आफूले खनेको खाल्डोमा आफैंं जाक्किन पुग्ने अवस्थालाई अंग्रेजीमा बुमर्याङ भन्छन् । राजनीतिमा चाहिँ अरूको विरोध अथवा आलोचनामा जुन घुँयेत्रो हानेको हो, त्यो फनक्क फर्केर आफैंमाथि बज्रिन आइलागेको घटनालाई त्यो शब्द प्रयोग गर्ने गरिन्छ । त्यसको ताजा उदाहरण हो, एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि पाँचदलीय गठबन्धनका बारेमा गरेको टिप्पणी आफैंंमाथि आइलाग्नु ! उनले गठबन्धनका मान्यता र शैलीका विरोधमा जुन टिप्पणी गरेका थिए, त्यो, दुई साता नबित्दै आफैंमाथि लागू हुन पुगेको घटनालाई औंल्याउन बुमर्याङ शब्द प्रयोग गरिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गत चैत ९ गतेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भनेका थिए– हामी स्पष्ट हुनुपर्छ, गठबन्धन या मोर्चा सामथ्र्यको प्रतीक होइन, कमजोरीको द्योतक हो । बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । उनले आफूबाहेक सबैलाई कमजोर र असहाय घोषित गर्दै तिनलाई मात्र गठबन्धनको बैसाखी चाहिएको हो, एमालेलाई चाहिन्न भनेका थिए ।
नकचरो भएकाले उनले त्यसको दोष अरूमाथि थोपर्ने प्रयास गरेका मात्र हुन् ।
आफ्नो पार्टीका उच्च तथा आधिकारिक निकायमा व्यक्त गरेको त्यस्तो लिखित अठोटका विरुद्ध गएर उनको दलले कमल थापा नेतृत्वको राम्ररी सालनाल पनि नकाटिएको राप्रपा नेपाल र नामैले काम र आकार–प्रकारसमेत जनाउने परिवार दलजस्ता ‘उनकै भाषामा’ प्रतिक्रियावादी तथा धार्मिक संकीर्णतावादी पार्टीसित अपवित्र गठबन्धन गरेर आफ्नो खुट्टा कति कमजोर छ भन्ने मात्र होइन, प्रतिक्रियावादी तथा साम्प्रदायिक तत्वको बैसाखीबिना एमाले चुनावी मैदानमा खडा हुन र टिक्न सक्तैन । विरोधीले भ्रष्टाचार र असक्षमताको आरोप स्थानीय निकायका पद ओगट्न पुगेका एमालेका जनप्रतिनिधिलाई लगाउँदै आएकै थिए । त्यो गठबन्धनले आरोप सही र सत्य भएको पुष्टि भएको छ ।
उनले त्यही प्रतिवेदनमा पाँचदलीय गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको तथ्यप्रति पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सचेत तुल्याएका थिए । उनको त्यस्तो अभिव्यक्ति आत्मविश्वासको द्योतक नभएर पराजित मानसिकताको प्रतीक रहेछ भन्ने पनि प्रष्ट भएको छ ।
अहिले एमालेले साना र निर्धा मात्र होइन, कम्युनिस्ट शब्दावलीअनुसार नितान्त प्रतिक्रियावादी दलसँग गरेको गठबन्धनको निर्णयले पाँचदलीय गठबन्धनको आतंंकबाट त्यो पार्टी कति आतंकित रहेछ, त्यो तथ्य अझ बढी छर्लंंग हुन पुगेको छ । त्यसबाट उनका सम्पूर्ण दाबीको खोक्रोपन पनि कसैले छोप्न नसक्ने गरी उदांग भएको छ ।
उनले त्यो प्रतिवेदनमा जनतालाई ढाट्न र कार्यकर्तालाई भ्रममा पार्न स्थानीय तहको निर्वाचन समृद्धि कि बर्बादी ? लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दनबीचको छनोटका रूपमा भइरहेको दाबी गरेका थिए ।
संघीय संसद्मा आफूले पाएको प्रचण्ड बहुमतको रक्षा गरेर बहुमतको सरकारलाई देश र जनताको हितमा प्रयोग गर्नुको बदला त्यसलाई आफ्नै दलका प्रतिस्पर्धी नेताहरूको तेजोबध गर्न उपयोग गरेर पार्टी र सरकारमाथि एकलौटी कब्जा जमाएर लेनिन र स्टालिन बन्न खोज्ने ओलीले असंवैधानिक तरीकाले संसद् विघटन गरेर निर्वाचनमा जाने जुन निर्णय गरेका थिए, त्यसलाई सर्वोच्च अदालतले असंंवैधानिक घोषित गरेर संसद् पुनस्र्थापित गरेको घटनालाई अदालतले आफ्नो मानमर्दन गरेको मानेर अदालतको पनि तेजोबध गर्न अर्को पटक त्यसबेला, जुन बेला संसद्मा प्रतिपक्षले बहुमत जुटाएर अविश्वासको प्रस्ताव दर्ता गरिसकेको थियो, त्यसको सामना सदनमा नगरी फेरि संसद् भंग गर्ने जस्तो घोर अप्रजातान्त्रिक, असंसदीय तथा असंवैधानिक निर्णय गरेर संसदीय व्यवस्था, प्रजातान्त्रिक मूल्य र मान्यतालाई मात्र होइन, उनलाई प्रधानमन्त्री बनाउने एमालेलाई समेत भड्खालामा जाक्न पुगेका थिए ।
तिनै ओली लाज शरम नमानी पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, जो सम्पूर्ण राजनीतिक घटना विकासका साक्षी छन्, तिनलाई मूर्ख ठानेर पार्टीको रेकर्डमा रहने दस्तावेजमा लेख्छन्– एकातिर जनताको विश्वासप्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दागर्दै षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको एमाले छ, अर्कोतिर निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दल छन् ।
ओलीलाई संविधान र प्रजातन्त्र दुवै नपचेको तथ्य उनको अभिव्यक्तिले मात्र होइन, सम्पूर्ण क्रियाकलापले प्रष्ट पारेकै छ । आफ्नो पार्टीलाई प्रचण्ड बहुमतको सरकारबाट तल झारेर बेइज्जतिपूर्वक बाहिर निक्लन परेको विरोधी दल अथवा अदालतका षड्यन्त्रका कारणले होइन, ओली आफैंले प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई षड्यन्त्र गरेर पार्टीबाट निक्लन बाध्य पारेका घटना, इतिहासमा रेकर्ड भइसकेका तथ्य हुन् । उनीहरूका विरुद्ध ओलीले षड्यन्त्र मात्र गरेनन्, भागबन्डाबाट पनि वञ्चित गरेर पार्टीका स्वाभिमान नेता तथा कार्यकर्तालाई आफ्नो अस्तित्व रक्षाका लागि पनि वैकल्पिक पार्टी खोल्न बाध्य तुल्याएका थिए । त्यही कारण उनीहरूले एमाले फुटाएर माओवादी केन्द्र र नेकपा समाजवादीको निर्माण गर्नु परेको थियो ।
तसर्थ एमालेको विभाजनमा अरू कोही जिम्मेदार छैनन्, ओली आफंैं त्यसका निम्ति दोषी हुन् । सरकारको नेतृत्व गर्न र सबैलाई समेटेर उनीहरूका गुण र कौशलताको उपयोग पार्टी र सरकारका पक्षमा लगाउन चाहिने शासकीय कला उनीमा पटक्कै रहेनछ । त्यो यथार्थ समसामयिक नेपाल सबै वर्ग र क्षेत्रका जनता कसले देखेको र जानेको छैन र ? एमालेको सरकारको पतन, वास्तवमा अरूको षड्यन्त्रले होइन, ओलीको अयोग्यता, निर्बुद्धि र अकुशलताका कारण उनले आफैंले बुनेका षड्यन्त्रको जालोमा आफैं फसेर भएको हो । नकचरो भएकाले उनले त्यसको दोष अरूमाथि थोपर्ने प्रयास गरेका मात्र हुन् । वास्तविकता राम्रोसँग जन्मिनसकेको राप्रपा नेपाल र परिवारबाट बाहिर फैलिन नसकेको परिवार दलसँग गठबन्धन गर्नु परेको घटनाले उनको उचाइ र गहिराइ दुवै छर्लंग पारेकै छ । थप प्रकाश पार्न आवश्यक छैन ।
अब हेर्न बाँकी छ, राप्रपा नेपाल र परिवार दल, दुवैको बैसाखीको साथ र सहयोगले उनीहरू आफैं मोटाएर राष्ट्रिय पार्टी बन्ने हुन् कि एमाले दुब्लाएर परिवार दल र राप्रपा नेपालको आकार–प्रकारमा रूपान्तरित हुने हो ! ती सबै, यसै वर्ष सम्पन्न हुने तीनवटा चुनावको परिणामबाट देखिनेछ । अर्को वर्ष पर्खिनु पर्ने छैन ।
त्यसबाट बुमर्याङ कसरी कसमाथि भएको रहेछ, त्यो पनि पुष्टि हुनेछ ।
०००
प्रतिक्रिया