त्यसको उदाहरण हो– नेपालका कम्युनिस्टहरूको चीनभक्ति। चिनियाँहरूलाई पनि लाग्दो हो, चीनको समर्थनसम्म त ठीकै हो, तर यो दर्जाको दलाली ! यो चाहिँ हद हो।
त्यो सत्य खुलस्त भयो, एसपीपी सन्दर्भमा ओलीको बोली फेरिएपछि। त्यो एउटै प्रसंगले उनको इतिहास र भूगोल मात्र होइन, कद र काँठ पनि प्रष्ट भयो। उनका आङमा पहिरेका पोसाक एकपछि अर्को गर्दै त्यसरी नै खस्न थाले, जसरी शिशिर ऋतुमा रुखबाट पातहरू झर्छन्। हरिया पातले सजिएका रुखका हांगाबाट जब झर्छन्, रुख नांगोबुंगो र कुरूप हुन्छ। ओली अहिले नांगो भएकाले त्यस्तै कुरूप मात्र होइन, निर्लज्जता पनि व्यहोर्न पुगेका छन्।
अमेरिकी सेनासँग नेपाली सेनाले गरेको एसपीपी अर्थात् स्टे्ट पाटनरसप प्रोग्रामसम्वन्धी पत्राचारलाई वर्तमान सरकारले चीनविरोधी सैनिक गठबन्धन गर्न लाग्यो भनेर कम्युनिस्ट जातका सबैले समवेत स्वरमा कोहोलो मच्चाइरहेका बेला प्रधानसेनापति प्रभुराम शर्माले त्यस्तो पत्र केपी शर्मा ओली प्रधानमन्त्री तथा रक्षामन्त्री भएका समयमा अर्थात् सन् २०१५ को अक्टोवर २७ मा गरिएको आधिकारिक पत्र संसद्मा पेस गरिदिएपछि ओलीको दोहोरो चरित्रको भण्डाफोर हुन पुगेको हो।
ओलीले त्यसको एक दिन अगाडि, राजधानीमा आयोजित एमालेका स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा वर्तमान सरकारले अमेरिकासँग एसपीपी सम्झौतामार्फत अमेरिकी सेना नेपाल भित्र्याउन खोजेको गम्भीर आरोप लगाएका थिए।
त्यसको भोलिपल्टै प्रधानसेनापति शर्माले संसदीय समितिसमक्ष उक्त पत्र प्रस्तुत गरेर कम्युनिस्ट जातको दोहोरा चरित्रको मात्र होइन, चरित्रहीनताको पराकाष्टालाई पनि उदांग पारिदिएका थिए। यो जगजाहेर छ कि ओलीजीको स्वास्थ्य ठीक छैन। उनले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन्। ती दुवै पल्ट पुरुषको मिर्गाैला म्याच नभएका कारण महिलाको मिर्गाैला प्रत्यारोपण गर्नु परेको थियो। उनको शरीरमा अरू अंगले ठीकठाक काम गरे पनि मानसिक अवस्थामा भने कहिले महिला र कहिले पुरुषमा संक्रमित भइरहने भएकाले एक दिन पनि नटिक्ने कुरा गर्ने रोगबाट पीडित हुन पुगेका हुन्। ठोकेर त भन्न सकिन्न तर महिला मिर्गौलाको प्रभावले उनको शरीरमा काम गर्ने गरेकाले हो कि कुन्नि किन हो, उनले राष्ट्रलाई ठाडै ढाट्ने काम पनि सरल र सहज तरिकाले गरिरहेका छन्। यो उनको दोष होइन, उनको स्वस्थ्य अवस्थाको स्वाभाविक परिणाम हो। एउटा प्रमुख पार्टी, जसका लाखौं कार्यकर्ता छन्, तिनले लाज र शरमले भुतुक्कै हुनुपर्ने गरी झुटो बोल्नु, त्यो पनि चीनलाई खुसी पार्न अमेरिकलाई चिढाउने काम गरेर। त्यस्तो काम, स्वस्थ्य अवस्थाको मान्छेले गर्दैन।
उनको अस्वस्थ्यताको अर्को प्रत्यक्ष प्रमाण हो, आफूले के बोलें भन्ने होस् नहुनु। मनपरी कुरा खुस्किहाल्नु। उनले अमेरिकासँग प्रधानमन्त्री शेरबहादुर देउवाले रक्सीको नशामा लठ्ठिएर हस्ताक्षर गरिदेलान्, होस् गर्नु नि ! सचेत अवस्थामा बोलेका होइनन्। दुई पटक प्रधानमन्त्री भइसकेका मान्छेलाई त्यो पदको सम्मान गर्नुपर्छ भन्ने कुरा अर्काले सिकाइरहनु पर्ने होइन। प्रमुख प्रतिपक्षको नेताले त्यस्तो हावा खुस्केको दुर्वाच्य बोलेको अशिष्ट भाषा प्रयोगले आफ्नो पार्टीका कार्यकर्तालाई लज्जित तुल्याउँछ भन्ने होस् नहुनु बेहोसीको लक्षण हो।
उनले त्यस्तो एक रात पनि नटिक्ने, सेनाका प्रधानसेनापतिले खण्डन गर्नुपर्ने झुट किन बोलेका होलान् भन्ने प्रश्न एमालेका कार्यकर्ताले मात्र होइन, सचेत नेपाली सबैले उठाउन थालेका छन्। उनलाई त्यस्तो झुट बोलेर बदनाम हुनुपर्ने तुल्याउने अमेरिका हो कि चीन हो ? ती दुवै होइनन् भने उनको शरीरभित्रको स्त्री र पुरुषको मिर्गाैलाको केमिकल इम्ब्यालेन्सको द्योतक हो ! त्यो पनि होइन भने रोवर्ट लुइस स्टिभेन्सनको उपन्यास डा. ज्याकिल एन्ड मिस्टर हाइडका नेपाली संस्करण हुन्, जो दोहोरो चरित्रका मनोवैज्ञानिक उदाहरण मानिन्छन्।
उनका पालामा जे भएको थियो, त्यो अपराध थिएन। राष्ट्रघात पनि थिएन। नेपाल र नेपालीमाथि प्राकृतिक तथा दैवी प्रकोप पर्दा सेनाबाट गरिने उद्धार र राहत कार्य छिटो, चुस्त–दुरुस्त तरिकाले पीडितसम्म पुर्याउने विषयमा अमेरिकी सेनाका विशेष युनिटसित पाटनरसिपमा काम गर्न त्यस्तो पत्राचार भएको थियो। त्यो भनेको सहकार्य हो। त्यो न खराब नियतले गरिएको थियो, न त्यो कुनै सैनिक गठवन्धन थियो। नेपालले त्यस्तै सहकार्य भारत, चीन, पाकिस्तान, बेलायत, रुस, जर्मनी तथा इजरायलसँग पनि गरेको छ। ती सबै नमान्ने हो भने त्यस अन्तर्गत प्राप्त भएका चारवटा जहाज पनि फिर्ता गर्ने ?
सबैलाई थाहा छ, नेपालको दक्षिणमा भारत र उत्तरी सीमा चीनसित जोडिएको छ। हाम्रो सीमा पहिलेदेखि चीनसँग जोडिएको थिएन। स्वतन्त्र तिब्बत, हाम्रो उत्तरी छिमेकी थियो। त्योभन्दा पनि उत्तरमा चीन थियो। आकार प्रकार, जनसंख्या र शक्तिमा तिब्बत, चीनभन्दा सानो र कमजोर थियो। जसको शक्ति उसको भक्तिको जमानामा चीनले तिब्बतमाथि थिचोमिचो गथ्र्यो। चीन आफैं अफिम र बक्सर युद्धजस्ता आन्तरिक समस्यामा फँसेका बेला तिब्बत र बुद्ध धर्मले उसको उद्धार गरिदिने गरेकै हो।
तिब्बतका बौद्ध भिक्षुले चीनका नशा र शक्तिका उन्मादीहरूलाई शान्ति र अहिंसाका पाठ पढाएका थिए। जसरी पहिलो विश्वयुद्धमा हारेर अस्तव्यस्त भएको रुसमा कम्युनिस्टहरूले रेडगार्डको सहयोगले सत्ता हत्याएका थिए, त्यसैगरी दोस्रो विश्वयुद्धमा चिनियाँ कम्युनिस्ट पार्टीले पनि पीएलएको शक्तिले चीनको सत्ता कब्जा गरेपछि त्यही सेनाले तिब्बतलाई पनि जबर्जस्ति चीनमा मिलायो। त्यसरी नेपालको उत्तरी सीमा चीन हुन पुगेको हो। नेपाली कम्युनिस्टहरूको भाग्य र जनताको दुर्भाग्य त्यही घटनाबाट सुरु भएको हो। सगरमाथाको आधा माथा फोरिएको कारण पनि त्यही हो।
विश्वशक्ति अमेरिकालाई यो थाहा छ कि नेपालले चीन र भारतलाई सशंकित तुल्याउने कुनै जोखिम उठाउन सक्तैन। उसले नेपालसँग कुनै विषयमा कुरा गर्नु अघि भारत र चीनको मुख अवश्य सुङ्ने गर्छ। नेपालमा चीनलाई अरुचिकर लाग्ने काम भारतले गर्ने गरेको छैन भने चीनले पनि भारत चिढिने मूल्यमा नेपालमा कुनै काम गरेको छैन। १२ बुँदे दिल्ली सम्झौता र त्यसका एजेन्डा निर्धारित गर्दा पनि भारतले चीनको सहमति र सहयोग प्राप्त गरेको थियो भन्ने तथ्य कसैबाट छिपेको छैन। ओलीले त्यत्ति सामान्य कुरा नबुझेर चीनलाई चाकरी पुर्याउन खोज्दा आफैं त्यसको सिकार बन्न पुगेका हुन्। कुरा त्यत्ति हो।
प्रतिक्रिया