अर्जुन पाठक
धेरैलाई लाग्न सक्छ ‘फुड थेरापी’ के हो भनेर तर यो हाम्रो घर आँगनमा पाइने औषधीजन्य र पोषणले भरिपूर्ण खाद्यान्नलाई स्वस्थ रहन तथा भएका रोगहरुलाई निर्मूल पार्न नियमितरुपमा प्रयोग गरिने एक आधुनिक प्रयोजन उपचार विधि हो । नेपालको सन्दर्भमा फुड थेरापी एक उपचारको नयाँ विधि नै हो । सामान्य रुपमा ‘डायटरी क्लिनिक‘ भनेर कसैकसैले चलाइरहेको अवस्था पनि छ । तर व्यावसायिक रुपले चलाइएको भनेको चाहिँ सितल डायटरी एण्ड फुड थेरापी मात्रै हो ।
मैले यसरी फुड थेरापीलाई व्यावसायिक रुपमा चलाउनुको मुख्य कारण खानाबाटै उपचार सम्भव छ भन्ने देखेर नै हो । खानाबाट उपचार सम्भव कसरी छ भन्ने कुरा पनि आफैँमा एउटा प्राविधिक विषय हो । अहिलेसम्म विरामीलाई गरिएका उपचार विधि र तिनको नतिजाहरु हेरेरै नेपालमा फुड थेरापी सम्भव छ भन्ने हो । संसारमा फुड थेरापीबाट विरामीको उपचार सम्भव भएका थुप्रै उदाहरणहरु छन् । त्यसको एउटा नमुना ‘चाइनिज फुड थेरापी‘ पनि हो । चीनमा आजभन्दा डेढदुई सयवर्ष पहिलेदेखि नै यस्ता उपचार विधिहरु प्रयोगमा आइरहेका छन् । नेपालको सन्दर्भमा हामीले विगत चारपाँच वर्षदेखि यो विधि चलाउँदै आएका छौँ ।
आधरभूत उपचार मोडेल
यसमा एउटा त फुड थेरापी नै हुन्छ । जसमा जडिवुटीजन्य औषधीहरु मिसाएर एकप्रकारको ‘ककटेल‘ जस्तै ‘रेसिपी‘ बनाइन्छ । र यो नियमितरुपमा विरामीलाई खान दिइन्छ । अर्को भनेको ‘डाइट प्लानिङ‘ र ‘फुड मेनु‘ हो । के खाने र के नखाने भनेर परिमार्जनसहित पोषणको उचित हेरविचार गरेर विरामीलाई खान दिइन्छ ।
सिम्प्टोमेटिक्स रिलिफ अथवा क्रोनिक डिजिजहरुमा यसो गर्न सकिन्छ । जस्तैः ओमेगा ३ एण्ड ६ हेमसिडबाट उत्पादन गरिन्छ । यसमा हाम्रो शरीरलाई आवश्यक पर्ने अनुपात मिलाइएको हुन्छ । तिल, सिलाम अथवा अन्य गेडागुडीबाट बनाइने तेलमा त्यो अनुपात हुँदैन । तर हेमसिडमा मात्रै यो अनुपात पाइन्छ । फुड थेरापीमा हेमसिड नै प्रयोग हुनुको कारण पनि यही हो । कहिलेकहीँ कुनै रोगलाई तत्कालै उपचार गर्नुपर्दा एलोप्याथी, आयुर्वेद चिकित्सामा औषधीको प्रयोग हुन्छ, फुड थेरापीमा पनि फुडग्रेड एन्टिबाइटिक्सहरु हुन्छन् ।
फुड थेरापीमा डाक्टरको भूमिका कति ?
यसमा एलोप्याथी, आयुर्वेद वा अन्य कुनै पनि विधाका डाक्टरको आवश्यकता हामीलाई पर्दैन । विरामीले विगतमा चलाएका औषधीहरुको एनालिसिस गर्न, तिनको असर पत्ता लगाउनका लागि शीतल डायटरी एण्ड थेरापी सर्भिसमा फार्मासिष्ट पार्वती दुलालीजी हुनुहुन्छ । उहाँ एम फार्मासिष्ट हो । उनको एनालिसिसलाई अन्तिम रुप दिएर फुड थेरापीबाट विरामीको उपचार गर्ने जिम्मेवारी मेरो हो । कोही विरामी हात काटिएर, खुट्टा भाँचिएर या सर्जरीका लागि यहाँ आयो भने त्यो हाम्रो उपचार मोडेलभित्र पर्दैन ।
विरामीहरु डाक्टरले हेरिसकेपछि अस्पतालमा उपचार सम्भव नभएपछि हामीसम्म आइपुग्ने हुन्। यस्तो अवस्थामा हामी विरामीले प्रसिद्ध डाक्टर वा अस्पतालले चेक गरेका रिपोर्ट वा ल्याब रिपोर्टहरु हेर्छौँ । सिम्प्टोमेटिक डायग्नोसिससहित न्युट्रिस्नल काउन्सेलिङ पनि हामी गर्छौँ । एउटा डाइटिसियन वा फुड थेरापिष्टको काम, कर्तव्य र जिम्मेवारी भनेको पनि एकजना विरामीलाई न्युट्रिस्नल काउन्सेलिङमार्फत् डाइट प्लानिङ दिएर उपचार गर्नु हो ।
कुनै पनि चिकित्सकलाई खानाले कति फाइदा पुर्याउँछ वा असर गर्छ भन्ने जानकारी नहुन सक्छ । साथै उहाँहरुबाट सरसल्लाह लिन सकियो, राम्रा कुराहरु अवलम्बन गर्न पनि सकियो ।
(पाठक शीतल डायटरी एण्ड फुड थेरापी सर्भिस, बालकोट, भक्तपुरका फुड थेरापिष्ट हुनुहुन्छ)
प्रतिक्रिया