नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाभित्र अहिले चुनावी गठजोड सुरु हुँदै त्यसको प्रभाव देखिन थालेको छ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेतृत्वका लागि आकंक्षा देखाएपछि उनीहरू अहिले गुट निर्माणमा लागेका छन् । विगतमा गणेश थापाविरुद्ध सँगै बसेर ‘चेन्ज एन्फा’को नाराका साथ नेतृत्वमा पुगेका दुवै जनाबीच अहिले राम्रोसँग बोलचाल पनि छैन । दुवैले एक अर्कालाई काम गर्न नदिएको र काम नगरेको आरोप लगाउँदै हिँड्दा नेपाली फुटबल चरम गुटबन्दीको सिकार भएको छ । जेठ १५ गते एन्फाको चुनावी साधारणसभा हुँदै छ । एन्फामा फेरि कर्माले नेतृत्व लिने अपेक्षा राखे पनि उनलाई सहजै पंकजले स्वीकार गर्ने अवस्था छैन । पंकजले पनि आफू अध्यक्षका लागि बलियो उम्मेदवार रहेको भन्दै तयारी तीव्र पारेका छन् ।
एन्फाभित्रको चुनावी राजनीतिको सिकार अहिले ‘फ्रेन्चाइज फुटबल’ भएको छ । विगतमा नेपाली फुटबललाई व्यावसायिक बनाउने भन्दै तामझामका साथ चौधरी ग्रुपको संस्था नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (‘एनएसइएम’सँग नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्ने भनेर सम्झौता गरिएको थियो । सोही सम्झौता बमोजिम गत वर्ष प्रतियोगिता सफलतापूर्वक आयोजना भएको भनेर एन्फाकै पदाधिकारीले प्रशंसा पनि गरेका थिए । तर अहिले आसन्न चुनावलाई मध्यनजर गर्दै जसरी पनि कर्मालाई असफल बनाउने रणनीतिका साथ अर्को पक्ष लाग्दा एनएसलएलनै धरापमा परेको छ । ठूलो धनराशि खर्च गरेर तयारी गरिरहँदा एन्फामै आबद्ध पदाधिकारी र उनीहरूकै ए डिभिजन क्लबहरूले विरोध गर्दा यो प्रतियोगिता अहिलेलाई स्थगित अवस्थामा छ । यसै महिना आयोजना गर्ने भनेर खेलाडीको अक्सनसमेत गरेर तयारी अवस्थामा बसेका एनएसएलका क्लबहरूका लागि ए डिभिजन क्लबले खेलाडी रिलिजको बखेडा झिक्दा उनीहरू पनि रणभुलमा परेका छन् । ए डिभिजन क्लबहरूले अहिलेको अवस्थामा एनएसल आयोजना हुँदा आफ्ना खेलाडीहरूले महँगो मूल्य माग्ने अहिले ३०–४० हजारमा पाइने प्रशिक्षकहरूले नयाँ सिजनका लागि १ लाख ५० हजार रुपैयाँसम्म माग गर्ने भन्दै तर्सिएर यो प्रतियोगिता नै आयोजना गर्न नदिने कुरा गर्नु आफैंमा हास्यास्पद देखिन्छ ।
एनएसएल आयोजक र प्रतियोगितामा सहभागी हुने १० क्लबले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै एन्फाका केही पदाधिकारी र ए डिभिजन क्लबहरूका कारण प्रतियोगिता अनिश्चित बनेको जनाइसकेका छन् ।
उनीहरूले एन्फाका जिम्मेवार पदाधिकारीबाट मिडियामा सार्वजनिक रूपमा गोल्डकपकै शैली हो, यो दोस्रो संस्करण पछाडि सम्झौता नै खारेज हुने जस्ता विषय सार्वजिनक भएपछि आयोजक र सहभागिता जनाउन ठिक्क परेका क्लबहरू आशंकित बनेको उल्लेख गरेका छन् ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले समग्र नेपाली खेलकुद क्षेत्रको प्रवद्र्धन गर्दै व्यावसायिक वनाउने उद्देश्यसहित खेलाडीहरूको सीप विकासमा समेत सहयोग पुर्याउँदै फुटबल विकासको लागि निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित एउटा प्रतिष्ठित संस्था रहेको र गत वर्ष यस संस्थाले कोभिड महामारी जस्तो प्रतिकूल परिस्थितिमा समेत पहिलो संस्करण सफलतापूर्वक सञ्चालन गरी नेपाली फुटबल प्रेमीहरूको मन जित्न सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एन्फाले चैत ९ गते बुधबार मात्रै सुपर लिग आयोजनाका लागि स्वीकृति दिएको प्रति पनि क्लबहरूले आपत्ति जनाएका छन् । उनीहरूले प्रतियोगिताभन्दा १५ दिन अघिमात्रै स्वीकृति प्रदान गर्दा तयारी नै नपुग्ने पनि प्रष्ट पारेका छन् । प्रतियोगिताका स्वीकृतिका लागि गत पुस २१ गतै नै एन्फालाई पत्राचार गरिएकोमा पत्र हराएको भनी फेरि पत्राचार गर्न भनिए पछि चैत ४ गते पत्र पेस गरिएको थियो ।
एनएसएलप्रति सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबहरूले असन्तुष्टि जनाउँदा पटकपटक आफूहरूले वार्तामार्फत समस्या समाधान गरेर अघि बढ्न आग्रह गरिएको कुरा पनि सुनुवाइ नहुँदा अहिलेको अवस्था आएको उल्लेख गरिएको छ ।
विज्ञप्तिको अन्तमा आफूहरूले उठाएका विषयहरूको उचित सम्बोधन गरी प्रतियोगिता सञ्चालनको लागि एन्फाद्वारा सहजीकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि हामी असमर्थ रहेको उल्लेख गरेपछि प्रतियोगिता नै धरापमा परेको आभास भएको छ । नेपाली फुटबलले ब्यावसायिकता ग्रहण गर्नु आफैंमा राम्रो कुरा हुँदाहुँदै पनि रैथाने ए डिभिजन क्लबहरू आफू पनि परिमार्जन हुन नसक्दा त्यसको असर समग्र नेपाली फुटबलमा पनि पर्न थालेको छ ।
प्रतिक्रिया