देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव जितेपछि कांग्रेसले स्थिरता दिन्छ

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले चुनावपछि नेपाली कांग्रेसले स्थिरता दिने दाबी गरेका छन् । गत निर्वाचनमा प्रतिपक्षको भूमिकामा पुगेको पार्टी कम्युनिस्टहरूकै कारण सत्तामा आएको प्रष्ट पार्दै अहिलेको गठबन्धन सरकारले जनताले चाहेजस्तो काम गर्न भने नसकेको स्वीकार गरे । उनले भने ‘संक्रमण भनेको निर्वाचनसम्मको संक्रमण हो । निर्वाचनबाट नेपाली कांग्रेसलाई स्पष्ट बहुमतका साथ नेपाली जनताले सरकारमा पठाएपछि हामी मुलुकलाई स्थिरता दिन्छौं, शान्ति दिन्छौं, समृद्धि दिन्छौं सुशासन दिन्छौं र त्यसका लागि तीनै तहको निर्वाचनमा नेपाली जनताले नेपाली कांग्रेसलाई आशीर्वाद दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ यसैगरी अहिलेको अवस्थामा आवश्यकताअनुसार चुनाव जित्नका लागि गठबन्धन गर्नुपर्नेमा उनले जोड दिए । साउदसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

अब नेपाली कांग्रेसले चुनावी अभियान सुरु भएको छ । एकमहिने अभियान अहिले कसरी अगाडि बढ्दैछ ? 
नेपाली कांग्रेसले एकमहिने चुनावी अभियान सुरु गरेको छ । यो अभियानको पहिलो पक्ष भनेको निर्वाचनको सन्दर्भमा हामीले आफ्नो संगठन र संरचनालाई पूर्णता दिनु हो । योभन्दा पहिले संगठनलाई पूर्णता दिन समय लगायौँ, पूर्णता दिन समय लगायौँ जसका कारणले त्यो कमिटी पाँच वर्षमा पनि परा हुन सकेन । अब यो पटक निर्वाचन छ, निर्वाचनको पूर्वसन्ध्यामा हामी छौँ । सबै निर्णयहरू सहीरूपमा हुन्, वैधानिक रूपमा हुन् । त्यसो भएका कारणले वैधानिक संंस्थागत रूपमा गरिने निर्णयहरू चाहिँ देशभरि सञ्चालन र समयभित्र सम्पन्न हुन् भनेर अभियानले संगठन र संरचनालाई पूर्णता दिने लक्ष्य राखेको छ । दोस्रो कुरा नेपाली कांग्रेस महाधिवशेनको अभ्यासको रूपमा लामो समयसम्म रहेको थियो । जनताको मुुद्दाहरू जनताको इस्युहरू र जनताका माझमा जानुपर्ने, गाउँमा जानुपर्ने त्यसमा पनि घरघरमा जानुपर्नेलगायतका कामलाई संगठनले अँगाल्नु पथ्र्यो तर विगतमा नेपाली कांग्रेस त्यतातिर जान सकेको थिएन । त्यसकारण कार्यकर्तालाई एउटा अभियानअन्तर्गत गाउँघर बस्तीमा पुर्‍याउने काम चाहिँ यो पार्टीको एकमहिने अभियानले गरेको छ । त्यसै गरेर पार्टीको अभियान गाउँसम्म जो पुगेको छ त्यसलाई पनि एउटा लक्ष्य दिनु पर्‍योे, उद्देश्य दिनु पर्‍यो । जसले राष्ट्रिय मुद्दाहरू, सामाजिक मुद्दाहरू र आर्थिक मुद्दाका बारेमा स्पष्ट दिशानिर्देश दिनु पर्‍यो । यी सबै कुराहरू कार्यकर्ताका माझमा पुर्‍याउन नेताहरू गाउँगाउँ गएका छन् ।

अहिलेको अवस्थामा तपाईंहरूले अभियान सुरु गर्दै गर्दा भ्रातृ संस्थाहरू पनि सक्रिय छैनन् । जसकारण यो अभियान त्यति प्रभावकारी हुँदैन होला भन्ने प्रश्न पनि उठ्छ नि, होइन र ? 
अहिले नेपाली कांग्रेसका भ्रातृसंस्थाहरू तपाईंले भनेजस्तै कोमा अवस्थामै छन् । भ्रातृसंस्थालाई वास्तवमै जागृत बनाउने हो भने संस्थाहरूमा सैद्धान्तिक र संगठनात्मकरूपमा पनि त्यसको संरचनालाई नवीनता दिनुपर्ने अवस्था छ । त्यो संगठनको सञ्चालनको प्रक्रियालाई पनि एउटा उद्देश्य र लक्ष्यका साथ अगाडि बढाउनुपर्ने आवश्यकता छ । यसका लागि कांग्रेसका केही भातृसंस्थाका विधानहरू बनेका छन्, अन्य भातृसंस्थालाई पूर्णता र क्रियाशील बनाउने पार्टी नेतृत्व लागेको र हामी जिम्मेवार बनेका छौँ ।

 फागुन मसान्त भनिएको थियो तर त्यो देखिएन नि ? 
अब फागुन मसान्तभित्रको त कुनै सम्भावना नै देखिएन किनकि फागुन सकिएको छ । तर निर्वाचन अगाडि यो काम सम्पन्न गर्नुपर्छ । नेविसंघ, तरुण दल, किसान संघजस्ता भातृसंस्थाहरू छन् । यी संस्थाहरू कांग्रेसका नियोगका रूपमा रहेका छन् र यी संस्थाहरूलाई चाहिँ अब पुराना कमी, कमजोरीलाई नदोहोर्‍याउने गरेर यिनलाई परिचालन गर्नुपर्छ । यिनको परिचालन नेपाली कांग्रेसको अधिकतम नोपली कांग्रेसलाई, प्रजातन्त्रलाई फाइदा हुने गरेर हामी निर्वाचनमा जानुपर्छ ।

अब स्थानीय तहको चुनावसँगसँगै गठबन्धनको कुरा पनि जोडिन्छ, तपाईंहरू के गर्नुहुन्छ ? 
सबैभन्दा पहिले गठबन्धनको बारेमा कुरा गर्दाखेरी चाहिँ धेरै कुरामा स्पष्ट हुनुपर्छ । पहिलो कुरा त हाम्रो संविधानले जुन निर्वाचन अख्तियार गरेको छ, जसमा एकै पार्टीले सरकार बनाउने कुरा एकदम गाह्रो छ । माओवादीले २०६४ सालको निवार्चनमा सबैभन्दा ठूलो पार्टीको रूपमा आफूलाई स्थापित गर्‍यो । तर प्रत्यक्षमा त्यो बेला २४० सिटमा १ सय २० सिट ल्यायो । तर समानुपतिक सिट अर्थात् ५० प्रतिशत सिट ल्याउन सकेन । माओवादी पनि त्यो ठूलो पार्टी मात्रै भएको थियो । २०७० सालको निर्वाचनमा नेपाली कांग्रेस फेरि सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भयो । यो पटकको गठबन्धनमा बहुमत त प्राप्त भयो तर दुई तिहाइ तर त्यो दुई तिहाइ एउटा गठबन्धन संस्कृतिकै उपज थियो । त्यसकारण गठबन्धन प्रक्रियाले मात्रै मुलुकको राजनीतिलाई निकास दिन सकिन्छ भन्ने र बहुमत ल्याउने सकिन्छ भन्ने तत्व अन्तरनिहित छ ।

तर गठबन्धकै विषयमा कांग्रेसभित्र एकमत त छैन नि फेरि, कोही गठबन्धन गर्नुपर्छ कोही गर्नु पर्दैन भन्ने पक्षमा त देखिन्छन्, होइन ? 
अब गठबन्धन भन्नेबित्तिकै तपाईंले दुईवटा कुरालाई ध्यान दिुनपर्छ, एउटा कुरा त गठबन्धन भनेको फरक विचार, फरक चिन्तन भएको शक्तिसँगको सहकार्य हो । त्यसका कारण गठबन्धन गर्दाखेरी केही कुरा छोड्नु पर्ने हुन्छ, केही कुरा आत्मसात् गर्नुपर्ने हुन्छ । आत्मसात् गर्दा जो हाम्रो सनातन मूल्य पद्धति हुन्छ । जो हाम्रो आफ्नै काम गर्ने तौरतरिका हुन्छ । त्यसमा अलिकति असामान्य व्यवहार, अलिकति चुनौती र अप्ठेराहरू थपिन्छन् । त्यो चुनौतीलाई आत्मसात् गर्न हाम्रो कार्यकर्ता र नेताहरू पंक्तिमा असहजता हुन सक्छ । त्यो असहजतालाई कसरी समाधान गर्ने भन्ने बारेमा पार्टीले सोच्ला, चिन्तन गर्ला त्यतातिर त्यतातिर हामी जाउँला ।

अब जिल्लाका केही ठाउँका प्रतिनिधिका कुरा सुन्दा त अहिलेको चुनावमा अरू पार्टीको चुनाव चिन्हमा भोट हाल्दैनौं भनेर एकखाले आवाजहरू उठिरहेका छन् । यसलाई कसरी सम्बोधन गर्ने ? विगतलाई पनि हेर्ने कि ? 
हो, त्यसमा चाहिँ केही गाह्रो अप्ठेरो छ । गठबन्धन बनाउने हो भने सहमतिअनुसार अर्को पार्टीलाई पनि भोट दिनुपर्छ । गठबन्धन नबनाउने हो भने चुनावी परिणाम बेहोर्न तयार हुनुपर्छ । यी दुईवटा विकल्पहरू छन्, हार्न तयार हुने हो भने अर्थात् जे जति जित्छौँ ठिकै छ भन्ने हो भने गठबन्धन नबनाए भो ।

तपाईंको धारणा चाहिँ के ? हार्न तयार हुने अथवा गठबन्धन गर्ने ? 
मेरो स्पष्ट धारणा के छ भने जहाँ हामी आफू जित्न सक्छौँ त्यो ठाउँमा हामीलाई गठबन्धनको आवश्यकता छैन । तर जुन ठाउँमा गठबन्धन बनाएर मात्रै हामी आफ्नो पक्षमा परिणाम ल्याउन सक्छौँ त्यस ठाउँमा साझेदारी गरेर अगाडि बढ्दा राम्रो हुन्छ भन्ने नै हो ।

भनेको त, ताक परे तिवारी नत्र गोतामे भनजस्तै भइहाल्यो नि ? 
गठबन्धन भनेकै सबै कुरा आफूले भनेको नहुने केही कुरा छोड्नुपर्ने हुन्छ । जसकारण केही पाउनका लागि केही छोड्नु नै पर्छ । जहाँ आवश्यकता छ त्यहाँ गठबन्धन गरौँ । खाली निर्वाचन लड्नका लागि मात्रै विभिन्न ठाउँमा उम्मेदवार उठाउनुभन्दा पनि अब हामीले जोसँग सहकार्य गरिरहेका छौँ, जो शक्तिसंग सहकार्य गरेमा परिणाम पाउन सक्छौँ त्यस्ता शक्तिसँग हातेमालो गरेर जाउँ भन्ने मान्यता हो ।

तर त्यसो गर्दै गर्दा ठूला पालिकाहरू जस्तै महानगरहरूमा समस्या हुन्छ होला नि तपाईंहरूलाई ? गाउँपालिकाहरूमा त समस्या नहोला तर महानगरपालिका, उपमहानगरपालिकामा कसरी टुंग्याउने ? अलिकति नमेलेको जस्तो लाग्दैन ? 
होइन । ठूलाठूला तहमा पनि जहाँ हामी आफंै जित्छौँ त्यहाँ सहकार्यको आवश्यकता छैन् । गएको निर्वाचन पनि भएको छ । विगतको निर्वाचनपछि हाम्रो भोट बढेको छ त्यसमा कुनै शंका छैन । मतदाता पनि बढेका छन्, भोट पनि बढेका छन् तर त्यो भोटले हामीलाई जितसम्म पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने मुख्य कुरा हो । हामी आफैं जित्ने स्थानीय तहमा गठबन्धनको आवश्यक छैन तर विकल्पमा छलफल गरिरहेका छौं । 
यो गठबन्धनको विषयमा कहिलेसम्म निर्णय गर्छ कांग्रेसले ? 
अब गठबन्धनको विषयमा सवै विषयमा छलफल गर्न हाम्रो पार्टी मानसिक रूपमा तयार छँदै छ । हाम्रो पार्टीको गठबन्धनले पनि एकल लड्नु भन्दा गठबन्धन गरेरे जाँदा हामीलाई सुविधा हुन्छ, त्यसबाट उचित परिणाम निकाल्न सकिन्छ भन्ने कुरा पनि हाम्रो पार्टीको नेतृत्वबाट आइरहेको छ । यो निर्वाचनभन्दा पहिले नै सहन छलफल र निर्धारण गरिने कुरा हो । तर अलिकति समय छ, सैद्धान्तिक रूपमा पार्टीका साथीहरू तयार छन् । तर एउटा कुरा म तपाईंलाई भनिहाल्छु, हाम्रो पनि केही साथीहरूको सैद्धान्तिक प्रश्न त ठीक छ । आफ्नो सिद्धान्तभन्दा अर्को सिद्धान्तलाई कसरी भोट दिने ? हामी पनि आफैंमा ठूलो पार्टी हौँ । हामीलाई अरू सानोतिनो पार्टीले भोट दिएपछि जित्न सकिन्छ हामीले अरू पार्टीलाई ७०।८० प्रतिशत भोट दिनुपर्छ अरू पार्टीको १०।२० प्रतिशत भोटले हामीालाई केही हुन्न भन्ने अरू साथीको चिन्तालाई म ग्रहण गर्न चाहन्छु । तर केही ठाउँमा कुण्ठाहरू अभिव्यक्त गर्ने, टिकट नपाएको भनेर आफ्नै नेतृत्वतहँंगको असहमति आदि इत्यादि कुराले गठबन्धनको विरोध गर्ने, कांग्रेसबाहेक अरूलाई भोट नै नहाल्ने भन्ने साथीहरू पनि आफूले सहकार्य गरेको दललाई भोट नदिएर एमालेलाई भोट दिएको चर्चा परिचर्चा सुनिन्छ । तर त्यो पार्टीभित्रको कुरा भन्दा पनि चोक पसलमा कुरा उठेका छन्, यसमा सवबले सावधान हुनुपर्ने आवश्यक्ता छ ।
अब चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने, त्यसपछि प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने यो चलन भयो होइन ? 

होइन्, अब महाअभियोग लगाइदिनुपर्छ भनेर सडकमा जुलुस निस्केको, अभियोगको लागि अदालत भित्रैबाट, न्यायालयभित्रैबाट ठुलो आवाज उठेको विषय त तपाईंहरूलाई थाहै छ । मुलुकको राजनीति मात्रै होइन राज्यको सबभन्दा ठूलो संवेदनशील अंगमा अनिश्चितकालसम्म चलिरहेको होहल्लालाई निक्र्योलमा पुर्‍याउनु हामी सवैको दायित्व थियो । त्यही दायित्व हामीले पूरा गरेका हौँ ।

तर जति बेला माग थियो, जतिबेला आवश्यकता थियो त्यतिबेला नभएर अन्तिममा आएर आफ्नो सत्तागठबन्धन तलमाथि हुन्छ कि भन्ने आशंकाले गरिएको हो र कांग्रेस चाहिँ त्यसमा फस्यो भन्छन् नि ? 
होइन, सत्ता गठबन्धन त परिवर्तन भइरहने कुरा हो । सत्ता गठबन्धनमा बदला हुनु नै हुन्न भन्ने कुरा हुन्न । तर सत्ता गठबन्धन जोगाउन महाअभियोग लगाइएको पनि होइन । यो महाअभियोग वास्तवमा अदालतको विषयलाई कानुनी क्षेत्रमा भएको अन्योललाई तोड्नका लागि र न्यायालयलाई निकास दिनका लागि गरिएको कुरा हो ।

अब सरकारको कामको पूरै समीक्षा गरौं । अहिलेको सरकारको काममा तपाईं सयमा कति नम्बर दिनुहुन्छ ? 
हेर्नुस्, हामीलाई चाहिँ गएको निर्वाचनमा जनताले यो यो काम गर्नुस् भने अनुमोदन गरेको स्थिति होइन् । हामीले प्रत्यक्षतर्फबाट २३ ठाउँमा जितेका हौँ । बाँकी ३९ ठाउँमा चाहिँ हामीले समानुपातिकबाट मत लिएका हौँ । अहिले हामीले माओवादीसँग मिलेर, एकीकृत समाजवादीँंग मिलेर र अन्य शक्तिँंग मिलेर गठबन्धनको सरकार बनाइरहेका छौँ । त्यो गठबन्धनको सरकार पनि हामी सत्तामा आउनै पर्छ भनेर जोडबलले बनाएको होइन । अदालतको निर्णयपछि मुलुकको राजनीतिमा कुनै निकास नै नसिक्ने भएपछि नेपाली कांग्रेस नेतृत्व गर्न तयार हौँ । मुलुकको राजनीति अगाडि बढाउँछौ भनेर बनाइएको हो । यो सरकारबाट जनताले कति आशा अपेक्षा गरेका छन् त्यो त तपाईं भन्न सक्नुहुन्छ । सँगसँगै हामी आफैंले पनि धेरै काम गर्न सकिन्छ भनेर आशा अपेक्षा गरेका छैनौँ । हाम्रो कुरा के छ भने, अहिले यो सरकार संक्रमणकालीन अवस्थामै छ । संक्रमण भनेको निर्वाचनसम्मको संक्रमण हो । निर्वाचनबाट नेपाली कांग्रेसलाई स्पष्ट बहुमतका साथ नेपाली जनताले सरकारमा पठाएपछि हामी मुलुकलाई स्थिरता दिन्छौँ, शान्ति दिन्छौँ, समृद्धि दिन्छौँ सुशासन दिन्छांै र त्यसका लागि तीनै तहको निर्वाचनमा नेपाली जनताले नेपाली कांग्रेसलाई आशीर्वाद दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

झन्डै डेढ बर्ष सरकारको नेतृत्व गरिहरेको यो अवस्थामा पछि दिन्छौं भन्ने कुरा अहिले दिए हुन्न र ? 
डेढ वर्ष हामीले सरकार सञ्चालन गरेका छैनांै, सरदर हामीले ६।७ महिना मात्रै सरकारको नेतृत्व गरिहेका छौँ । संसद् एमालेले चल्न दिएको छैन, हामी आफैं सबैभन्दा ठूलो पार्टी पनि छैनौँ । अहिले त हामी प्रारम्भिक बहुुमत बोकेर हिँडिरहेका छौँ ।

सदन नचले पनि काम त अगाडि बढाइरहनु भएको छ । अब संसद् नचलेकै अबस्थामा एमसीसी पारित गरिहाल्नु भो त ? 

होइन, एमसीसी पारित गर्दा विरोधका बीच गरिएको छैन । तपाईंहरूले यो कुरालाई गम्भीरतापूर्वक मनन् गरिदिनुपर्छ कि एमसीसीको दस्तावेज केपी ओलीले लेख्नुभएको थियो । एमसीसी माओवादीले टेबुल गरेको थियो, कांग्रेसले सहजीकरण गरेर नेतृत्व गरेर यसलाई अनुमोदन मात्रै गरेको हो त्यो पनि सर्वसम्मतिले गरेको हो ।
अर्को प्रसंग ।
तपाईंले पछिल्लो समय सार्वजनिक भएको प्रकाश सपुतको पीर बोलको गीत सुन्नुभयो ? के पाउनु भयो त्यो कथा र अहिलेको बहस, तपाईंको प्रतिक्रिया के हो ? 
हेरेँ, त्यो कथा नेपाली समाजको सचित्रण दर्शन हो । त्यो कथाले नेपाली समाजको विद्यमान चुनौतीहरू, कहालीलाग्दा गरिबी हाम्रा पीडाहरूलाई अभिव्यक्त गरेको छ । त्यसको समाधान क्रान्ति मात्रै हुन सक्दैन र समानको सपना मात्रै हुन सक्दैन, झुटा आश्वासन र कपोकल्पित कुराहरू हुन सक्दैनन् । विरोधाभाषले चाहिँ विद्रोह जन्माउँछ, त्यो विद्रोह आफैंभित्र जन्मिन्छ, समाजमा जन्मिन्छ, पार्टीभित्रै जन्मिन्छ भन्ने कुराको एउटा जीवन्त चित्रण त्यसभित्र छ ।

गीत सार्वजनिक भएसंगै यो घटनासँग जोडिएका विभिन्न पात्रहरू पनि विभिन्न ठाउँमा उजागर भइरहेका छन् । मिल्दाजुल्दा कथाहरू पनि सार्वजनिक भइरहेका छन् । २०६२-०६३ पछाडिको जनआन्दोलन होस् अथवा माओवादीले सुरु गरेको २०५२ साल पछाडिको सशस्त्र विद्रोह होस्, नेपाली राजनीति के साँच्चिकै त्यस्तै हो ? 

हाम्रो समाजको प्रतिनिधि कथा भन्न त नमिल्ला, तर माओवादी आन्दोलनको यो एउटा गम्भीर आयाम हो । माओवादीले मान्छेलाई बन्दुक बोकायो, मान्छेले गोली खाए मान्छेले दुःख पीडा उठाए । तर त्यो केका लागि उठाए भन्ने कुरा चाहिँ माओवादी पार्टीले आफ्नो उपलब्धिबाट त्यसको व्याख्या गर्न सकेन । माओवादी पार्टीले त्यसको औचित्य स्थापित गर्न सकेन । समाज परिवर्ततको प्रक्रियामा निर्णायक छौँ भन्ने उनीहरूको एकल दाबी पनि समाजमा स्थापित हुन सकेको छैन । त्यसका सामाजिक राजनीतिक, आर्थिकलगायत सबैै पक्षहरू अहिले पनि गञ्जागोल अवस्थामा छन् । त्यसले निर्धारित गरेको लक्ष्य गन्तव्यमा पुग्न सकेन, त्यसकारण यी समस्याहरू नेपाली समाजमा छन् । नेपाली समाज वास्तवमा माओवादी आन्दोलनको चस्माबाट मात्रै हेरिनु हुन्न । यो एउटा समग्र सामाजिक विकास प्रक्रियाको एउटा उपज हो र त्यसमा धेरै राजनीतिक शक्तिहरू, सामाजिक शक्तिहरू र ऐतिहासिक शक्तिहरूले त्यसमा योगदान दिएका छन् । तर त्यसलाई अहिलेको अवस्थालाई माओवादी कोणबाट मात्रै हेर्ने हो भनेपछि यसको यथार्थमा कल्पनाभन्दा धेरै विरोध देखिन्छ ।

विगतमा पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ भन्ने बोलको गीत निकाल्दा एमाले रिसायो, प्रकाश सपूतले पीर निकाल्दा माओवादी रिसाउने, यो गर्न मिल्छ ? हाम्रो राजनीति संस्कार कता जाँदै छ भन्ने प्रश्न उठ्यो होइन र ? 
यो चाहिँ स्वतन्त्रता नबुझेका, कला नबुझेका साहित्य नबुझेका मान्छेहरूको कला साहित्यप्रतिको अन्याय हो । समाजलाई कलाले भाषा दिन्छ । कलाले समाजलाई चित्रण गर्छ । प्रकाश सपूतले पहिले लेखेका हुन् अथवा अहिले लेखेका कुरा हुन्, चाहे एमालेको बारेमा लेखेका कुरा हुन् चाहे माओवादीको विरुद्धमा लेखेका कुरा हुन, चाहे कांग्रेसका बारेमा लेखेका कथा नै किन नहुन्, ती हेर्न लायक छन् ।

तर वाइडबडी काण्ड, लाउडा काण्डलगायतका काण्डका गीतहरू आएका छन् । कांग्रेसलाई पनि भ्रष्टाचारसँग जोडेर गीतहरू त आएका छन् नि होइन ? 
होइन, वाइडबडी काण्ड, लाउडा काण्डा कांग्रेसले गरेको थिएन, यदि कांग्रेसले गरेको भए पनि सम्बन्धित दोषीले सजाय पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता छ, थियो । त्यसकारण कांग्रेसल संगठित रूपले हुने सामाजिक प्रतिक्रियाको पक्षमा कांग्रेस रह्यो । तर अहिले कम्युनिस्टहरू जसरी कमी, कमजोरी, विसंगतिका विरुद्ध साहित्य र कलाले अभिव्यक्ति दियो, आम मानिसहरू सडकमा निस्किए अर्थात् कसैले बोल्यो भने जसरी उनीहरू आक्रामक भएर बाहिर आएका छन् । यो सामजिक, राजनीतिक अभिव्यक्ति स्वतन्त्रताप्रतिको गम्भीर अन्याय हो । एकातिर माओवादीले आफू सत्तामा बसेर पनि सहिष्णुता, सहनशीलताजस्ता कुराबाट माओवादी अहिले पनि निर्देशित हुन सकेको छैन । संविधानबाट पनि निर्देशित हुन सकेको छैन ।

भनेको नेपालका कम्युनिस्टहरू आफ्ना गल्तीहरू देखाइदियो भने उनीहरू आक्रामक हुन्छन् । त्यो तुलनामा कांग्रेस संवेदनशील छ भन्न खोज्नु भएको हो ? 
यो गल्ती देखाउने कुरा होइन । यो त मान्छेको साहित्य कला हो, अभिव्यक्ति स्वतन्त्रता हो । यसले माओवादीको आन्दोलनको विरोधाभाषलाई बचाएको छ । यस गीतले माओवादी कहीँ बाटो बिर्सन्छ भने पनि यसलाई सही बाटो देखाउन, ट्र्याकमा ल्याउन सघाउ पुर्‍याएको छ । तर यस कथाले आन्दोलनको औचित्य माथि प्रश्न उठाएको छ । आन्दोलनको सिद्धान्त माथि प्रश्न उठाएको छ । आन्दोलनले उनीहरूको पार्टी, उनीहरूका नेता, नेतृत्व र आन्दोलनकारी संघर्षशील योद्धाले भोग्नु परेको पीडाको चित्रण भएको छ । यसबाट माओवादीले यति आत्तिनुपर्ने, डराउनु पर्ने कारण छैन । उनीहरूले आफ्नो पूर्व लडाकुहरूको पीडाको बारेमा नेतृत्व असंवेदनशील भएको सत्य हो ।