देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैले लोग्नेलाई भोट हालिनँ


मिति २०७९ वैशाख ३० गते देशभरि स्थानीय तहको नेता चयन गर्ने एउटा सुनौलो अवसरको सदुपयोग गर्न म पनि निर्वाचन केन्द्र पुगेँ । मतदानका लागि लाइनमा बसेका मतदाताहरूको भीड देखेर एकैछिन अलग्गै बस्ने र त्यो भीड कम भएसी मतदान गर्ने निधो गरेर यसो साइडमा रहेको जुस पसल छिरेँ । अलि चक्कर पनि लागिराथ्यो त्यसैले जुस बनाइमागेँ र पिउन थालेँ । पसलभित्र जुस पिउँदै गरेको एउटा समूह थियो । लगभग आठ, दस जनाको उक्त समूहमा सबै महिला नै थिए । म उनीहरूको कुरामा हराइरहेकी थिएँ ।

एकजना महिलाले भन्दै थिइन् ‘म मेरो लोग्नेलाई भोट हाल्दिनँ ।’ अर्कीले भन्थिन् ‘आफ्नै मान्छेलाई झन् घरकै नेतालाई घरकै भोटर्सले यसो भनेर हुन्छ त भन्या ? भरे एक भोटले तलमाथि हुन सक्छ, त्यतिबेला चिन्ता लिएर के गर्नु ? आफैँले आफ्नैलाई हराउनु त भएन नि ।’

कुरा भुइँमा खस्न नपाउँदै पहिली महिला जुरुक्कै भइहालिन् ‘ऊ कसरी मेरो घरको नेता हुनसक्छ ? नेताले त घरभित्रको बारेमा सोधिखोजी गर्छ, घरव्यवहार बुझ्न खोज्छ, घरपरिवारका बारेमा चासो राख्छ, सञ्चोविसञ्चो, भोकप्यास ख्याल गर्छ, वृद्व भएका बाआमाको दबाईमुलो चासो छैन, बच्चाबच्चीको पढाइ वास्ता छैन, इष्टमित्र पाहुनापाछा केही मतलव छैन । नेता हुँ भन्या छ, भाको नभाको मान्छे थुपारेको छ घरभरि दिनहुँ, अनि तिर्नेलाई तातोचिसो भन्दै म लखतरान्, कतिको त मोजा गन्हाएर नि भगवान् घरभित्र बस्नै सकिँदैन, ती मान्छेले लाएका जुत्ताचप्पलसँग आएको धुलो, हिलो सधैँ उस्तै हो । कहिले भेला भएर तास खेल्ने भन्या छ, कहिले भेटघाट भन्या छ, जहिले त्यस्तै । आफूले कहिले तातो खान नि पाउनु छैन, सफा लाउन नि पाउनु छैन, दुखबिमार हुँदा समयमा चेकअप गर्न जान नि पैसा हुँदैन अनि मलाई यस्ता नेता भएर के काम ?’

‘अनि नेताकी स्वास्नी भएसी यत्ति त सहनु परिगो नि’ अर्कीले थपिइन् ।

‘सहनुको पनि सीमा हुन्छ नि म्याम, कमसेकम मेरा पनि त इच्छा होलान्, रहर होलान्, बिहे गरेको दिनदेखि सधैं यस्तै हो । योभन्दा अगाडि अर्को नेताको झोला बोकेर कार्यकर्ता हुँदा त घरमा सिन्को नभाँच्ने साढेले अब आफैं नेता भयो भने झन के गर्ला त !! ओहो म त सोच्न पनि सक्दिनँ, त्यसैले म उसलाई भोट हालेर मेरो टाउकोमा आफैँ बञ्चरो हान्न चाहन्न ।’
ती महिलाको कुरा सुनेर म चकित् भएँ र बिस्तारै सोधेँ ‘कस्तो घतलाग्दो कुरा गर्नुभयो म्याम, अनि तपाईंको श्रीमान्ले के गरिदिनुहोस् भन्ने चाहना हो तपाईंको चाहिँ ? श्रीमान् कस्तो भइदिए उहाँलाई नेता मान्नुहुन्थ्यो र भोट पनि हाल्नुहुन्थ्यो?’

मेरो जिज्ञासाको जवाफमा उनले बताइन् ‘म्याडम, म पनि सानो व्यापार गर्छु, तरकारी लिन राति ४ बजे होलसेल पुग्छु, एक, दुई पैसा होला कि भन्ने आसमा भातपानी नभनी दौडन्छु । घर र पसल गर्दा बिहान ३ बजेदेखि रातको ११ बजेसम्म म टुसुक्क बस्न नि पाउँदिनँ । घरमा बूढाबूढी केटाकेटी छन्, ती उनकै बाआमा अनि छोराछोरी हुन् । कमसेकम् कि घर कि पसल हेर्न सघाइदिए मलाई पनि त कति सहज हुन्थ्यो । म पनि थाकेर राती घर आइपुग्दा त्यो अनुभूति गरेर घरको काममा सघाइदिए कति हुन्थ्यो, तैँले खाइस् कि खाइनस् सोधिदिए हुन्थ्यो, घरव्यवहार कसरी चलाउँदैछन् भनेर खोजिदिए हुन्थ्यो, यस्तो केही चासो हुँदैन, उल्टै उनका कार्यकर्तालाई भनेको बेला चिया पुगेन भने कुटाइ खाइएला भन्ने चिन्ता हुन्छ । उनको इज्जत राख्दै म आफैँ म रहन्न कुन दिन भन्ने डर लागिरहन्छ । अहिले नजित्दा त यस्तो छ, झन् जित्यो भने म र मेरो घर परिवारको हालत के होला त भनेर अनुमान लाइसकेँ । त्यसैले पनि म मेरो लोग्नेलाई भोट हाल्दिनँ ।’

ओहो ती महिलाको कुरा सुनेर मेरो पनि दिमाग रन्थनियो । साँच्चै घरभित्रको चासो नगर्ने, अनि समाज सुधार गर्छु भन्दै हिँड्ने बतासे नेता कति होलान् त हाम्रो समाजमा । नेता हुनु भनेको शासक हुनु होइन, सहकार्य गर्ने सहकर्मी हुनु हो भन्ने चेत कहिले आउँला त !! । अनि ती महिलाले जस्तै गरेर सबै महिलाले आफ्ना लोग्नेलाई भोट हालेनन् भने या आफ्नो अमूल्य मतका कारण नेता चयन गर्ने कि शासक भित्र्याउने भन्ने चेतना सबै महिलामा आयो भने कतिजना साँच्चैका नेता चयन हुन्थे होलान् अनि कति लोग्ने नेता हार्थे होलान् ! घर फिटिक्कै नछुने अनि देशको मुहार बदल्छु भनेर बतासे भाषण गर्नेलाई हामीले कहिलेसम्म विश्वास गर्ने ? नेता हुनलाई हरेको नेतृत्व चित्रको चरित्र सुधार गर्न जरुरी पर्छ कि ?