भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने छन् । गत चैतमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रण दिएका थिए । प्रधानमन्त्री देउवाको निमन्त्रणका साथै भगवान् गौतम बुद्धको जयन्तीको अवसर पारेर सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदी नेपाल भ्रमणमा आउन लागेको को यो पाँचौं पटक हो । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा सोमबार आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको बिहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम पनि छ । त्यहाँ आयोजना हुने विशेष समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने जनाइएको छ ।
भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय पक्षले जनाएको छ । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख छ ।
यता, मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी पनि गरिएको छ । २५६६औं बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसर पारेर नेपाल आउँदा उनी भारतको कुशीनगरबाट हेलिकप्टरमा आउने छन् । चीन सरकारको सहयोगमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोही दिनदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरिए पनि भारतीय प्रधानमन्त्री मोदीको विमान भने सीधैं त्यहाँ अवतरण गर्ने छैन । भारतसँग त्यो रुट नेपालले पटकपटक माग गर्दा पनि नदिएका कारण मोदीलाई उक्त रुट भएर आउन अप्ठेरो भएको बुझिएको छ । साथसाथै चीनले बनाएको एयरपोर्टमा मोदी नउत्रिने भन्दै भारतीय सञ्चारमाध्यमहरूले पनि प्रचारबाजी गर्दै आएका छन् ।
मोदी उक्त विमानस्थलमा अवतरण नगरे पनि उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आएको विमानले बुधबार अवतरण गरेको छ । भारतीय वायु सेनाको आईएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो । विमानमा करिब चार दर्जन स्पेसल प्रोटेक्सन गार्ड (एसपीजी)का अधिकारी, चार वटा बुलेटप्रुफ गाडी, सुरक्षाका सामग्री दिल्लीबाट सीधै भैरहवा आएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री चढेको हेलिकप्टर र त्यससँगै आउने अन्य हेलिकप्टर अवतरणका लागि लुम्बिनीमा गुरुयोजनाअन्तर्गत चार वटा हेलिप्याड निर्माणको काम भइरहेको छ । लुम्बिनीका भित्री सडकमा सरसफाइ गरेर सौन्दर्य अभिवृद्धिको कामसमेत धमाधम भइरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिएका छन् । यस्तै नेपालका विशिष्ट पाहुनाका लागि विद्युतीय सवारी चार्जिङ स्टेसन नजिकै एउटा र होटल होक्केमा अस्थायी हेलिप्याड निर्माण गरिएको छ ।
मायादेवी मन्दिरको रङरोगनको काम भएको छ । भारतीय प्रधानमन्त्रीले मायादेवी मन्दिरमा बुद्धको पदचापमा पूजा गर्ने र पुष्प चढाउने कार्यक्रम रहेको छ । यसका साथै मायादेवी मन्दिरसँगै रहेको अशोकस्तम्भमा मोदीले दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको छ । मायादेवी मन्दिरको पूजा तथा दीप प्रज्वलनपश्चात् यसअघि प्रधानमन्त्री मोदीका तर्फबाट भारतीय राजदूतले रोपेको बोधिवृक्षमा जनचेतना गर्ने कार्यक्रम रहेको सदस्य सचिव शाक्यले जानकारी दिए ।
यसैगरी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी)मार्फत लुम्बिनीमा निर्माण गर्न लागेको बौद्ध विहारको प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । लुम्बिनी विकास कोषले कोषको ९ नं गेट हुँदै विहार निर्माणस्थलसम्म पुग्नका लागि करिब सात सय मिटर लामो पक्कीबाटो निर्माण गरिरहेको छ ।
यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको होटल पवनमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको सदस्यसचिव शाक्यले जानकारी दिए । होटलमा द्विपक्षीय भेटपश्चात् करिब १ बजे २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ मूल समारोहमा भारतीय प्रधानमन्त्री मोदी उपस्थित हुनुहुने कार्यक्रम रहेको विकास कोषले जनाएको छ । यो भ्रमणले लुम्बिनीमा अब विश्वको ध्यान केन्द्रित हुने र भारतीय धार्मिक पर्यटक बढ्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया