नेपाली कांग्रेस आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर एक प्रकारले अप्ठ्यारो स्थितिमा परेको हो कि भन्ने देखिन्छ । पार्टीले जित्ने आधार भएर पनि स्थानीय निर्वाचन एक्लै लड्ने आँट गर्न सकेन भने स्पष्टसँग खुलेर यो राजनीतिक कारणले, यसरी गठबन्धन गर्नु पर्यो भनेर प्रष्टसँग भन्न पनि सकिरहेको छैन ।
एकातर्फ पार्टीको केन्द्रीय कार्यसमिति वैठकले कांग्रेस एक्लैले अधिक पालिकाहरूमा चुनाव जित्ने आधार तयार भएको सगौरव दाबी प्रस्तुत गर्दछ भने त्यसै गरी सोही बैठकले सत्ता गठबन्धन दलसँग चुनावी तालमेल नगरे निर्वाचन हारिन्छ भन्ने मनोविज्ञानबाट चुनावमा तालमेल गर्ने पक्षमा उभिन पनि पुग्छ । एक्लैले अधिक ठाउँमा चुनाव जितिने निश्चित थियो भने पार्टीको जातै फालेर कम्युनिस्ट पार्टीहरूसँग किन तालमेल ? चुनावमा तालमेल, कांग्रेसको यो कस्तो बाध्यता हो ? कस्तो राजनीतिक विडम्बना हो ? निष्ठावान् असली कांग्रेसजनले यो तालमेलको प्रसंगलाई राम्ररी बुझ्न सकेका छैनन् ।
पार्टीका सभापति स्वयम् खुल्लमखुल्ला रूपमा चुनावमा तालमेल नगरे कांग्रेसले चुनाव हार्छ भन्दै पार्टीको छविलाई नै सार्वजनिक रूपमा उदांगो पारिरहेका छन् भने पार्टीका वरिष्ठ नेता लाजै नमानी देशमा कम्युनिस्ट पार्टीको शक्ति ७० प्रतिशत छ र कांग्रेस केवल ३० प्रतिशत मात्रै भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल नगरे कांग्रेस नै सकिन्छ भन्ने शैलीमा लज्जास्पद दलिल पेस गर्दै हिँडिरहेका छन् । पार्टीको अर्का एक प्रभावशाली नेता त पार्टीमा चुनावी तालमेल विरोधीहरूलाई ठाउँ छैन भन्दै कांग्रेस छोड्न खुल्ला फरमान जारी गर्छन् । पार्टी पदाधिकारी र जिम्मेवार नेताहरूको यस्तो हल्का टिप्पणीले एकातर्फ कांग्रेसलाई प्रारम्भमा नै पराजित मानसिकतामा पुर्याएको छ र आम कार्यकर्तामा नकारात्मक सन्देश प्रवाह गरेको छ, कार्यकर्ताको मनोबल गिराउने काम गरेको छ । यसतर्फ कांग्रेस नेतृत्व पंक्तिमा कहीँ कतै थोरै पनि गम्भीरता देखिँदैन । कांग्रेसको वर्तमान नेतृत्व–पंक्तिले इतिहासको त्यो गौरवशाली कांग्रेसलाई कता लग्न खोज्दैछ, बुझ्न कठिन छ ।
नेपाली कांग्रेसले कार्यकर्ताको मत र आम प्रजातन्त्रवादी जनताको भावनालाई बिल्कुलै पर्वाह नराखी, स्थानीय अवस्था र आवश्यकताको आवरणमा पार्टीको विचार र सिद्धान्तसँग बिलकुलै नमिल्ने सत्ता गठबन्धनका सहयात्री कम्युनिस्ट पार्टीसँग आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्न बाटो त खोलिदिएको छ, तर त्यो बाटोबाट हिँडेर कांग्रेस कहाँ पुग्ला ? त्यो गन्तव्यको कहाँ हो ? भरोसायोग्य विचार तर्क कसैसँग छैन । केही सिट प्रमुख, उपप्रमुख र सदस्यका लागि कांग्रेसले सिद्धान्तहीन बाटोमा अगाडि बढेर कम्युनिस्ट पार्टीसँग गर्न खोजेको चुनावी तालमेलबाट निष्ठावान् कांग्रेसीजनको मन कति नराम्रोसँग कुण्ठित होला ? यो कुण्ठा र पीडालाई चितवन, भरतपुरका कांग्रेसी र कांग्रेसी मतदाताले मात्र बुझेका छन्, माओवादीलगायतका कम्युनिस्टसँग सिद्धान्तहीन राजनीतिक गठबन्धन र तालमेल गर्दै आफ्नो राजनीतिक स्वार्थसिद्ध र सत्ता रजगज गर्दै आएको कांग्रेस नेतृत्वले त्यो पीडाको अनुभव गर्न सक्दैनन् ।
चैत्र ११ गते देखि १५ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एकातर्फ ‘संविधान निर्माण, कार्यान्वयन र रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भूमिका, संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भूमिकाका कारण नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको छ । यसै क्रममा पार्टीले सञ्चालन गरेको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजबुत बनाउँदै लगेको छ ।’ भन्ने स्वीकार गरेको छ, अर्कातर्फ आफ्नै बुतामा चुनाव जित्ने भरोसा नदेखेर सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको रणनीति बनाउन पनि कम्मर कसेको छ । यो कस्तो विरोधाभास र विडम्बनाको विषय हो ? यो प्रश्नबाट आम कांग्रेसीजनलाई आश्वस्त पार्न सक्ने राजनीतिक हैसियत शायद कसैसँग छैन ।
नेपाली कांग्रेसले सत्ता गठवन्धन दलसँग चुनावी तालमेल गर्ने भनेर निर्णय गरिसकेपछि पनि सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का सुप्रिमो क. प्रचण्ड, कांग्रेसले भरपर्दो चुनावी तालमेल नगरे एमालेसँग गठबन्धन गर्न जानेछौं भनेर कांग्रेसलाई धम्की दिन अझै छोडेका छैनन् । ओलीको पेलाइबाट आजित भएका प्रचण्ड र माधव नेपालले कांग्रेसलाई सत्ताको नेतृत्व सुम्पिएको राजनीतिक गुन तिर्नको लागि होस् अथवा प्रचण्ड–माधवको धम्कीको कारण कांग्रेसलाई चुनावी तालमेल गर्न बाध्यता परेको होस्, कांग्रेस जेसुकै कारणले तालमेल गर्न बाध्य भएको भए तापनि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गरिने चुनावी तालमेल कांग्रेसलाई कुनै सर्तमा पनि राजनीतिक लाभदायी हुने छैन, दीर्घकालसम्म यसले कांग्रेसको छवि माथि असर गरिरहने निश्चित नै छ । यो केवल कांग्रेसलाई के जातिको न्यानो भने जस्तै त हो । आफ्नो सर परे पछि कुनै पनि दिन प्रचण्ड र माधव नेपालले कांग्रेसलाई धोका दिने निश्चित नै छ । जसरी आलोपालो प्रधानमन्त्री हुने सर्तमा सोह्रबुँदे सम्झौता पछि प्रचण्ड प्रधानमन्त्री बने, पछि ऐनमौकामा देउवा र कांग्रेसलाई धोका दिँदै वामपन्थी एकताका नाममा एमालेसँग मिल्न पुगे र अब कांग्रेसको दिन सकियो, ५० वर्ष अब यो देशमा कम्युनिस्ट पार्टीले सत्ता चलाउनेछ भनेर कम्युनिस्ट एकता राग हाल्ने प्रचण्ड माधवले त्यही शैलीमा कांग्रेसलाई पुनः धोका दिंदैन भन्ने कुनै भरोसा छैन । यसै पनि पछिल्ला दिनहरूमा नेपालमा कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने भनेर चीन सक्रिय भएको खबर आइरहेको छ ।
सत्ता गठबन्धन दलहरूले के राजनीतिक सिद्धान्तको आधारमा चुनावी तालमेल गर्न लागिएको हो भनेर आम जनतालाई मनासिव जवाफ दिन सकेका छैनन् । कांग्रेस र कम्युनिस्ट पार्टीबीच हुने अस्वाभाविक चुनावी तालमेलमा सत्तास्वार्थ र सिटको जोड–घटाउबाहेक कुनै विचार र सिद्धान्तको आधारमा तालमेल हुने कुरा पनि भएन । सिद्धान्त मिल्ने दलहरूको बीचमा गरिने तालमेललाई राजनीतिक रूपमा स्वाभाविक तालमेल मान्न सकिन्छ । मूलतः प्रजातन्त्र प्रतिस्पर्धा हो तालमेल होइन । साना दलले चुनावी तालमेल गर्नु एउटा प्रसंग हो तर राष्ट्रिय स्तरका पार्टीहरू नै तालमेलमा जाँदा प्रजातन्त्रलाई बलियो र सुदृढ वनाउन सघाउँदैन । आउँदो स्थानीय चुनावमा कांग्रेस र दुईटा सत्ता घटक कम्युनिस्ट पार्टीलगायतका सत्ता गठबन्धनका दलहरू प्रजातान्त्रिक मूल्य र मान्यता विपरीत आपसी तालमेल गर्ने प्रयास गर्दैछन् र प्रजातन्त्रलाई अर्थहीन बनाउँदैछन् । यो तालमेल देशको उन्नति, राजनीतिक स्थायित्व र प्रजातन्त्रलाई बलियो वनाउने उद्देश्यबाट नभै नेताको स्वार्थ, पार्टीको साख बचाउन सत्ता स्वार्थबाट प्रेरित भएर गरिँदैछ ।
निश्चयः नै ९ महिना पहिले वर्तमान सत्ता गठबन्धनको गठन हुँदा चुनावमा पनि तालमेल गरेर जाने सहमति भएको थिएन । प्रचण्ड र माधव नेपाललाई नै चुनावमा तालमेल चाहिएको हो, यो कांग्रेसको प्राथमिकतामा पर्ने विषय थिएन तर विडम्बना कांग्रेसले नै यसलाई प्राथमिकताको विषय बनायो । प्रचण्ड र माधवको राजनीतिक साख जोगादिनकै लागि कांग्रेसलाई चुनावी तालमेल गर्नु परेको हो । ल ठीक छ, कांग्रेसलाई सरकार जोगाइराख्न सत्ता गठबन्धन दलसँग चुनावी तालमेल गर्न राजनीतिक बाध्यता पर्यो । निरन्तर कांग्रेसमा जीवन बिताएको एउटा कांग्रेसी कार्यकर्ता हुनुको नाताले यो पंक्तिकारले पार्टीले माओवादी र समाजवादीजस्ता कम्युनिस्ट पार्टीसँग तालमेल नगरिदिए हुन्थ्यो भन्ने कामना गर्दागर्दै पनि पार्टीले स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सकिने नीति लिएको अवस्थामा पार्टीको निर्णयलाई स्वीकार गर्नुको विकल्प छैन ।
एक नेताले भने जस्तो कि त पार्टी छोड्नु पर्यो, कि त पार्टीको निर्णय मान्नु पर्यो । पार्टीले लिएको नीति र निर्णयलाई सफलतापूर्वक कार्यान्वयनमा लग्नका लागि पनि नेतृत्व तहले पार्टीको साख गिर्ने, कार्यकर्ताको मनोबल कमजोर हुने गरी तालमेल नै नगरे कांग्रेस चुनाव हार्छ, कांग्रेस सकिन्छ, कांग्रेस यति प्रतिशत मात्रै हुन्, कम्युनिस्ट बलिया छन् भन्नेजस्ता आधारहिन पानीमरुवा कुरा गर्न बन्द गरून् । कांग्रेसको छवि र आम कार्यकर्ताको मनोबल उच्च रहने गरी मात्र सार्वजनिक मञ्चहरूमा नेताहरूको ओजपूर्ण वाणी मात्र आऊन् । नेताको विचार र वाणीबाट आम कार्यकर्ताले शिर निहुराउनु नपरोस् ।
बाँकी हामी कार्यकर्ताले सक्ने जति कार्यकर्ताले गरिहाल्छन् नै । कांग्रेस कमजोर भएको कार्यकर्ताको कारणले भन्दा पार्टीको नीति र नेतृत्वकै कमजोरीको कारण हो । नीति र नेतृत्व सही हुन सक्यो भने जनता त कांग्रेससँग नै हुन्छन् । कांग्रेससँग जनता रिसाएका बेला कांग्रेस पराजित हुने हो । नेतृत्वले जनतालाई खुसी पार्ने गरी कर्म र वाणी सुधारेका दिन कांग्रेसले कसैसँग गठबन्धन गर्नै पर्दैन, विगतमा जस्तै कांग्रेस एक्लैले चुनाव लड्न सक्छ, जित्न सक्छ ।
प्रतिक्रिया