बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ ।
आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर यहाँ नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए ।
मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी बुधबार नै लुम्बिनी आइसकेका छन् । उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए ।
बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसेकेको छ । ‘भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको छ, जिल्लाले बाहिरी सुरक्षा मात्र हेरेको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी रेवीन्द्र रेग्मीले भने, ‘लुम्बिनीसहित आसपासका सबै क्षेत्रमा त्रुटिरहित उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले पनि तयारी तीव्र बनाएको छ । मायादेवी मन्दिर परिसर रंगरोगन, मोदीलाई लुम्बिनी अवतरणको लागि ४ वटा हेलिप्याडको निर्माण,स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।
मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ ।
लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरुको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।
प्रतिक्रिया