काठमाडौँ — रोहित पौडेलको शतकका बाबजुत नेपाल शुक्रबार पपुवा न्यु गिनी ९पीएनजी० सँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ६ रनले पराजित भएको छ । रोहितले १ सय ७ बलमा १ सय २६ रन बनाएपछि नेपालले २ सय ९३ रनको विशाल लक्ष्य लिएर आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ८६ रनमात्र बनाउन सक्यो । रोहितले ७ चौका ४ छक्का प्रहार गरे ।
रोहितले ९१ बलमा शतक पूरा गरेका थिए । रोहितको शतक नेपाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको दोस्रो शतक हो । यसअघि पारस खड्काले २०१९ मा यूएईविरुद्ध दुबईमा १ सय १५ रन बनाएका थिए । रोहितको १ सय २६ रन सबै खाले अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो ।
रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा ५ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बने । रोहित र आरिफ शेखले पाँचौं विकेटमा १ सय ४ रनको साझेदारी गरे । यो नेपालको सबैभन्दा ठूलो साझेदारी हो । नौ दिन अघिमात्र यी दुईले नै पीएनजीविरुद्ध नै शारजहाँमा १ सय रन जोडेका थिए । आरिफले ६४ बलमा दुई चौकासहित ३४ रन बनाए ।
भीम सार्की १८ बलमा १ छक्का प्रहार गर्दै १७ र पवन सर्राफ १० बलमा ७ रन बनाई आउट भए पनि खेलको अन्त्यमा सोमपाल कामी र कमलसिंह ऐरीले नेपाललाई विजयनजिक पुऱ्याएका थिए । अन्तिम ओभरमा १० रन चाहिने अवस्थामा यी दुईले २ रनमात्र बनाउन सके ।
यसअघि कुशल भुर्तेल र अनिल साहले आठौं ओभरमा ३६ रन जोड्दै मध्यम खाले सुरुआत दिलाए पनि दशौं ओभरको पहिलो बलमा नेपाल ४५–३ को स्थितिमा पुगेको थियो ।
चार वर्षपछि पुनरागमन गरिरहेका अनिल २१ बलमा ६ रन बनाई आउट भए । त्यसको अर्को बलमा कुशल इनसाइड एज लागि बोल्ड भए । उनले २८ बल खेल्दै ६ चौका प्रहार गरी ३२ रन बनाए ।
डेब्यु गरिरहेका देव खनाल ६ बल खेल्दै खाता खोल्नु अघि आउट भए । दीपेन्द्रसिंह ऐरी पनि १५ रन बनाई आउट भइ दबाबमा परेको अवस्थामा रोहत र आरिफको शतकीय साझेदारीले नेपाललाई खेलमा फर्काउने प्रयार गरेको थियो ।
यसअघि टस हारेपछि ब्याटिङमा आएको पीएनजीले ८ विकेट गुमाई २ सय ९२ रनको स्कोर बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको यो सबैभन्दा बढी रन हो । सन् २०१९ मा यूएईले दुबईमा यसअघि ६ विकेट गुमाई २ सय ५४ रन बनाएको थियो, जुन खेल नेपालले पारस खड्काको शतकमा ४ विकेटले जितेको थियो ।
सोमपाल कामीले चौथो ओभरमै हिरी हिरीलाई ४ रनमा आउट गरे पनि कप्तान असाद भाला र चाल्र्स अमिनीले अर्धशतक बनाउँदै पीएनजीलाई राम्रो स्कोरमा उभ्याए । ओपनर टोनी उराले ४७ बल खेल्दै ८ चौकासहित ३८ रन बनाई राम्रो साथ दिए ।
प्रतिक्रिया