पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ ।
तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले चित्त दुखाउँदै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुन सक्ने चेतावनी दिनु भयो । निर्वाचनको सङ्घारमा गठबन्धन दलहरूबीच तालमेल गर्न बल गर्ने नेताबाटै यस्तो चेतावनी आउनुको अर्थ गठबन्धनमा भित्रभित्रै मनमुटाव देखिन थालेको हो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि तालमेल गर्दा एमालेलाई कमजोर पार्न सकिने निष्कर्षमा थिए ।
सोही कारण १७ चैतमा तालमेल गर्ने निर्णय गरेर अघि बढे पनि अधिकांश स्थानीय तहमा तालमेल नै सम्भव भएन । तालमेल भएकामा पनि कांग्रेसबाट बागी उम्मेदवारी पर्यो। बागी उम्मेवदारीकै कारण चितवनको भरतपुर महानगरपालिकामा रेनुको जित चुनौतीपूर्ण बनेको छ ।
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा पाँच दलको संयुक्त चुनावी सभामा सोही दलका अध्यक्ष माधवकुमार नेपालले पनि तालमेललाई लिएर असन्तुष्टि व्यक्त गर्नुभएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई त संयुक्त चुनावी सभामा सहभागी नै हुनु भएको छैन ।
प्रतिक्रिया