देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत

देशान्तर

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिए ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए । उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक–पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरे ।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । तर पछिल्लो समयमा वार्ता नै रोकिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यको लक्षण नदेखिएपछि राष्ट्रसंघीय महासचिवले रुस भ्रमण गरेका हुन् ।

उनले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ । पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता सकारात्मक र उपलब्धीमूलक भएको भन्दै चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको गरेको बताए ।