सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ। सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.१६ प्रतिशत हो।
पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६२ प्रतिशत रहेको छ ।
कोरोना महामारीबाट आइतबार भारतमा १८ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८५० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १९ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।
प्रतिक्रिया