देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पागलपनबाटै परिवर्तनको बाटो खुल्छ !


बितेको साता अमेरिकाको टेक्सास राज्यको एउटा प्राइमरी विद्यालयको कक्षाकोठामा स्वचालित बन्दुकधारी १८ वर्षको एक किशोर जबरजस्ती घुसेर अन्धाधुन्ध गोली चलाउँदा १९ जना बालबालिका र दुई शिक्षक एकै चिहान भएको घटनाले सारा विश्वलाई स्तब्ध तुल्यायो । त्यो घटनाको सबैभन्दा हृदयविदारक पक्ष के थियो भने मारिने अधिकांश बालबालिका सातदेखि दस वर्षका थिए । ती अबोध बालबालिकाले अकालमा ज्यान फाल्नुपर्ने कुनै दोष अथवा अपराध गरेका थिएनन् ।

अमेरिकाको बजारमा जसले पनि जस्तोसुकै खतरनाक हतियार किन्न र राख्न पाउने अधिकारको दुरुपयोगका अनेक घटना भइसक्दा पनि त्यसमाथि नियन्त्रणको सार्थक प्रयास भएको छैन । त्यसैको परिणाम हो– एउटा पागलको सनकले उत्पन्न गरेको टेक्सासको बालबालिकाको निर्मम हत्याकाण्ड । आश्चर्य लाग्ने मुख्य प्रश्न हो, त्यत्रो ठूलो र गम्भीर घटना भयो किन ? त्यसका पछाडिको कारण के हो ? उपलब्ध तथ्य र घटनाक्रमको अध्ययनबाट सिद्ध भयो, हत्याराको पागलपनबाहेक अर्को कुनै कारण पटक्कै थिएन ।

थियो भने यो कि खुला बजारमा स्वचालित हतियार खरिदको स्वच्छन्दताको दुरुपयोग । त्यस्तो अनियन्त्रित अधिकारमाथि अंकुश लगाउने प्रयास धेरै पटक नभएको होइन । तर प्रत्येक पटक व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने संवैधानिक तथा कानुनी स्वतन्त्रताको दुहाईले त्यस्तो प्रयास असफल हुँदै आएको छ । यसपालि पनि राष्ट्रपति जो वाइडेनले त्यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै स्वतन्त्रताका नाममा असुरक्षा फैलाउने हतियारको खुला खरिद–बिक्रीको अधिकारमाथि रोक लगाउन प्रभावकारी कदम चाल्ने प्रतिबद्धता दोहो¥याएका छन् । तैपनि विश्वभरिबाट यो सवाल उठिरहेको छ कि यस्तो पागलपन कहिलेसम्म ?

पागलपनको जघन्य अपराध अमेरिकाका सनकीहरूले मात्र गर्ने गरेका छैनन्, ठूला शक्ति राष्ट्रका सरकार प्रमुखले पनि हाकाहाकी त्यस्तो अपराध गरेका छन् । रुसका राष्ट्रपति ब्लादिमिर पुटिन त्यसका ताजा उदाहरण हुन् । उनले आफ्नो देशका तुलनामा धेरै सानो छिमेकी, युक्रेन, जसले उसको अधीनमा बस्न नचाहेको र नाटो सैनिक संगठनको सदस्यता लिन खोजेको आरोपमा त्यो देशमाथि आक्रमण गरेर युद्ध जारी राखेको तीन महिना पुग्न लागेको छ । एउटा स्वतन्त्र र सार्वभौम देशले आफ्नो सुरक्षाका सबै प्रकारका उपाय अवलम्बन गर्न सक्ने र पाउने शाश्वत अधिकार बलात् खोस्न उसमाथि आक्रमण गर्नु, हद दर्जाको दादागिरी मात्र होइन पागलपन पनि हो । दोस्रो विश्वयुद्धअघि जर्मनीका तानाशाह हिटलरले अस्ट्रिया, चेकोस्लोभाकिया, हंगेरी र पोल्यान्डमाथि त्यसैगरी आक्रमण गर्दै आफ्नो देशको सीमा विस्तार गरेका थिए । अहिले पुटिन त्यही हिटलर पथका अनुगामी भएका छन् । युद्धबाटै युरोप र अमेरिकालाई थर्काउने पूर्वाभ्यासमा लागेका पुटिन बिल्कुलै हिटलर र स्टालिनको बाटो पछ्याइरहेका छन् । द्वितीय विश्वयुद्धको पूर्वसन्ध्यामा हिटलर र स्टालिन दुवैले मिलेर बेलायत र फ्रान्सजस्ता प्रजातान्त्रिक देशलाई झुक्याएर पोल्यान्डको सम्पूर्ण भूभागलाई आपसमा बाँडेर लिने सम्झौता गरेका थिए । युद्ध अपराधमा पुटिनले हिटलरलाई समेत उछिनिसकेका छन् । उनी संसारलाई तेस्रो विश्वयुद्धतिर धकेल्ने अपराधतिर आँखा चिम्लेर बढिरहेका छन् । परिणाम यो भएको छ कि साना र गरिब देश महँगी र अभावको सिकार बन्न पुगेका छन् । निर्दोष अवस्थामा पनि उनीहरूले पुटिनको अपराधका दोषभागी हुन बाध्य हुनु परेको छ ।

रुसको आकाश, समुद्र र जमिन तीनैतिरबाट भएका आक्रमणबाट युक्रेनका सैनिक ब्यारेक मात्र होइनन्, सुन्दर सहर, स्कुल, कलेज विश्वविद्यालय, अस्पताल, आणविक केन्द्र, औषधि उत्पादन गर्ने उद्योगधन्दा आदि ध्वस्त हुन पुगेका छन् । वृद्धवृद्धादेखि केटाकेटीसम्म नर्स, डाक्टर, वैज्ञानिक, लेखक, कलाकार रसियन फाइटर प्लेन, रकेट तथा ट्यांक आदिको सिकार बनेका छन् । दसौं हजार निहत्था नागरिक मारिएका छन् । करोडौंले देश छाडेर अरू देशमा शरणार्थी बन्न बाध्य हुनु परेको छ । युक्रेन, त्यस्तो गम्भीर संकटमा आफ्ना कारणले पुगेको होइन । रुसले उसलाई आफ्नो खटनमा राख्न खोजेकाले आजको स्थिति उत्पन्न भएको हो । अमेरिकालगायत युरोपेली शक्ति राष्ट्रहरू युक्रेनप्रति सहानुभूति त प्रकट गर्छन् । तर रुसको मानवताविरोधी जघन्य अपराधबाट रोक्न उसलाई सैनिक सहयोग गर्न कोही अग्रसर भइरहेका छैनन् । किन ? त्यही प्रश्नको जवाफमा समस्याको समाधान छिपेको छ । जवाफको खोज हुन जति ढिला हुँदैछ, पागलपन थप उग्र बन्दै छ ।

नेपालमा हालै भएको स्थानीय तहको निर्वाचनको परिणामले, विशेष गरेर राजधानी काठमाडौंको अप्रत्याशित नतिजाले जुन अनिष्टको संकेत गरेको छ, त्यसले पनि राजनीतिक क्षेत्रमा आच्छादित पागलपनले हद पार गर्ने हो कि भन्ने आशंका अनायास सञ्चारित गरेको छ । बहुदलीय व्यवस्थाभित्र निर्दलीय अभ्यास हुन थालेकाले मात्र होइन, मधेसमा पहाडियाले निर्वाचित हुन पाउने तर पहाडमा मधेसीले प्रतिस्पर्धा गर्न किन नहुने ? कसैले नउठाएको यो प्रश्न स्वतः खडा हुन पुगेको छ । राजनीतिमा जब विचार, सिद्धान्त र संगठनको शक्ति र प्रभाव कम हुन थाल्छ, तब जाति र मूलको नाराले महत्व पाउन थाल्छ । धनगढी, धरान र जनकपुरका स्वतन्त्र र काठमाडौंका स्वतन्त्रको अर्थ र आयतन बेग्लै भएको तथ्यलाई बिर्सन सकिन्न । यो खाली सिसी, पुराना कागजको नयाँ संस्करण मात्र होइन । न यो तरुण पुस्ताको विदेश जान नपाएको कुण्ठा र बेरोजगारीबाट उत्पन्न चरम नैराश्यताको पागलपनको द्योतक मात्र हो, न ठूला दलका नेताको टिकट वितरणमा भएको स्वेच्छाचारिताविरुद्धको विद्रोह नै हो । त्यस्तो विद्रोह त पार्टीभित्रैबाट निक्लनु पर्ने थियो, योजनाबद्ध तरिकाको सडक विस्फोटका माध्यमबाट होइन ।

राजधानीमा स्वतन्त्र उम्मेदवारको प्रयोगको स्वरूप र स्थितिबाट पनि प्रष्ट हुन्छ कि यो बिना कारण भएको होइन । काठमाडौंको जनसंख्याको संरचनात्मक यथार्थमाथि नै धावा बोल्ने घटना, युवा पुस्ताको ब्यालेटबाट हुने परिवर्तनको खोज मात्र होइन, यो त ठूलै क्रान्तिका निम्ति तयार पारिएको दुरभिसन्धिको पूर्वाभ्यास पनि हो । झट्ट हेर्दा भीडको पागलपनको पराकाष्टा जस्तो देखिए पनि अन्तर्यमा अर्को परिवर्तनका लागि भएको नयाँ प्रक्षेपण पनि हुन सक्छ ! माओवादीको कथित् जनयुद्धको उत्थान र पतनको इतिहासको अध्ययन गरियो भने नयाँ प्रयोगको निहितार्थ बुझ्न थप सहज हुन्छ । पागलपनबाटै परिवर्तनको बाटो खुल्छ । नेपाल मात्र अपवाद हुन सक्तैन ।