यस वर्षको मनसुन एक साताअघि नै नेपालमा प्रवेश गरिसकेको छ । पूर्वतर्फबाट प्रवेश गरेको मनसुन पश्चिमतर्फ बढ्दैछ । अघिल्ला वर्षहरूको तुलनामा एक साताअघि नै प्रवेश गरेको मनसुनका कारण मुलुकभर ठाउँठाउँमा बाढी, पहिरो र डुबानका समस्या देखिन थालिसकेको छ । फलस्वरूप मुलुककै लाइफलाइनका रूपमा रहेको मुग्लिन–नारायणगढ सडक खण्ड रोकिने खुल्ने क्रममा छ भने आन्तरिक पर्यटनका लागि प्रमुख गन्तव्य मानिने पर्यटकीय नगरी पोखरा जाने पृथ्वी राजमार्गसमेत अवरुद्ध भएको छ । यसबाट जनधनको क्षति सुरु भइसकेको छ र समयमै प्रकोपको निराकरणमा सरकारको ध्यान नपुर्याउँदा यस्तो परिणाम आएको हो भने अझै गम्भीर भएन भने झन् ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ ।
‘प्री’ मनसुनमै पनि ठाउँठाउँमा बाढी पहिरो गइसकेको छ । नदी किनारका बस्ती जलमग्न हुने र मानिसलाई नै बगाउने क्रम सुरु भइसकेको छ । सरकारी तथ्यांककै आधारमा पनि प्री मनसुन र मनसुनको एक सातामा एक हजारभन्दा मानिस प्रभावित भइसकेका छन् ।
बाढी र पहिरोले गाउँ नै बगाउने, पुर्ने तथा अत्यावश्यक सेवा प्रवाहमा नै समस्या ल्याउने विगतकै अनुभव छ । बर्सेनि सयौं मानिसको मृत्यु बाढी पहिरोकै कारण हुने गरेको छ भने लाखौं मानिस प्रभावित हुने गरेका छन् । बाढी पहिरोकै कारण वर्षाैंदेखि विस्थापित मानिसहरूको अवस्था अहिले पनि दयनीय छ ।
सरकारले राहत र पुनस्र्थापनाका कार्यक्रम तथा प्याकेज घोषणा गरे पनि पीडितहरूले त्यसको अनुभूति गर्न पाएका छैनन् । जसका कारण प्रायजसो जिल्लामा अहिले पनि अघिल्ला बर्खाहरूमा पीडित भएकाहरूको अवस्था चिन्ताजनक छ । घरबास नै बगाएपछि कहीँकतै टहरो र छाप्रो बनाएर बसेकाहरूले यसपालिको बर्खा पनि तिनै टहरामा बिताउनुपर्ने अवस्था छ ।
मनसुन हरेक वर्ष आउँछ । हरेक मनसुनले नेपाली जनधनमा क्षति पुर्याउँछ । सरकारले बर्सेनि मृतक र पीडितको संख्या थपेको थप्यै गर्छ । राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्छ । तर, जब मनसुन सकिन्छ, जब वर्षा हुन कम हुन्छ, सरकारले ती सबै घोषणा बिर्सन्छ र अर्को मनसुनको प्रतीक्षा गरेर बस्छ ।
नेपालको भौगोलिक अवस्था पनि मनसुनमा जोखिमपूर्ण छ । पहाडमा पहिरो र तराई मधेसमा डुबानको जोखिम छ । विकास पूर्वाधारमा नाममा बिना परीक्षण अघि सारिएका आयोजनाहरूका कारण पहिरो र डुबानको जोखिम बढिरहेको छ । दूरदराज र पहाडी क्षेत्रका गाउँका त के कुरा, सहरी क्षेत्र पनि डुबानमा पर्ने गरेका छन् । संघीय राजधानी काठमाडौंकै कतिपय स्थान बर्सेनि डुबानमा परेका छन् । ढल निकासको राम्रो प्रबन्ध नहुँदा समथर ठाउँका सहरी क्षेत्र पनि पटकपटक बाढीबाट प्रभावित हुने गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विगतमा भन्दा यस पटकको मनसुनमा बढी वर्षा हुने प्रक्षेपण गरिसकेको छ । मनसुनको पहिलो साताले नै यसको संकेत गरिसकेको छ । जति बढी वर्षा हुन्छ, बाढी र पहिरोको सम्भावना उत्तिकै बढी हुन्छ । वर्षा बढी भएपछि यसपालि विगतमा भन्दा बढी बाढी र पहिरो आउने निश्चित नै छ । मौसमविद्हरूका अनुसार यसपालिको मनसुनमा कम्तीमा १७ लाख मानिस प्रत्यक्ष प्रभावित हुनेछन् । यसको अर्थ तीमध्ये कतिपय विस्थापित हुनेछन्, कतिपयको मृत्यु नै हुने छ भने कतिपयले विभिन्न खाले क्षति भोग्नु पर्नेछ ।
यति हुँदाहुँदै पनि सरकारले बर्खाबाट जनतालाई जोगाउन भने कुनै ठोस पूर्वतयारी थालेको छैन । तत्काल राहत र उद्धारका लागि संयन्त्र बनाइएको छ भने जोखिमयुक्त ठाउँबाट जनतालाई स्थानान्तरण पनि गर्न सकेको छैन । घटना भइसकेपछि उद्धार गर्नु त छँदै छ, त्यसअगावै गर्नुपर्ने पूर्वतयारीका बारेमा सरकारले अहिलेसम्म ध्यान नै दिएको छैन ।
२०७२ सालको भूकम्पले नेपालका धेरै पहाडी क्षेत्र कमजोर बनाइदिएको छ । भूकम्पका परकम्पन आउने क्रम अझै रोकिएको छैन । शनिबार बिहानमात्रै पनि भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको परकम्पन आयो । पहाडी भूभाग र भूकम्पीय जोखिम कायमै रहँदा बाढी पहिरोको जोखिम पनि उच्च हुने विज्ञहरू बताउँछन् । सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र दोलखाका कतिपय पहाडी क्षेत्रमा रहेका बस्ती स्थानान्तरण गर्न यसअघि नै सरकारी निकायहरूले नै सिफारिस गरिसकेका छन् । तर, एकादुई बाहेक अधिकांश गाउँका जनतालाई स्थानान्तरण गरिएको छैन । यसले पनि देखाउँछ कि, ती क्षेत्रका बासिन्दाले यसपालिको बर्खामा पनि पहिरोसँग पौंठेजोरी खेल्नुपर्नेछ, आफ्नै बलबुताले मात्रै ज्यान जोगाउनुपर्छ ।
कुनै पनि विपत्ति सूचना दिएर आउँदैन, तर, नेपालका लागि मनसुन विपत्को संकेत हो, सूचना हो । मनसुनमा वर्षा हुन्छ, वर्षाको पानीले डुबाउँछ, पानी लगाएपछि पहाड भत्किन्छ र पहिरो जान्छ, पहिरोले मान्छे वा बस्ती भन्दैन, जे पायो त्यही बगाउँछ, पुर्छ । सामान्य नागरिकले पनि यो बुझेका छन् । तर, सरकारले यति सामान्य विषयमा हेक्का राख्दैन र बर्सेनि मृत्यु हुने र प्रभावित हुनेको संख्या रजिस्टरमा टिपेर बस्छ ।
तसर्थ, अझै पनि सरकारलाई तयारी थाल्ने समय छ । मनसुनले आफ्नो असली रूप देखाउन अझै बाँकी नै छ । भदौ असोजसम्म लम्बिने मनसुनका क्रममा हुन सक्ने घटना, दुर्घटनाबाट नागरिकलाई बचाउन सरकारले चाहँदा अझै पनि थुप्रै काम गर्न सक्छ । मौसमसँग सम्बन्धित निकायले दिने सूचनाका आधारमा सुरक्षा निकाय परिचालन गर्न सक्छ । प्रदेश र स्थानीय तहका सरकारसँग समन्वय गरेर संघीय सरकारले पुनस्थापन केन्द्र बनाउन सक्छ । समस्या आइहालेमा तत्कालका लागि जनता बस्ने र खाने व्यवस्था गर्न सक्छ ।
बर्खायाम रोगव्याधिका दृष्टिले पनि जोखिमयुक्त समय हो । यही याममा झाडापाखला, हैजा, टाइफाइडलगायतका सरुवा रोगहरू अत्यधिक फैलिन सक्छ । बिरामीहरूको उपचारसँगै स्वास्थ्य सुविधा पुर्याउने विषयमा सरकारले ध्यान दिनु आवश्यक छ । घटना नहुँदै सतर्क बन्ने परिपाटीको विकास गर्नु जरुरी छ ।
प्रतिक्रिया