देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली सेनालाई पहिलाे प्रयासमै स्वर्ण पदक

देशान्तर

 

काठमाण्डौ । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली सेना स्वर्ण पदक जित्न सफल भएको थियो ।

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी भएका थिए । नेपाली सेनाले त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो ।

प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरूप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो । प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबियालगायतका देशका सेना सहभागी थिए । पहिलो प्रयासमै अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेसागत दक्षता, दृढ सङ्कल्पसहितको अठोटले ठूलो बल पुर्‍याएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गरे ।

कार्यक्रममा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले प्रतियोगितामा सहभागी नेपाली सैनिक टोलीले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने काम गरेको भनी प्रशंसा गरे ।