काठमाडौँ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज शुक्रवार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई आठ विकेटले हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय ९७ रनको लक्ष्य पीएनजीले मात्र दुई विकेट गुमाएर १३ बलअघि नै भेटायो । पीएनजीको जितमा टोनी उराले ३४ बलमा १० छक्का र दुई चौकासहित नटआउट ८६ रन बनाए । यस्तै कप्तान असाद भालाले नटआउट ७४ र चार्ल्स अमिनीले २८ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ र स्याज्रुल इद्रुले एक–एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनायो । मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ मोरेले चार विकेट लिए ।
आजको जितसँगै पीएनजीले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भोलि शनिवार हुने नेपालसँगको खेलमा मलेसियाले हारेमा पीएनजी फाइनलमा पुग्नेछ । नेपालसँगको खेलमा विजयी भएमा मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ ।
प्रतिक्रिया