काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र तिनका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि पनि अन्य दलहरू माथि आरोपित गर्ने र आम जनतालाई झुक्याएर आफ्नो पक्षमा भ्रम छर्न सक्रिय भएका छन् । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै त्यसबाट भाग्न विभिन्न बहाना खोज्दै आएका एमाले निर्वाचनका दिन र निर्वाचन सम्पन्न भएपछि पनि त्यस्तै बहाना गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई उत्तेजित बनाउने र जनतालाई अल्मल्याउन सक्रिय भएका हुन् ।
पाँच वर्षअघि जनताले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतलाई सही ढंगबाट सदुपयोग गर्न नसक्दा आफ्नै कारण सत्ताच्युत ओलीले स्थानीय तहको निर्वाचनका दिन (शुक्रबार) नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउन भ्याए । भक्तपुरमा मतदानपछि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले ९ गते स्थानीय तहको निर्वाचन स्थगित गरेर पर सार्ने प्रस्ताव गरे तर आफूले अलोकतान्त्रिक बाटो नहिँड्नुस् भनेको भन्न भ्याए । त्यसअघि पनि सरकार चुनावको पक्षमा नरहेको भन्दै हिँडेका ओलीलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति मतदानको दिन ओलीलाई व्यंग्य गर्दै निर्वाचन हुँदैन भन्ने ओलीले पनि आज मतदान गर्नुभयो होला भनेका थिए ।
देउवाको प्रतिक्रियापछि भक्तपुरमा मतदानका लागि ओलीले देउवाले निर्वाचन सार्नका लागि आफूलाई प्रस्ताव नै पठाएका तर आफ्ना दबाबका कारणले मात्र निर्वाचन सम्भव भएको भन्न छुटाएनन् । माधवकुमार नेपालसहितका नेताहरू एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्नुको साथै सत्ता गठबन्धनमा रहेका दलहरूबीच स्थानीय तहको निर्वाचन कसिलो तालमेल हुने बुझाइमा रहेका ओली त्यस्तो अवस्थामा आफ्नो पार्टीले परिणाम ल्याउन नसक्ने बुझाइ थिए ।
त्यसैले मतपत्र रंगदेखि निर्वाचन आचारसंहितासम्ममा विभिन्न बहाना खोज्दै भाग्ने प्रयास गर्दै आएको थियो । तर, निर्वाचनबाट भाग्ने अवस्था नभएपछि दक्षिणपन्थी शक्तिसहित जहाँ जो पाहिन्छ त्यहीसँग चुनावी तालमेलसहित ओली नेतृत्वको एमाले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा छन् । कमल थापा नेतृत्वको तिरदेखि राजेन्द्र लिङ्देनको हलो हुँदै सीके राउतदेखि एकनाथ ढकालको परिवार दलसम्मको शरण परेका थिए । तर, उनले निर्वाचन प्रचारका क्रममा भने कांग्रेससहितका दलहरू एकतिर र आफू नेतृत्व एमाले मात्र अर्कोतिर रहे जस्तो गरेर जनतालाई भ्रमित गर्ने काम गरे । जबकि सत्ता गठबन्धनमा रहेका पाँच दलले ६ महानगर, ११ उपमहानरपालिकासहित १ सय ६४ स्थानको प्रमुख र उपप्रमुखमा मात्र चुनावी तालमेल गरेको छ । त्यसअन्तर्गतका वडाहरूमा गठबन्धनमै रहेका दलहरूले एकअर्काबीच प्रतिस्पर्धा गर्दै आएका छन् । तर पनि ओलीले एमालेलाई हात्ती र अरूलाई मुसोजस्तो प्रचार गरिरहे ।
शुक्रबार निर्वाचन सम्पन्न भएपछि अपेक्षित परिणाम नआउने आकलन गरेको एमाले र त्यसका अध्यक्ष ओलीले फेरि जनतालाई झुक्याउन अर्को अस्त्र स्वरूप शुक्रबार साँझ विज्ञप्तिमार्फत सत्तापक्षीय गठबन्धनले निर्वाचनका बेला उत्तेजित गतिविधि गरी अनावश्यक रूपमा निर्वाचनको वातावरण बिथोल्ने तथा अनुचित ढंगले हिंसा भड्काउने काम गरेको आरोप लगाए । सत्ता गठबन्धनले कतिपय ठाउँमा आफ्नो पार्टीका विरुद्ध नक्कली मतपत्रसमेत छापी वितरण गरेको भन्न भ्याएका ओलीले गृह प्रशासन पनि अस्वाभाविक रूपमा असन्तुलित देखिएको बताए । लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँचदलीय सत्ता गठबन्धनबाट यस प्रकारको अधिनायकवादी कार्य भएको भन्दै स्वतन्त्र निर्वाचनका विरुद्ध भएका घटनाको विरोध गर्दै सरकारले पूर्वाग्रही र पक्षपाती व्यवहार गरेको बताए ।
जबकि ओली र उनको नेतृत्वको एमालेकै कारण केही स्थानको मतदान स्थगन हुन पुगेको छ । ओली नेतृत्व सरकारका पालामा नियुक्त पाएका प्रमुख निर्वाचन आयुक्तदेखि पदाधिकारीसम्म आयोगमै बसेर एमालेको पक्षपोषणमा लागेका बेला सम्भावित निर्वाचन परिणामको आकलन गर्दै यसको निष्पक्षता माथि प्रश्न उठाउनका लागि ओलीले शुक्रबारदेखि नै आधार र बहाना बनाउन थालेका छन् ।
प्रतिक्रिया