गत बिहीबार वैशाख १ गते सुरु भएसँगै नेपाली क्यालेन्डरमा नयाँ वर्ष सुरु भएको छ । भारत वर्षका राजा विक्रमादित्यले सुरु गरेको विक्रम सम्बत्लाई मान्ने मुलुक महाभारतमा नै एकमात्र नेपाल हो । त्यसैले विक्रम सम्बत्को हरेक वर्षको नयाँ क्यालेन्डरलाई हामी नयाँ वर्षको सुरुवातको रूपमा लिएर हर्षोल्लासका साथ स्वागत गर्दछौं ।
बितेका दुई वर्ष संसारलाई नै गाँजेको र महामारीको रूप धारण गरेको कोभिड–१९ (कोरोना) का कारण नयाँ वर्षहरूलाई हर्षोल्लासका साथ स्वागत गर्न सकिएन, यो वर्ष पनि कोरोना मत्थर भए पनि महाशक्ति राष्ट्र रुसले उदयमान आर्थिक शक्ति छिमेकी युक्रेनमाथिको हमलाका कारण विश्व अर्थतन्त्रमै असर परेको कारण हामी पनि त्यसबाट अछुतो रहन सकेनौं । त्यसैले नव वर्षको आगमनसँगै मुलुक आर्थिक रूपले कमजोर भएको अवस्थामा नयाँ वर्षमा यी सबै समस्याहरू हल हुन् भन्ने हाम्रो कामना छ । समस्त नेपालीजनको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै नयाँ वर्षमा मुलुक समृद्ध र विकसित होस् भन्ने सबैको चाहना र कामना हुनैपर्छ । हाम्रो पनि त्यही हो ।
नयाँ वर्षको अवसरमा आम नागरिकले आपसमा शुभकामना साटासाट गरेका छन्, गरिरहेका छन् । समाजका अगुवाहरूले शुभकामना दिएका छन्, राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन्, प्रधानमन्त्री र राष्ट्रपतिले पनि आम जनता र देशको समृद्धिको कामना गर्दै शुभकामना दिएका छन् । नयाँ वर्षको अवसरमा अझै पनि शुभकामना आदानप्रदान कार्यक्रम भइरहेका छन् । यस्ता शुभकामना सन्देश र कार्यक्रमहरूको एउटै अन्तर्य हो, शुभ होस्, सबैको भलो होस् । बर्सेनि यस्तो कामना गरिन्छ । कामनालाई व्यवहारमा उतारिएन भने केबल शब्दमा सीमित हुन्छ । व्यवहारमा अवलम्बन नगर्ने कामनाको तात्विक रूपमा अर्थ रहँदैन । त्यसैले व्यवहारमा अपनाउन सकिने विषयलाई मात्रै कामनामा समेट्नुपर्ने हुन्छ ।
हरेक १२ महिनामा वर्ष फेरिन्छ । यो नियमित प्रक्रिया नै हो । तर, वर्ष फेरिँदै जाँदा के साँच्चै हाम्रो नियति फेरिएको छ त ? शब्दमा व्यक्त गरिने कामनाले मात्रै अवस्था नफेरिने रहेछ । फेरिँदो हो त, भित्तामा झुन्ड्याइएको क्यालेन्डर फेरिएसँगै हरेक नागरिकका पीडा हट्नुपर्ने थियो । देशको अवस्था फेरिनुपर्ने थियो, नेताहरूको कार्यशैली बदलिनुपर्ने थियो, विकास र समृद्धिको मूल फुट्नुपर्ने थियो, सुशासन र विधिको शासनको प्रत्याभूति हुनुपर्ने थियो, रामराज्य स्थापना हुनुपर्ने थियो ।
विगत केही दशकको इतिहासमात्रै केलाउने हो भने पटकपटक व्यवस्था फेरिएको छ । परिवर्तनका लागि पटकपटक जनताले बलिदानी दिएका छन् । आफैंलाई भगवान् मान्ने शासकहरू सामान्य नागरिक भएका छन् र सामान्य नागरिकहरू राज्यका उच्च तहमा पुगेका छन् । छोटकरीमा भन्ने हो भने हिजोका शासक जनता भएका छन्, हिजोका रैती आज शासक बनेका छन् । यो व्यवस्थाको उपज हो । के यत्तिले मात्रै आम नागरिक र देशको अवस्था फेरिँदो रहेछ त ?
व्यवस्था परिवर्तन राजनीतिको एउटा पाटो हो । नेपालले धेरै व्यवस्थाको परीक्षण गरिसकेको छ । जहानियाँ राणाशासन, निरंकुश राजतन्त्र, निर्दलीय पञ्चायती, संवैधानिक राजतन्त्र, लोकतान्त्रिक गणतन्त्र आम नेपालीले आठ दशकको बीचमा भोगेका राजनीतिक व्यवस्था हुन् । विश्वमै प्रचलित सबैभन्दा उत्कृष्ट भनिएको लोकतान्त्रिक गणतन्त्र नेपालमा बहाली भएको डेढ दशक पुगिसकेको छ । व्यवस्था परिवर्तनका लागि अब फेरि संघर्ष गर्नुपर्ने अवस्था छैन ।
यही व्यवस्थालाई सफल कार्यान्वयन गरेमात्र पुग्ने अवस्था छ । तर, राजनीतिक नेतृत्व आफ्नो दायित्व र जिम्मेवारीमा दृढ नहुँदा विश्वकै सबैभन्दा उत्तम शासन व्यवस्थामा समेत केही सीमित व्यक्तिबाहेक आम जनताले परिवर्तनको सही अनुभूति गर्न पाएका छैनन् । आफैंले चुनेर पठाएका जनप्रतिनिधि नै शासक बनेर निस्किँदा जनतामा निराशा छाएको छ ।
वर्ष २०७९ नेपालका लागि निर्वाचन वर्ष हो । देशभर स्थानीय तह चुनावको माहोल छ । आगामी साता ७५३ वटै पालिकामा उम्मेदवारी मनोनयन हुँदै छ । ३० वैशाखमा पाँच वर्षका लागि स्थानीय सरकारका प्रतिनिधि चुनिनेछन् । जनतालाई व्यवस्थाको सहीरूपमा प्रत्याभूति दिने स्थानीय सरकार हुन् । सिंगो देश चुनावमय बनेको छ । स्थानीय तह निर्वाचन सकिएको ६–८ महिनामा नै मुलुकमा प्रदेशसभा र संघीय निर्वाचन हुनेछ । प्रदेश सरकार र केन्द्र सरकार निर्माणको आधार तिनै निर्वाचन हुन् । यी तीनै तहको निर्वाचन सफल पार्नु आम नागरिकको कर्तव्य पनि हो । असल जनप्रतिनिधि चयन गरेर आप्mनो कर्तव्य पूरा गर्नु नागरिकको जिम्मेवारी पनि हो ।
मुलुक सञ्चालनका लागि सत्तामा बसेकाहरूको जिम्मेवारी ठूलो हुन्छ । तर, कस्ता दल र तिनका नेतालाई सत्तामा पुर्याउने भन्ने अहम् जिम्मेवारी भने नागरिककै हो । नागरिकको चेतना चुनावमा मापन गरिन्छ । चुनावमा नागरिकले भोटमार्फत व्यक्त गर्ने जनादेशले समग्र मुलुकको भविष्य निर्धारण गर्दछ । त्यसैले फलानो नेताले बिगारे, तिलानो दलले राम्रो गरेनन् भनेर गुनासो गर्नुभन्दा चुनावका बेला नै नागरिकले ख्याल गर्नु बुद्धिमता हुन्छ । यो वर्ष आम नागरिकको अपेक्षा पूरा होस्, देश समृद्ध बनोस् । शुभकामना ।
प्रतिक्रिया