काठमाडौं महानगरपालिकाको निर्वाचनमा बालेन साह तेलीको जुन आकस्मिक तथा अस्वाभाविक विस्फोट भयो, त्यो धमाकाले उत्पन्न गरेको हलचल अझै सेलाएको छैन । भ्रमको पारा जुन उद्देश्यले जसरी चढेको छ, त्यसको गति र चाप हेर्दा छिटै सामसुम हुनेवाला पनि देखिंँदैन । त्यसप्रति विभिन्न क्षेत्रमा नयाँ बहस र टीका–टिप्पणीका लहर चल्न थालेका छन् । त्यो यसकारण कि त्यसैका आधारमा ठूल्ठूला परिवर्तन र क्रान्तिको खेतीको खयाली पुलाउ पकाउने काम पनि जोडतोडले हुन थालेको छ । अर्को शब्दमा, अन्दाज र अड्कलको बजारमा रमाउनेहरूका लागि मौसम अत्यन्त अनुकूल छ । मानौ, जुन उल्कापात काठमाडौंमा प्रक्षेपित भएको छ, त्यो उनीहरूका निम्ति सुखद वरदान बनेर आएको होस् ।
त्यसो त जसले जे भने पनि जान्नेलाई श्रीखण्ड, नजान्नेका लागि खुर्पाको बीड भन्ने नेपाली उखान लागू भएको अवस्था यो अवश्य हो । अनि यो पनि पक्का हो कि तिनैले भोलि “खोदा पहाड, निकला चुहा”को अर्को उखान दोहो¥याउने छन् । जसले काठमाडाैंमा कहिले नानीमैयाँ दाहाल, कहिले गोल्चे सार्की, कहिले पद्मरत्न तुलाधर त अझ कहिले रञ्जु दर्शनाको चकचकी अथवा तमासा देखेर थपडी बजाएका थिए, तिनका निम्ति यो निकै ठूलो रोमाञ्चकारी घटना हुन पुग्नु अस्वाभाविक होइन । तर नानीमैयाँ प्रसंग नव्यहोरेको आजको नयाँ पुस्ताले त्यसको रि–प्ले किन, कसरी र कहाँबाट भइरहेछ, त्यसको बोध गर्ने फुर्सद पाएको छैन । त्यसैले उनीहरूलाई त्यो घटना दन्त्यकथाजस्तो लाग्यो भने आश्चर्य नमाने हुन्छ ।
हिजोआजका युवाहरूको अमेरिका र अस्ट्रेलिया जाने भिसा नलागेको झोंक मात्र होइन, म्यानपावर कम्पनीको ठगीमा परेर विदेश जाने सुन्दर सपना भताभुंग भएको रिस र पीडादायी कुण्ठा पोख्ने माध्यम बन्न पुगेका छन्– बालेन । उनीहरूलाई राजनीतिक व्यवस्था होइन, आफ्नो अवस्थाबाट क्षणिक त्राण चाहिएको थियो । काठमाडौंको चुनावले त्यो अवसर उपलब्ध गराइदियो । बालेन उनीहरूका निम्ति गीत, संगीत र नृत्य बन्न पुगे । त्यस्तो आधुनिक अवतार, जसले भविष्य निर्माण होइन, तत्काल मनोरञ्जन प्रदान गर्छ ।
२०३७ सालमा बहुदलीय राज्य व्यवस्था रोज्ने कि सुधारिएको निर्दलीय पञ्चायत व्यवस्था रोज्ने भन्ने विषयमा जनमत संग्रह भएको थियो । पञ्चहरूले सरकारी शक्ति र राज्यकोषको दुरुपयोग गरेर पञ्चायत जिताएकाले त्यसप्रतिको आक्रोश व्यक्त गर्न नानीमैयाँ दाहाललाई राष्ट्रिय पञ्चायतको चुनावमा सरकार र व्यवस्थाप्रतिको असन्तोषको द्योतकका रूपमा प्रस्तुत गरेका थिए, एकथरी बहुदलवादीले । राजधानीका बहुदलवादी मतदातालाई आफ्नो आस्था र विश्वासको व्यवस्था पराजित तुल्याउने पञ्चायतसँग प्रतिशोध लिनु थियो, नानीमैयाँ त्यसको प्रतीक बनिन् । उनले ८० प्रतिशत मत प्राप्त गरेर चुनाव जितिन् ।
बालेन अहिले त्यसैको रि–प्ले बन्न पुगेका छन् । उनलाई चुनाव लड्ने सल्लाह कसले दियो होला, त्यो प्रश्न गौण बनिसक्यो । उनी बहुदलीय व्यवस्था विरोधी आन्दोलनका निमित्त नायक बन्न पुगिसकेका छन् । नेपालको संविधान, ऐन र प्रक्रियाले जुन बहुदलीय व्यवस्था स्थापित गरेको छ, त्यसैको अन्त्य गरेर निर्दलीय व्यवस्था फर्काउने प्रतिक्रियावादी आन्दोलनका अभियन्ता बन्न पुगेका छन् । पेसाले त उनी इन्जिनियर नै थिए, त्यो शिक्षाको सदुपयोग उनले योजनाबद्ध विकासका क्षेत्रमा लगाउनु पर्ने थियो । तर उनलाई प्रतिक्रियावादीले आफ्नो औजारका रूपमा प्रयोग गरेका छन् । जानी नजानी उनी काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर लाग्न पुगेका छन् ।
बालेनको लहड र प्रतिक्रियावादीको सफल कपट प्रयोगको परिणाम यो हुने भयो कि राजधानीवासीले अर्को पाँच वर्ष आजकै जस्तो अव्यवस्था र अस्तव्यस्ता मात्र होइन, फोहोरको कन्टेनरका रूपमा बिताउन अभिशप्त हुनुपर्ने भयो । प्रष्ट छ, सपना जस्तो विपना हुँदैन । विचार, सिद्धान्त र कार्यक्रममा आधारित संगठित राजनीतिक दलका प्रभावशाली वडाध्यक्षहरूका भिन्नाभिन्नै समूह एकातिर, अर्कोतिर ब्रेक नभएको गाडीका कालो चश्माधारी स्वतन्त्र चालक ! अवश्यंभावी दुर्घटनालाई पशुपतिनाथले पनि जोगाउन सक्ने छैनन् ।
यसपालिको चुनाव, यद्यपि स्थानीय तहको नेतृत्व चयनको आवधिक प्रक्रिया थियो, तथापि परिणामले पार्टीका नेताहरूलाई दुइटा सन्देश बडो स्पष्टसँग सम्प्रेषित गरेको छ । पहिलो, प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको जनताको जागरुकता हो भने दोस्रो हो, नेताहरूको स्वेच्छाचारिताका विरुद्ध कठोर चेतावनी । उनीहरूले उम्मेदवारको छनोट गर्दा योग्यता, क्षमता र लोकप्रियताको मापदण्ड उल्लंघन गर्ने गल्ती गरे भने त्यसको दण्ड जनताले कसरी दिन्छन्, त्यसको उदाहरण पनि उनीहरूले देखाइदिएका छन् । अर्को, गठबन्धन र अझ सुसंगत गठबन्धन नेपालको राजनीतिक भविष्य हो भन्ने पनि यो चुनावले सावित गरिदिएको छ ।
कांग्रेस, पहिलो शक्तिमा स्थापित हुनु भनेको प्रजातन्त्रका प्रतिको जनताको प्रतिबद्धता मात्र होइन, कटिबद्धताको ग्यारेन्टी पनि हो । त्यो सकारात्मक सन्देशलाई ग्रहण गरेर कांग्रेसका नेता अघि बढे भने समृद्ध नेपाल निर्माणको लक्ष अब टाढा छैन । नानीमैयाँ रि–प्लेको सारांश यत्ति हो ।
प्रतिक्रिया