समादरणीय युवा नेताद्वयलाई स्थानीयलगायत निर्वाचनलाई मध्यनजर गरी सुझावहरूलाई समाजमा अध्ययन गरेको आधारमा मनमा लागेर नहिच्किचाई केही क्षेत्रका बारेमा कलम चलाएको छु । तपाईंहरू दुईलाई चौधौं महाधिवेशनले थप गरेको जिम्मेवारी बोध नै होला जिम्मेवारीमा अब्बल हुनुहुन्छ पनि । कलम चलाउँदै गर्दा कहीँ कतै तपाईंहरूमा भएको प्रजातान्त्रिक संस्कारले सुझावसँग रिसाउनु हुन्न भन्नेमा विश्वस्त छु । लेखकीय कलम मेरो भए पनि संकलित सुझावहरू प्रतिनिधि सुझाबहरू हुन् । तपाईंहरू जत्तिको सक्षम नेतृत्वले संस्थाको अभावबाट उत्पन्न जंगलराज र टुक्काबाजी राजको अराजकतामा पनि सुधारका आशाका किरण देखाएको इतिहास यहाँहरूकै जीवनकर्ममा व्यतित छ । संसारका असल अवसरहरू अनुकूल समयका लागि दौडन्छन् तर प्रतिकूल समयमा र प्रतिकूल अवसरमा पनि नेपालीहरूको चाहनासँग दौडने तपाईंहरूको पार्टी नीति, नेतृत्वको मिहेनत, लगाव, कहिल्यै कमी नहोस् यहि आशा गरेको छौं । शक्तिको मूल्यांकन, वस्तुवादी संयमता अपनाएर ढाडमा टेकेर कांग्रेसको टाउकोमा हानिँदैछ भन्ने सामाजिक चर्चाको बिषयलाई गहन अध्ययन गर्नु हुनेछ आशा राख्छौं ।
आजको नेपाल सहभागितामूलक प्रजातान्त्रिक अभ्यासमा छ, तर राजनीतिले युवाहरूलाई तुलनात्मक रूपमा पार्टीमा सहभागी गराउन सकेन । जसका कारण युवा मन विचलित भएर हाम्रो पार्टीमा कमजोर सहभागिता भएको छ । युवाहरूलाई राजनीतिमा माहोल बनाउन नेपाली कांग्रेसको बिधानमा नेतृत्वमा आउन लगाएको बन्देज पुनर्विचार गर्नु नै पर्दछ । यस सम्बन्धमा पार्टीको नीतिनिर्माण तहमा भएका तपाईंहरूले नेतृत्वमा हस्तक्षेप वा आफ्नो एजेन्डामा नेतृत्वलाई डो¥याउन सक्ने ल्याकत राख्नुहोस् यसमा धेरै युवा आशावादी छन् । अन्यथा तपाईंहरूसँग आम नागरिक अभिभावकले युवा परिचालनको आत्मविश्वासमा राखेको विश्वास र आशामा तुषारापात हुने निश्चित छ । अर्को विषयतर्फ ध्यानाकर्षण गराउँछु कि नेपालमा बेरोजगारी समस्या समाधान र चुनौतीमा नेपाली कांग्रेसको दृष्टिकोण तपाईंहरूले नै बैज्ञानिक रूपमा तर्जुमा गर्नुपर्दछ । दिगो विकास लक्ष्य र नेपालको बेरोजगारी दर सन् २०३० मा १० प्रतिशतमा झार्ने लक्ष्य पनि तपाईंहरू नै सक्रिय नभएमा पूरा नहुने निश्चित छ ।
नेपालमा १५ देखि ५९ बर्ष उमेरसमूहमा झन्डै २८ प्रतिशत बेरोजगारी रहेको तथ्यांकले औल्याएको छ । प्रत्येक बर्ष झन्डै ६ लाख बेरोजगारी बजारमा थप हुने देखिन्छ । वैदेशिक असन्तुलन, युद्ध, महामारी, आदिले वैदेशिक रोजागारीबाट फर्किने बेरोजगार त झनै बीसौ लाख दरमा डरलाग्दो छ । एक नम्बर प्रदेशमा २६.१६ प्रतिशत बेरोजगार, मधेस प्रदेशमा २४.६५ प्रतिशत बेरोजगार, बागमती प्रदेशमा २५.७३ प्रतिशत बेरोजगार, गण्डकी प्रदेशमा ३०.०८ प्रतिशत बेरोजगार, लुम्बिनी प्रदेशमा ३१.८९ प्रतिशत बेरोजगार, कर्णाली प्रदेशमा २२.०८ प्रतिशत बेरोजगार र सुदूरपश्चिम प्रदेशमा ३८.८२ प्रतिशत बेरोजगार रहेको तथ्यांक अध्ययन गरी तत्तत् क्षेत्रमा सीपमूलक तालिम, उत्पादनमा आधारित रोजगारमूलक कार्य गराउने नीतिनिर्माताको जिम्मा तपाईंहरू दुईमा नीतिगत रूपमा नेपाली जनताले सुम्पन खोजेको विषय कहीँ कतै नजरअन्दाज नगरिदिनु हुन अनुरोध छ । सीपलाई उत्पादनमा बदल्न नीति कार्यक्रम दिने पनि यहाँहरूनै हो । उत्पादनलाई लगानी सहुलियत नीति निर्माणको तय पनि यहाँहरूले नै गर्ने हो । बिदेशबाट सिकेको सीपलाई जगेर्ना, प्रवद्र्धन र उपयोग गर्ने नीति पनि तपाईंहरूले नै ल्याउने हो । जसले गर्दा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, कुल गार्हस्थ उत्पादन वृद्धि, रोजगारी सिर्जना र राजस्वमा वृद्धि हुँदा छवि उज्यालिने पनि यहाँहरूको नेतृत्व क्षमताको, आम नेपालीको र देशको नै हो । उत्पादनमा लाग्न सरकार हाम्रो छ कृषिमा आधारित जनता सबै हाम्रै छन्, मल र बिउबिजनको बजारमा हाहाकार छ, सरकार मौन छ । तपाईंहरू मत माग्न घरघरमा जाँदा मकै गोड्ने र राष्ट्रिय धानलाई मल बिउ नपाएर कालोबजारीमा मल बिउ किन्ने किसानलाई चित्त बुझाउन सकिएला ? औद्योगिकीकरण नीति र मल बिउ उत्पादन गर्न ढिला भएन र ? यहाँहरूले प्रयास गरेमा हुन्छ भन्ने आशा सबैमा छ । अलमल र अपजस गर्नेले लेला तर हानि परिणाममा पर्छ ।
युवाहरूलाई रोजगारी सिर्जनाले मात्रै पनि यहाँहरूको लक्ष्य र कर्तव्य पूरा हुन्न भन्ने बुझाइ पनि समाजमा छ । राजनीतिमा युवाहरूलाई स्थापित गर्न गराउन स्रोत, साधन, पार्टीको पुरातनयुक्त संरचना र आम रोजगारीको अवसरको दृष्टिकोण कारक रूपमा रहेकोले यथार्थ चित्रण अध्ययन एबं सकारात्मक सोच जरुरी छ । निर्वाचनका बेलामा मात्रै घरघर जाउँ कांग्रेसलाई जिताउँ अभ्यासले आम अभिभावकलाई मत मागेर मात्रै गिज्याएझैं देखिएको छ । निर्वाचनमा आफ्ना आर्थिक, सामाजिक, कृषि, पूर्वाधारका र रोजगारीका एजेन्डालाई लिएर जनतासामु लानु पर्नेमा त्यसो नगरेर आफैं हिलोमा बसेर अरूलाई हिलो छ्याप्ने र सञ्जालमा मत माग्न हिँडेका फोटोहरू प्रदर्शन गर्ने कार्यहरू भए गरेका छन् सुधार आवश्यक छ कि ? कांग्रेसलाई किन मत दिने भन्ने प्रश्नको जवाफमा अन्य अरूले के गरे, गरेनन होइन्, हाम्रो राष्ट्रिय एजेन्डा स्वाधीनतामा, उत्पादनमा, कृषिमा, आर्थिकमा, पूर्वाधारमा र रोजगारीमा यो यो हो भनेर जान अब ढिला गर्नु हुँदै हुँदैन । राष्ट्रिय स्वाधीनताका बारेमा मतदाताको मनमा मैलो छर्नेहरू कुनाकुनाबाट लुकेर झुट मदत्त गरेका छन् । त्यहाँ त्यहाँ तपाईं हाम्रो उपस्थिति जवाफसहितको मार्गमार्गमा तथ्यांकीय रूपमा आउनै पर्दछ ।
नेपाल विद्यार्थी संघलाई कांग्रेसको नर्सरी भनिन्छ, तरुण दल वृद्ध भयो । पार्टी नेतृत्वले यो भनाइलाई साँच्चिकै व्यावहारिक रूपमै उतारेछ । नेतृत्वको निर्णयले पुष्टि पनि ग¥यो । आफ्नो हनुमानलाई साथमा राख्ने र संस्थालाई नपुंसक बनाएर भजनमण्डलीलाई मात्रै जिम्मेवारी दिँदा अहिले जिम्मेवारी पाउने भाइहरू पनि योग्यतम हुँदै गर्दा पनि ट्याग भिर्न बाध्य भए । युवामैत्री, युवालाई अनुमोदन गर्ने, उमेरहदजस्ता नीतिगत प्रणाली राजनीतिमा नभएकाले यसतर्फ युवा पुस्ताको वितृष्णा बढेको विषयले नेतृत्वको कान समाउन सकेन र गोडा समाउन बाध्य भयो ।
आम नागरिक मतदाता जसले कांग्रेसबाहेकको चुनाव चिह्नका बारेमा जीवनभर जान्दैन र मत हाल्दा रुख नदेखे रुखजस्तै चिह्नमा मात्रै मत हाल्छ अन्यमा हात पुराउन्न बरु मत नहाली फर्कन्छ, त्यस्ता कांग्रेस मतदाताको मन कुँडिने गरी गठबन्धन गर्न खोज्नु मतदाताको मनप्रतिको मायामा धोका, चरम अन्याय र शोषण हो भन्ने बुझ्नु हुनेछ ।
युवाहरूलाई बेरोजगार राख्नेभन्दा जनसंख्याको आधारमा राज्य सञ्चालनको सेवा प्रदायक क्षेत्रमा रोजगारीको अवसरको रूपरेखा जनसंख्या र घनत्वका आधारमा तयार पार्न पर्दछ । राज्यका अंगहरूमा कार्यविधि मिचेर वा गलत कार्यविधिले राष्ट्रिय धनमा लामो समयदेखि सक्ने सबैले दोहन गरेका छन् । त्यही राष्ट्रिय धनको दोहन रोक्न सरकारी सार्वजनिक सेवा क्षेत्रमा करार, अस्थायी, ज्यालादारीभन्दा स्थायी दरबन्दीको सिर्जना र संगठन संरचना बनाउन विज्ञहरूको सल्लाहमा देश र आर्थिक ढुकुटीले धान्ने गरी कानुन नै निर्माण गर्नु नै पर्दछ । २०५४ सालपश्चात् सुरु गरिएको दलीय स्वार्थको सेवा प्रबाहको संरचनाले गैर विधिगत संरचनालाई स्थायी र कानुनी बनाएर नियममा पजनी गरिएको छ जसले भ्रष्टाचार मौलाएको छ । राजनैतिक नेतृत्वले संरक्षणमा राखेर वा विश्वासमा पारेर राष्ट्रिय ढुकुटीमा गरिने दोहनमा सबै तहतप्काका नलागे पनि सबै तहका राजनीतिक र प्रशासनिक उच्च पदस्थले मुखै गाडेर दाँतले भ्याउनेसम्म कोपरेको र झिक्न मिल्नेजति झिकेर दुरुपयोग गरेको विषय महालेखा परीक्षकबाट र आन्तरिक लेखापरीक्षणबाट आएको प्रतिबेदनले बोलेको छ । औंला उठाएर अरूतर्फ संघीयता छर्कदै गर्दा अध्ययनमा तपार्इंहरू स्पष्ट हुन जरुरी छ । गतिशील हुन जरुरी छ । अध्ययनशील हुन जरुरी छ र छवि स्पष्ट हुन जरुरी छ ।
निर्वाचित हुने प्रतिनिधि छनोट गर्दा दलीय नेतृत्वले विगतमा गरेका गल्ती कमजोरी दोहोर्याउन नहुने तर्फ विशेष चनाखो रहनु पर्छ । सिफारिस गरिने उम्मेदवारका बारेमा जसरी सिक्काको दुईपाटाले सन्तुलित स्वरूप निर्माण गरेको देखिन्छ त्यसरी नै मन, वचन र कर्मले सम्बन्धका आआफ्नै पाटाहरूमा सन्तुलित व्यवहार अपनाउनु आजको कांग्रेसको नीतिगत आवश्यकता हो ।
स्थानीय लगायत निर्वाचनमा अहिलेको कांग्रेसले स्थापनाकालिन सिद्धान्त र आफ्ना संस्थापक नेता बिपीको विचारलाई लत्याएर गठबन्धनका नाममा आफ्ना कार्यकर्तालाई अन्य पार्टीमा भोट हाल्ने उर्दी जारी गर्दा आगामी दिनमा पुस्तौंसम्म ठूलो राजनीतिक नोक्सानी व्यहोर्नु पर्ने देखिन्छ । कांग्रेसको त्यो अक्षम्य भुलले देशको प्रजातान्त्रिक आन्दोलनले नै चुनौती खेप्न पर्नेछ । कांग्रेसले अझै पनि प्रजातान्त्रिक मूल्य र पार्टीकै सिद्धान्तविपरित केवल सत्तास्वार्थ र वैयक्तिकरुपमा प्रधानमन्त्रीलाई दवाब एबं बध्याता देखाएर कम्युनिस्ट पार्टीहरूसँग साँठगाँठ गरिरहन्छ भने नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा, नैतिकताको र बहुलवादी राजनीति माथि प्रश्न खडा हुन्छ ।
बुद्धिमान मानिसलाई समय–समयमा मूर्खहरूसँग कालबेला बिताउन परेको अनुभव तपाइहरूसँगै छ । त्यसैलाई अध्ययन गरी तपाईंहरूले सिकाइ बदलेर दरिलो लक्ष्यलाई जीवनको उपहारको रूपमा लिँदै पार्टी र समाजको सफलताको क्षितिज धेरै फराकिलो बनाउने जिम्मेवारी पनि तपाईंहरूमा नै छ । अहिलेको पार्टी नेतृत्वले अहिलेकै संविधानको व्यवस्थाले कुनै पनि पार्टीले बहुमत पु¥याउन सक्दैनन् भन्नु र अन्यसँग नमिले सिट पाइन्न र बहुमत पु¥याउन गठबन्धन आवश्यक छ भन्ने जडसूत्रवादी सोचलाई आफ्नो घरको छानामा बसेर हेर्दा आफ्नो आकार पत्ता नहुने तर अर्काको घरको आकार मात्रै बुझ्ने जुन दुष्प्रयास हो, त्यसले कांग्रेसले आफ्नो बिशालतालाई भुल्नु पनि हो भनेर बुझौं । निर्वाचनमा उपयुक्त समयानुकूल निर्णयमा तपाईंहरूले नै आफ्नो एजेन्डामा नेतृत्वलाई ल्याउन सक्नुपर्छ । विगतको कालबेला बिताउनुभयो, भोग्नु पनि भयो, तर अब आम पार्टी पंक्तिलाई फरक गठबन्धन चिह्नमा भोट गर्न चिच्याउन छोड्नु पर्छ ।
एक्लो रुख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर हुर्कन्छ भन्ने सिद्धान्त अपनाउन जरुरी छ निर्वाचनमा उम्मेदवारीमा । सबै तहतप्कामा युवा नीति लागू गर्नुपर्छ । कृषिमा निर्भरता ६०.४ प्रतिशतलाई झार्नै पर्दछ । कृषिमा तुलनात्मक लाभको क्षेत्र पहिचान गरेर लगानी वृद्धि गर्नै पर्दछ । जनसंख्याको घनत्वका आधारमा कम्तीमा ३ प्रतिशत सेवादायी कर्मचारी, शिक्षक, वित्तीयक्षेत्रलगायत स्वास्थ्यकर्मीलाई संगठन संरचनामा सबै तहमा आबद्ध गराउनै पर्छ । स्रोत साधनलाई स्थानीय तह केन्द्रित गराउन पहल गरी सहर बसाई र अनुत्पादक बसाइँसराइ नीतिलाई ह्रास गराउनै पर्नेछ । युवा उत्पादनशील बेरोजगारी न्यून गर्न रोजगारी सिर्जनाका लागि नीतिगतरूपमा व्यवस्थापन गर्नै पर्दछ । सबै तहतप्काका संस्थागत र ब्यक्तिगतजन्य भ्रष्टाचार जस्तो माहारोगमा स्पष्ट शून्य सहनशीलताको नीति अवलम्बन गर्नै पर्छ । यहाँहरूको नेतृत्वमा आम नेपालीले चाहेका कुराहरू अझै धेरै छन् । मैले एकै पत्र यसै पत्रमा यतिमात्र कोरेको छु ।
जिन्दगीको पाना लामो छ, सायद एउटा कुनै हरफमा अवश्य भेट हुनेछ । आसन्न चौधौं महाधिवेशनमा घरघरमा बसेर मतदाता हुँदा नहुँदा पनि गगन–विश्व भन्ने मनमनको चाहमा नुनचुक पर्छ कि भनेर यहाँहरूको दिनचर्या सामाजिक हित र राष्ट्रिय स्वार्थमा केन्द्रित भएर कार्यकाल बितोस् । नेपाली कांग्रेसका यस अगाडिका पदाधिकारी, महामन्त्रीभन्दा तपाईहरूसँग ज्यादा आशा राखेका नागरिकका मनलाई सम्झेर यहाँहरूको कार्यसम्पादन होस् ।
जय नेपाल ।
प्रतिक्रिया