देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार

देशान्तर

काठमाडौं -चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ ।चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो ।

गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) परियोजनाअन्तर्गतका ग्यास पाइपलाइन र विद्युत् टावरहरूलाई लक्ष्यित गरी बलुच विद्रोहीहरूले नियमित आक्रमण गरिरहेका छन् । विद्रोहीहरूले बलुचिस्तानको प्राकृतिक स्रोत लुटिएको आरोप लगाएका छन् ।

केही समयअघि कराँचीमा भएको आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी बलुच समूहले लिएको थियो । चिनियाँ नागरिक लक्ष्यित यस्ता आक्रमण नियन्त्रण गर्न इस्लामावाद प्रहरीले विदेशी सुरक्षा इकाइ स्थापना गरेको छ । विशेष गरी चिनियाँ नागरिकको सुरक्षाका निम्ति उक्त इकाइ स्थापना गरिएको हो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार हाल इस्लामावादमा एक हजारभन्दा बढी चिनियाँ नागरिक दर्जनौँ विकास परियोजना, कम्पनी र व्यवसायमा संलग्न छन् । सिपिइसी परियोजनामा संलग्न चिनियाँलाई पाकिस्तानी सुरक्षा बल र अर्धसैनिक बलले सुरक्षा दिइरहेका छन् ।