देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटको रोग फुटबलमा

देशान्तर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध खेलाडीहरुले मोर्चाबन्दी गरेपछि केही समय नेपाली क्रिकेट विवादमा रह्यो । नेपाली टिमको मुख्य प्रशिक्षक पुबुदु दाशानायके नेपाल नआउँदै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर युवा खेलाडी सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएपछि क्रिकेट खेलाडीहरु नै दुई समूहमा विभाजित भए ।

क्यानको साधारणसभाले पारित गरेर नै मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो भने सोमपाल कामी र कमलसिंह बोहोरालाई केन्द्रीय सम्झौताबाट हटाएको थियो । त्यसपछि सुरु भएको क्रिकेटभित्रको विवाद वार्ताबाट समाधान गरेर अघि बढेको छ । नेपाली क्रिकेट टिम एकजुट हुँदै प्रतियोगिता खेलिरहेको अवस्थामा त्यस्तै रोग नेपाली फुटबलमा भित्रिएको छ ।

नेपाली फुटबल टिम जुनमा कुवेतमा हुने एएफसी एसियन कप छनोटको तयारीमा छ । त्यसका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणमा राखेका सिनियर खेलाडीले विद्रोह गरेपछि फुटबलको विवाद बाहिर छताछुल्ल भएको हो । सुरुमा मुख्य प्रशिक्षक अल्मुताइरीसँग रोहित चन्दले खेलाडीहरुलाई राख्ने होटल र खानाको विषयमा कुरा उठाएका थिए । यो नितान्त एन्फासँगको विषय रहेकाले उतै कुरा गर्न अल्मुताइरीले जवाफ दिए पनि विवाद बढ्दै जाँदा चन्दलाई क्याम्प छाडेर जान भनेका थिए ।

चन्द क्याम्प छाडेर बाहिरिएपछि उनको समर्थनमा अरु ९ जना सिनियर खेलाडीहरुले पनि एकाएक क्याम्प छाडेर बाहिर आए । एक दिनपछि पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशिक्षक अल्मुताइरीका कारण आफूहरुले क्याम्प छाडेको प्रष्टिकरण दिए पनि आम फुटबल समर्थक यो कुरालाई मान्न तयार छैनन् । कारण खेलाडीको काम खेल्ने हो ।

मर्कामा पर्दा अभिभावक संस्था एन्फालाई भन्ने हो । सुरुमा उनीहरुले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग छलफल गरेका थिए । समस्या समाधानका लागि एन्फाले पहल गरिरहेका बेला खेलाडीले मजदुर संगठनले जसरी क्याम्प नै छाडेर जानुलाई अहिले सबैले नेपाली फुटबल खेलाडीहरुमा ‘अनुशासन’को कमी रहेको बताउने गरेका छन् ।

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायतले क्याम्प छाडेका हुन् । यसैगरी अहिले कप्तान किरण चेम्जोङ देश बाहिर लिग खेलिरहेकाले उनको अनुपस्थितिमा रोहितले टिम सम्हालिरहेका थिए । किरणले पनि खेलाडीहरुले गरेको गल्तीलाई साथ दिएपछि उनको पनि आलोचना भएको छ ।

एन्फा अहिले आफै चुनावी रौनकमा पनि छ । असार ६ गते नयाँ नेतृत्व चयनका लागि चुनाव हुन लागेकाले अहिलेका नेतृत्वलाई असफल बनाउने प्रयास स्वरुप खेलाडीलाई प्रयोग गरेको बताउने गरिन्छ । एन्फामा अहिले स्पष्ट दुई धार देखिएको छ । एउटा धारको नेतृत्व अध्यक्ष कर्माछिरिङ शेर्पा र अर्को धारको नेतृत्व वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले गरेका छन् ।

नेपाली फुटबल टिम ‘रि फर्म’ हुँदै छ भनेर चित्त बुझाउनु पर्ने बेला भएको छ ।

एकले अर्कालाई खुल्याउनका लागि अहिले लागि परेको बुझ्न सकिन्छ । पछिल्लो समय खेलाडीहरुलाई पंकजले उकासेको आरोप लाग्दै आएको छ । आफू अब अध्यक्ष हुने र अध्यक्ष भएपछि प्रशिक्षक अल्मुताइरीलाई विदा गर्न तयार रहेको बताउँदै खेलाडीहरुलाई आफ्नो पक्षमा पारेको शेर्पा निकटस्थहरुले बताउने गरेका छन् । शेर्पा भने प्रशिक्षक हटाउने कुरा आफ्नो हातमा नरहेको बताउँदै कतारले सहयोग गरेर आएका प्रशिक्षकलाई बीचमै पठाउँदा कतारसँगको फुटबल सम्बन्ध विग्रने खतरा आफूले मोल्न नचाहेको बताउने गरेका छन् ।

खेलाडी राष्ट्रका गहना हुन्, यसमा दुई मत छैन । तर खेलाडीको सबैभन्दा ठूलो सम्पत्ति भनेके अनुशासन हो । त्यो अनुशासनको ख्याल गर्नुपर्छ । राष्ट्रिय टिममा आउनका लागि अरु खेलाडीहरु पनि तयार भएर बसेका छन् । हो, एकै पटक १० जना खेलाडीले टिम छाड्दा नेपाली फुटबलमा असर पुग्ला नै, तर आन्दोलन गर्ने खेलाडी हुनुभन्द नयाँ खेलाडीलाई मौका दिएर राष्ट्रिय टिममा समावेश गर्दै एसियन कप छनोटको तयारी नेपाली टिमले गरिसकेको छ ।

त्यसका लागि एन्फाले नयाँ १७ जना खेलाडीहरुलाई बोलाउँदा बी र सी डिभिजन लिग खेलिरहेका खेलाडीहरुले पनि राष्ट्रिय टिममा मौका पाएका छन् । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगिता नजिक आइरहेकाले नयाँ खेलाडीहरुलाई राम्रो प्रशिक्षण गराएर यदि मैदानमा उतार्दा नतिजा विपक्षमा आए पनि नेपाली फुटबल टिम ‘रि फर्म’ हुँदै छ भनेर चित्त बुझाउनु पर्ने बेला भएको छ ।