काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि यसअघि एउटै समूहमा रहेर अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच नै प्रतिस्पर्धा हुने भएको छ । गणेश थापाले २२ वर्षदेखि नेपाली फुटबलमा गरेको शासन अन्त्य गर्दै अघिल्लो चुनावमा कर्माछिरिङ शेर्पा नेतृत्वमा आएका थिए ।
थापालाई फिफाले प्रतिवन्ध लगाएपछि भएको विशेष साधारणसभामा नरेन्द्र श्रेष्ठसँग पराजित भएका शेर्पा त्यसपछि थापाकै नातेदार मणि कुँवरलाई पराजित गरेर नेतृत्वमा आएका थिए । गणेश थापाले फुटबल बिगारे भन्दै ‘चेन्ज एन्फा’को नारा लगाउने कर्मासँगै रहेका अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगै थिए ।
त्यतिबेला एकदमै नजिक भएर एकअर्कालाई सहयोग गर्दै आएका यी दुई जनाबीच पहिलो कार्यकालको ६ महिना भित्रै मनमुटाव सुरु भयो । मनमुटाव यतिसम्म भएको छ भने यी दुईबीच अहिले बोलचाल पनि छैन । एकले अर्को पक्षलाई निषेध गर्ने तहमा पुगेका छन् ।
कर्मा फेरि एक पटक आफूले विगतमा गरेका कार्यहरू पूरा गर्ने योजनाका साथ अध्यक्षका लागि चुनावी मैदानमा रहँदा उनलाई जसरी पनि हराउने र फुटबलमा अहिले कर्माले वेथिति मच्चाएको भन्दै नेम्वाङले पनि उम्मेदवारी दर्ता गरेका छन् । शेर्पा र नेम्वाङले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रँदा फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । तर एन्फाको नेतृत्वका लागि शेर्पा र नेम्वाङबीच नै मुख्य प्रतिस्पर्धा हुने छ ।
दुवै समूहले २१ पदका लागि प्यानल नै बनाएर उम्मेदवार उठाएका छन् । समग्रमा ५४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ८७ मध्ये ८५ मतदाताले भोट हाल्ने यो चुनावमा वरिष्ठ उपाध्यक्षमा २, चार उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दर्ता गर्दा १३ केन्द्रीय सदस्यका लागि २१ जना चुनावी प्रतिस्पर्धामा छन् ।
दुई जना महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ । विवाद रहेकाले यो चुनावमा भक्तपुर र सिन्धुली जिल्ला फुटबल संघले केन्द्रीय निर्वाचनमा मतदान गर्ने छैनन् । भक्तपुरमा केन्द्रले हस्तक्षेप गर्दा विवाद रहेको छ भने सिन्धुलीले समयमै निर्वाचन गर्न पनि नसकेको र केन्द्रमा निर्वाचन गर्नका लागि पनि आउन नसकेपछि मताधिकारबाट वञ्चित भएका हुन् ।
एन्फाको वर्तमान नेतृत्वमा रहेका शेर्पा र नेम्वाङ दुवै नेपाली कांग्रेससँग निकट व्यक्ति हुन् । तर, दुवै जना एउटै पार्टीका भए पनि गुटगत स्वार्थका कारण एकआपसमा मिलेर काम गर्न सकेनन् ।
अहिले कर्मा नेपाली कांग्रेसभित्र प्रकाशमान सिंह समूहमा छन् भने नेम्वाङ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा समूहमा छन् । यी दुवै जनालाई मिलाउन पार्टीले पहल गरे पनि गुटगत स्वार्थका कारण सहमति नभएको पार्टीका एक नेताले देशान्तरलाई बताए ।
प्रतिक्रिया