पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज(मंगलबार ) खेल्दैछ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो ।
सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो ।
युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो । दोस्रो खेलमा भने कप्तान रुबिना र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन् ।
पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन् । नेपाल र युगान्डाबीचको शृंखला पाँच खेलको हुनेछ ।
नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृंखला हो ।
प्रतिक्रिया