यो आलेख देशान्तर साप्ताहिककाे जेठ १ गते आइतबार प्रकाशित हुँदासम्म स्थानीय तहको निर्वाचन अन्तिम पूर्ण परिणाम प्रकाशन हुने छैन । यस पटकको स्थानीय तह निर्वाचन विगतको जस्तो स्थानीय तह सीमित भएन । राजधानी केन्द्रित राजनैतिक दल अध्यक्ष तथा प्रभावशाली नेताहरूका निमित्त निर्वाचन व्यक्तिगत प्रतिष्ठाको विषय हुन पुग्यो ।
स्थानीय सरकारको ७५३ का निमित्त मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षलगायत वडाध्यक्ष/सदस्य, महिला, दलित महिला गरेर कुल ३५,२११ जनप्रतिनिधि निर्र्वाचित हुनेछन् । उम्मेदवार संंख्या १ लाख ४५ हजार ११ छ ।
अधिकांश स्थानहरूमा दल समर्थक उम्मेदवारलाई सोही दलका बागी उमेद्वारले चुनौती दिँदै छन । समग्रमा भने प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच रह्यो ।
निर्वाचन नतिजाको अनुमान गर्न कठिन भए पनि परिणामको अन्दाज कठिन छैन । सत्ता गठबन्धनको पराजयले प्रमाणित अहंकारी, सर्वसत्तावादी, भ्रष्टाचारी तथा अवसरवादी नेताको मनोबललाई गगनचुम्बी तुल्याउनेछ । तीन वर्र्ष आधा अवधि लामो तिनको शासनकालमा केन्द्रले गरेको घोटलाका काण्डहरू ‘कपी एन्ड पेस्ट’ स्थानीय तहले गर्नेछन् । अर्कोतर्फ गठबन्धनले वर्चस्व कायम गर्न सफल रह्यो भने विगत २५/२६ वर्र्षदेखि शासन सञ्चालनमा देखा परेका राजनैतिक विकृित तथा विसंगति स्थानीय तह पुग्नेछ । देशका निमित्त निर्वाचन परिणाम ढुंगा र चट्टानमध्ये एक साबित हुने प्रबल सम्भावना छ ।
विभिन्न दिशाउन्मुख विपरीत राजनीतिक सिद्धान्त, आदर्श, मूल्य, मान्यता तथा संस्कारमा हुर्केका पाँच दलबीचको पूर्व चुनावी गठबन्धन नवीन परीक्षण हो । गठबन्धन ‘अपरिहार्यता’का लामा पट्यारलाग्दा व्याख्या गरियो । वास्तविक उद्देश्य सत्ताप्लिप्त सीमित राजनैतिक पात्र तथा तिनको परिवारको राजनैतिक भविष्य सुरक्षित गर्ने प्रयास हो यो । गठबन्धन नेपाली कांग्रेस दलका निमित्त आवश्यकता थिएन । एमाले शासनकाल भुक्तभोगी मतदाताका निमित्त पुनः एमालेलाई रोज्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो प्रहार गर्नु सरह थियो । मतदाता चेतनालाई अनादेखा गर्दै मुसोलाई हात्ती साबित गर्ने अभ्यास गरियो ।
गठबन्धनले एमाले नेतालाई अनायास हिरो तुल्यायो । गठबन्धनमा सामेल अन्य चार दल नेताको अस्तित्व जोगाउन उनीहरूले नेपाली कांग्रेसको बुइँ चढेका हुन् । कांग्रेस दल होइन उसका दुई प्रमुख नेताहरू १) अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री तथा २) पूर्व वरिष्ठ एवं स्थापन इतरपक्ष गुट नेताका निमित्त गठबन्धन आवश्यक भएको हो ।
दुवै नेताले विगतको तीता अनुभवलाई चटक्कै बिर्सेर प्रचण्ड, माधव नेपाल तथा उपेन्द्र यादव/बाबुरामसँंग अंकमाल गर्न पुग्नुको पछाडिका कारण लुकेको छैन । दुवैको राजनैतिक भविष्य आफ्नै गृह जिल्लामा सुरक्षित नभएर नै हो ।
एकै छिनका लागि सत्तासीन हुनुपूर्वका दुई अभिन्न मित्र शेरबहादुर तथा रामचन्द्रको राजनैतिक इतिहास पल्टाऊ । दुवै उदाहरणीय होनहार नेताको रूपमा स्थापित थिए पञ्चायतको पतन पूर्वको कालखण्डमा ।
दुवैले सानै उमेरदेखि प्रजातन्त्रको पुनस्र्थापनाका निमित्त अविरल संघर्ष गरे । संसदीय प्रणालीको पुनस्र्थापनपश्चात् दुवैलाई अत्यन्त महत्वपूर्ण जिम्मेवारीहरू नेका नेतृत्वले सुम्पियो । तीन दशकभन्दा लामो अवधि दुवैलाई सत्तासीन अथवा त्यसको वरिपरि रहने शुभअवसर प्राप्त भयो । शेरबहादुर देउवाको सत्ता यात्रा गृह मन्त्रीबाट सुरु भयो । पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका देउवाका निमित्त उक्त पद पानीपँधेरो साबित भएको छ । अत्यन्त महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने जिम्मेवारी पाएका रामचन्द्र पौडेल उपप्रधानमन्त्री भए । संसद्को सभामुख हुने अवसर पनि तिनले पाएकै हुन् । तिनलाई अविरल १७ पटकको प्रधानमन्त्री पदका निमित्त प्रतिस्पर्धा गर्ने अवसर पनि मिल्यो । विडम्बना आजका दिनसम्म आइपुग्दा दुवैको गरिमा तथा लोकप्रियतालाई पिँधमा पुगेको छ । कुनै कालखण्ड समस्त राष्ट्र नै उनीहरूको सुरक्षित निर्वाचन क्षेत्र थियो । जुनसुकै निर्वाचन क्षेत्रमा उम्मेद्ववारी दिँदा विजय सुनिश्चित थियो । हाल दुवैका निमित्त सुरक्षित निर्वाचन क्षेत्र आफ्नै गृह जिल्ला पनि छैन । दुवैको गृह जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताले गठबन्धन प्रस्तावलाई अस्वीकार गरे । उनीहरूको धम्कीलाई चुनौती दिँदै बागी, स्वतन्त्र अथवा एमालेसँग हातेमालो गर्न पुगे, आजीवन कांग्रेस दल समर्पित कार्यकर्ताहरू ।
दुई कांग्रेस नेताले आफू र आफन्तको सुरक्षार्थ गरेको यस निर्णय रसियन रुलेट प्रमाणित हुने जोखिम अत्यधिक छ । संक्षिप्त परिचयात्मक वर्णन गर्ने हो भने रसियन रुलेट ‘खेल’ रुसी संस्कारका अनेक दुस्हासिक कार्यहरूमध्ये एक हो । खेलको सुरुआत रिभल्बरको गोली राख्ने च्याम्बरमा एक मात्र गोली राखेर त्यसलाई घुमाइन्छ । त्यसपश्चात् पात्र स्वयंले आफ्नो कञ्चटमा नाल (बेरल) जोडेर घोडा (ट्रिगर) तान छ । जोडदार आवाजमा रिभल्बर पड्किए पात्रको तात्कालीक मृत्यु हुन्छ । यदि ‘किलिक’ मात्र भयो भने त्यस घडी जीवित रहन्छ । यदि खेल उनीहरू (शेरबहादुर तथा रामचन्द्र) मा सीमित हँुदो हो त कसैले पनि टाउको दुखाउन पर्ने थिएन । खेलको परिणाम कांग्रेस दलले भोग्नुपर्छ जुन चिन्ताको विषय हो ।
स्थानीय निर्वाचनको चर्चाको शिखरमा भरतपुर महानगरपालिका प्रमुख (मेयर) पद । सत्ता गठबन्धनको सहमति (?) भागबन्डा गरिँदा माओवादीलाई मेयर तथा उपमेयर पद कांग्रेसलाई प्राप्त भयो । चितवनका कांग्रेस कार्यकर्ता कुनै पनि हालतमा माओवादीलाई पुनः मेयर पद सुम्पन तयार थिएनन् । हालै सम्माननीय प्रधानमन्त्रीले खुलासा गरेअनुसार तिनकै आग्रहमा प्रचण्डले आफ्नो पुत्रीलाई पुनः उक्त पदको उम्मेद्ववार चयन गरेका थिए । प्रधानमन्त्री तथा पूर्व स्थापनइतर पक्ष नेताको जोडबल तथा धम्कीका कारणले गर्दा व्यापक असन्तुष्टिका बाबजुद अन्य प्रत्यासी कांग्रेस उम्मेद्ववारहरू पछि हटे । तर, जगन्नाथ पौडेलका निमित्त केन्द्रीय निर्देशन पाच्य भएन । आजीवन कांग्रेस समर्पित नेताले पार्टीको आदेश अवज्ञा गर्दै उम्मेद्ववारी दिए स्वतन्त्र नागरिकको हैसियतमा । त्यसपछि रोचक नाटक मञ्चन भयो ।
गृहमन्त्री, एवं नेपाली कांग्रेसका जल्दोबल्दो नेता तथा प्रधानमन्त्री कार्यालयका मन्त्री भरतपुर पुगे । दुवैको उद्देश्य थियो जगन्नाथलाई साम, दाम, दण्ड, भेद आदि प्रयोग गरेर उम्मेद्ववारी फिर्ता गराउनु । भगीरथ प्रयत्नका बाबजुद पनि जगन्नाथ उम्मेद्ववारी फिर्ता गर्न तयार भएनन् । दुई पार्टी सभापतिका अनुयायी मन्त्रीहरू असफल भए । त्यसपश्चात् पूर्व संस्थापन इतरपक्ष गुट नेता पुगे भरतपुर । तिनको आग्रह, धम्क्याई तथा प्रलोभनका सामुन्ने जगन्नाथ झुकेनन् । त्यसपछि पालो आयो स्वयं सम्माननीय प्रधानमन्त्रीको । जगन्नाथले टेरपुच्छर नलगाए पछि प्रधानमन्त्रीले प्रचण्डलाई साक्षी राखेर चुनावी भेलालाई सम्बोधन गर्ने अवसर कार्यकर्तालाई गठबन्धनको उम्मेद्ववारको पक्षमा प्रचारप्रसार गर्न धम्कीपूर्ण फर्मायस जारी गरे । उक्त अवसरमा प्रचण्डले सुपुत्रीको कांग्रेसको समर्थन नभएर पराजय भएको खण्डमा ‘देश दुर्घटनामा पर्ने’ पूर्वसूचना सुनाए ।
कांग्रेस दल होइन उसका दुई प्रमुख नेताहरू १) अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री तथा २) पूर्व वरिष्ठ एवं स्थापन इतरपक्ष गुट नेताका निमित्त गठबन्धन आवश्यक भएको हो ।
उम्मेद्ववारी फिर्ता लिन फकाउन, दबाब दिने तथा धम्क्याउनेजस्ता कार्य नेपाली कांग्रेसको आदर्श मूल्य मान्यता विपरीतका कार्य हुन् । त्यस माथि उक्त कार्यलाई निर्वाचन आयोगको आचारसंहिताले अवैध ठहर गरेको छ । रामचन्द्र पौडेलका निमित्त स्थानीय निकायको उम्मेद्ववारलाई उम्मेद्ववारी फिर्ता लिन अथवा निष्क्रिय हुन दबाब दिनु तिनले आर्जेको छवि विपरीतको कार्य हो । तिनको ढोंगी चरित्र खुलासा भएको छ । लोकतन्त्र दलका नेता एवं राष्ट्रको प्रधानमन्त्रीलगायत संंघीय सरकारका अन्य दुई मन्त्रीहरूले कांग्रेसको आदर्शलाई लत्याउँदै निर्वाचन आचारसंहिता उल्लंंघन गर्ने कार्य गरे । सम्माननीय प्रधानमन्त्री तथा माननीय गृहमन्त्रीको पदीय दायित्व हो स्थापित नियम कानुन पहरेदारी गर्ने । नागरिकलाई नियम कानुनको पालना गाउने उनीहरूको कर्तब्य हो ।
प्रधानमन्त्री तथा तिनका कार्यालयका मन्त्री निर्र्वाध अधिकार छ नेपाली काग्रेसको तर्फबाट देशको कुनै पनि स्थानमा पुग्ने, व्यक्तिगत इच्छा अनुरूपको व्यक्ति तथा समूहसँग भेटवार्ता गर्ने । उनीहरूलाई चुनावी प्रचारमा सहभागी हुने सुविधा पनि छ । तर उनीहरूलाई आम नागरिक सामुन्ने निर्लज्ज भएर आचारसंहिता उल्लंंघन गर्ने सुविधा छैन । सर्वसाधारणले तिरेको तिरोको दुरुपयोग गर्ने अधिकार त छँदै छैन । राज्यकोष खर्चिएर काठमाडौं–भरतपुर तथा विराटनगर–भरतपुर भ्रमण खर्च कसले व्यहोर्ने ? हवाईजहाजदेखि हेलिकप्टर उपयोगलगायत अन्य यातायात तथा बसोबास खर्च निजी वा दलीय बजेटबाट जुटेको प्रमाण नै प्रस्तुत गर्न सके भने पनि भ्रमणको क्रममा भएको अन्य खर्चहरू जस्तै तिनले प्रयोग गरेको सरकारी साधन तथा सुरक्षाकर्मीलगागत अन्य खर्च राष्ट्रले गरेको हो । ‘सवारी’को क्रममा भएको त्यस्ता प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चको भुक्तानी कसले गर्ने ? प्रत्यक्ष खर्च व्यापारीले व्यहोरेको हो भने त्यो सरासर अवैध हुन्छ । व्यापारीले आज गर्ने खर्चको मूल्य भोलिका दिनमा सावाँ ब्याजसहित असुल गर्छ । अन्ततोगत्वा मूल्य देशवासीले नै हो चुकाउनु पर्ने हो ।
माथि उठान गरिएका विषय साधारण होइनन् । जिम्मेवार पात्रहरूले गरेको गैरजिम्मेवारी कार्य हुन् । त्यस्ता कार्यहरू भविष्यमा नजिर हुन्छन् । प्रमुख निर्वाचन आयुक्तले ‘गोप्य रूपमा’ आचारसंहिताका उल्लंघन घटनाहरूको संकलन गर्दैछ तथा यथासमयमा कारबाही गर्ने’ घोषणा गरेका छन् । तिनले आचारसंहिता उल्लंघनको फेहरिस्त प्रस्तुत गरेर कारबाही अगाडि बढाएको खण्डमा प्रधानमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री कार्यालयका मन्त्री महोदयको साथै वरिष्ठ नेता सजायको भागीदार हुने निश्चित छ । आजका दिन प्रचण्डलाई रिझाउन गरेको कार्य भोलि तिनकै खोलामा बगेको बन्दुकले आफ्नो खुट्टामा गोली प्रहार गरेको सरह हुनेछ ।
खाडल खोतलेर गहिराइ बढाउनेका निमित्त बाहिर निस्कन कठिन हुन्छ । नेपाली कांग्रेसका दुई प्रमुख नेताले निरन्तर खाल्डो खन्दै गहिराइ बढाउन अग्रसर छन. । स्वयंले खाल्डो खन्दै गहिराइ बढाउने राजनैतिक नेताको गिर्दो गरिमा चर्चाको विषय हुने थिएन । यदि उनीहरूद्वारा गरिएका कार्यको भागीदार समग्रमा नेपाली कांग्रेस दल नहुँदो हो भने । विगत दुई दशकदेखि दशकांै लामो एक आपसबीचको घनिष्ट सम्बन्धलाई दुवैले कोल्ड स्टोरभित्र राखेर भिड्न थालेका थिए १४औं महाधिवेशन पूर्वको कालखण्डसम्म । संस्थापन पक्ष र स्थापनइतर पक्ष गुट निर्माण गरेर कांग्रेसलाई उनीहरूले गुटबन्दीको सिकार तुल्याएका थिए । एका दुई नेताबीचको सम्बन्ध सुमधुर भयो । स्थानीय निर्वाचन माध्यम भयो सम्बन्ध उक्त सम्बन्धलाई प्रगाढ तुल्याइदिएको छ । तिनले पुनस्र्थापन गरेको प्रगाढ सम्बन्ध भने नेपाली कांग्रेसका निमित्त रसियन रुलेट साबित हुने प्रबल सम्भाबना छ ।
प्रतिक्रिया