देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको मन्त्री शर्माको भनाई

देशान्तर


काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताए । आज आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताए ।

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागू गरिएको उनले बताए । मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पारे । भन्सारमा पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैध बाटोबाट वस्तु आयात हुने गरेको मन्त्री शर्माले बताए । उनले अवैध आयात रोक्नका लागि भन्सार विभाग मात्रै नभएर सरकारका सबै निकायले अनुगमन गर्नुपर्ने बताए ।

अर्थ मन्त्री शर्माले भन्सारमा व्यापार सहजीकरण गर्नका लागि नीतिगत व्यवस्थाहरू स्पष्ट नभएकाले स्पष्ट नीति आवश्यक भएको बताए । उनले पछिल्लो समय निर्यातमा केही वृद्धि भएर एक खर्ब ३१ अर्ब रुपैयाँ पुगे पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत पुगेको बताए । अब सरकारले विभिन्न नीति योजनाहरूमार्फत हरेक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सरकारले हरेक वर्ष १० प्रतिशत निर्यात नबढाए देशको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन नसकिने मन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्री शर्माले भने, ‘पछिल्लो समय निर्यातमा केही वृद्धि भएको छ । एक खर्ब ३१ अर्बको निर्यात भए पनि आयातको तुलनामा निर्यात कम छ । हामीले हरेक वर्ष कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत माथि पुर्‍याउन कोसिस गरिहका छौँ । हाम्रो नीति, योजनाहरूमार्फत हरेक वर्ष ५० प्रतिशत नपुग्दासम्म १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता छ । त्यो नगरि हाम्रो व्यापार घाटालाई कम र अर्थतन्त्रलाई सन्तुलन बनाउन सक्दैनौँ । त्यस कारण अहिले अर्थतन्त्रमा व्यापार घाटालाई कसरी सन्तुलन गर्ने भन्ने चुनौती हरेको छ । ’

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन भएको बताए। उनले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्यअनुसार नै राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे ।