देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढी साहित्य महोत्सवका प्रथम घटनाहरू

देशान्तर

प्रत्येक वर्ष धनगढीमा साहित्य महोत्सवको आयोजना गरिन्छ । आख्यानकार रामलाल जोशी नै फोन गर्दथे । यसपालि पनि जोशीजीले फोन गरे । पहिलेपहिले जान सकेको थिइनँ । यसपालि जान मिल्यो । त्यहाँ मेरो खास कार्यक्रम पत्रकार देवेन्द्र भट्टराई सहजकर्ता रहने एक वार्तामा सनत रेग्मीका साथ भाग लिनु थियो । फागुन २१ गतेका दिन वरिष्ठ कथाकार सनत रेग्मी र वरिष्ठ लेखक सृजन लम्साल आदि उतैबाट आउने भएका थिए । नारायण ढकाल, नयनराज पाण्डे, डा. तुलसी भट्टराई उमा सुवेदी, लक्ष्मण गौतमलगायत अन्य धेरै लेखक लेखिकाको राम्रो जमघट थियो । निकै रमाइले भयो । सबै वार्ताहरूको सेसनहरू गहकिला थिए । ज्ञान र अनुभवदायक ।

हाम्रो सेसन आआफ्ना अनुभव सुनाउने थियो । देवेन्द्र प्रश्न गर्दै जान्थे हामी प्रश्न सम्बन्धित अनुभव सुनाउँदै जान्थ्यौं । त्यो क्रममा सनत रेग्मीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आफू सदस्य–सचिव हुँदाको अनुभव सुनाए । उनको भनाइअनुसार त्यसको थालनी सनत रेग्मीसम्बन्धी ‘कान्तिपुर’मा प्रकाशित एक आलेख थियो, जुन देवेन्द्र भट्टराईले लेखेका थिए । धनगढीसँग मेरो धेरै नभए पनि एक, दुई महत्वपूर्ण अनुभव छन् ।
२०२२ सालमा त्रिविमा विद्यार्थी छँदा एकपटक विभिन्न ठाउँको भाषा–सर्वेक्षण गर्न हामी गएका थियौं । हाम्रा प्राध्यापक बालकृष्ण पोखरेल र शम्भुचन्द्र चौधरी थिए । विद्यार्थीमा सहपाठी माधव भट्टराई र म थियौं । एक जना पियन थिए । उसको नाउँ मैले अहिले बिर्सें ।

यो पाँचजनाको टोली, एउटा फर्मेट बनाएर खासगरी पश्चिम नेपालका भाषाहरूको सर्वेक्षणमा निस्केका थियौं । मलाई लाग्दछ, त्यो ‘मीन पचास’ को बिदाको अवधि थियो । शम्भुचन्द्र चौधरीसँग अंग्रेजीमा बोल्नु पर्दथ्यो । तर ती सहज र सरल विद्वान थिए । बालकृष्ण पोखरलेको संयोजन होला म पनि छानिएकाले यस्तो ठानेको हुँ । उनीसित मेरो गुरु–चेला तथा साहित्यिक नाता पनि थियो । मलाई माया गर्दथे । मैले त्यसबखत जीवनको पहिलो लामो विमान–यात्रा गरेको थिएँ । ‘डकोदा’ जहाजमा दाङ, भैरहवा कताकता हुँदै चौथो गन्तव्य धनगढी थियो । त्यस समयपछि यस पटक नै थियो । मैले धनगढीको प्लेन यात्रा गरेको । पहिलो यात्रामा हरेकपटक विमान ल्यान्ड गथ्र्यो, यात्रु ओर्लन्थे, चढ्थे म बसिरहन्थे ।

KTM/SIM/KTM मात्र अहिलेसम्म गरिरहेको मलाई प्रत्येक ल्यान्डिङमा अलिकति भय अवश्य लाग्दथ्यो । हिन्दी फिल्मकार मनोजकुमारको कथन सम्झन्थे । उनी पनि प्लेन चढ्न मन पराउँदैनथे । भन्थे –‘कार हिँड्दा हिँड्दै बिग्रियो भने, यु आर हेयर’ तर प्लेन उड्दा उड्दै बिग्रियो भने ‘यु आर ह्वेर ?’ प्लेन ल्यान्ड गरेपछि होलो लाग्दथ्यो । तर मैले अन्य ठाउँमा उड्दै धनगढी पुग्नु थियो । एयर होस्टेसहरू त थिए पछि पनि हुन्थे तर त्यस बखत एउटा ‘सिवार्ड’ केटो थियो, जोसित पछिका फ्लाइटहरूमा पनि बारम्बार भेट हुन्थ्यो । पछि त काठमाडौंमा बाहिरफेर भेट्दा पनि ‘हाई हेलो’ हुन्थ्यो । धेरै पछि सुने उसको मृत्यु भयो । एयर होस्टेसमा एउटै नाम सम्झन्छु, उनी मीरा न्यौपाने थिइन् । तर पछि उनी रिटायर्ड भइन् क्यार देखिइनन् । मीरा न्यौपाने कहिल्यै बोल्दै नबोले पनि एक स्मार्ट, सहृदयी, पेसागत दायित्व बुझेकी यिनको म अन्तर्वार्ता लिन चाहन्थे । तर त्यो सम्भव भएन । तै पनि त्यो पहिलो सम्बन्ध लामो यात्रा र यी दुई केटा र केटीसँग अन्तर्वार्ता लिन चाहन्थे । दुवै सम्भव भएन । हवाईजहाज म खुब चढ्छु । लामो यात्रा पनि अब त विदेशकै पनि गरिसकेको छु । तर पहिलो लामो यात्रा धनगढीको लाई सम्झिरहेको छु । अब त त्यो धनगढी पनि छैन, त्यो एयरपोर्ट पनि छैन ।

अर्को एउटा कुरा मैले कसैलाई भनेको थिइनँ । मैले त्यस गोष्ठीमा बताएँ । धनगढीको पुरानो एयरपोर्टमा ओर्लंदा उज्यालो थियो । कहाँ बसिन्छ त्यसको पत्तो हाम्रा गुरुहरूलाई हुँदो हो, मलाई थिएन । एउटा पक्की घर थियो । त्यो घर पनि अब छैन होला । मेरो लागि ऐतिहासिक घर पनि हो त्यो ।

क्रमशः साँझ पर्दै गयो । अब त ‘चकमन्नमा एकान्त’ जस्तै वातावरण थियो । त्यस बखतको धनगढीको केहीलाई त सम्झना होला नै । नजिकै जंगल बाघ–भालुसहितका । बिजुली भए पनि त्यो घरमा थिएन । खान–पकाउने सामान अझ जुटिसकेको थिएन । दौडधुप चलिरहेको थियो । पकाउने त उही हाम्रो पियन भाइको जिम्मा थियो । तर सामग्री त जुट्नु प¥यो । म फेरि सधैंको यस्तोमा अनुभवहीन र अल्छी पनि । न मबाट त के हुन्थ्यो । यद्यपि विद्यार्थीहरूले गुरुको सेवा गर्ने हो । माधव भट्टराई चल्तापुर्जा थिए, दुगुर्थे । बालकृष्ण पोखरेलजीलाई मेरो आनीबानी थाहा थियो । त्यसकारण मलाई गुन्टामाथि लम्पसार पर्न छाडिदिएका थिए । पछि विस्तारो मिल्दै गयो । हामीले फकायौं पनि खायौं पनि, गुन्टा ओछ्याएर आरामले सुत्यौं पनि । भोलिदेखि त्यहाँ स्थानीय मानिसका बीच गएर उनका भाषाको सर्वेक्षण सुरु गर्नु थियो । पहिले यस्तै सर्वेक्षण भएको थियो कि थिएन । नभएको भए पहिलो र भएको भए मेरो जीवनको त पहिलो भाषा सर्वेक्षण गर्नु थियो ।

जीवनका धेरै कुरा प्रथम पटक गरिन्छ । पछिपछि पनि गरिन्छ । तर पहिलो पटक भनेको पहिलो पटक नै हुन्छ । त्यो सधैं याद रहन्छ । आफ्नो शिक्षक होस्, पुस्तक होस्, प्रेम होस् वा यात्रा । यो यात्रापछि धेरै यात्रा गरेँ, केहीको सम्झना छ केहीको छैन । एउटा प्रसंग छ ‘बधिया कुखुरा’को । धेरै वर्षअगिदेखि सनत रेग्मी र माउ पन्थी एकेडेमीमा भएदेखि आफैं मै हुँदादेखि पनि सधैं ‘बधिया कुखुरा’ खाने कुरा हुन्थ्यो । मैले कहिल्यै खाएको थिइनँ । भाउ पन्थीले एक पटक महेन्द्रनगर गएको बेलामा खोजे पनि । अन्त्यमा परिणाम आयो, त्यो अब पाइन्न । यदाकदा चाडवाडमा कोही कोहीले काट्छन् । ‘बधिया कुखुरा’ भनेको ‘भ्यासेक्टोमाइज’ भाले हो । जसलाई पाले पोसेर ठूलो बनाइएको हुन्छ । यसपटक धनगढीमा फेरि त्यही कुरा चल्यो । देवेन्द्र भट्टराईले ‘कान्तिपुर’ संवाददातासँग सोधेछन् । ती भाइले भने एक ठाउँमा पाइन्छ ।

हामी त्यसदिन होटेलको खानपिन छाडेर ‘बधिया’ तिर लाग्यौं । एउटा घरमा कहिलेकाहीँ बनाउँदो रहेछ । त्यसपछि हामीले पूरा भाले टन्न खायौं । खल्लो केमा भयो भने सनत रेग्मी पनि उहिलेउहिले त्यो कुखुराको कुरामा उत्साहले भाग लिन्थे । तर त्यसदिन सनले छुँदै छोएनन् ।
धनगढी अनकण्टारकै ठाउँ लाग्दथ्यो त्यसबखत । तर धनगढी म यस कारण सम्झन्छु, त्यहाँ मेरा केही महत्वपूर्ण घटनाहरू प्रथम पटक घटित भएका छन् ।

म लेखकका रूपमा त्यस बखत नगण्य नै थिएँ । एक दुई कथा, एक दुई कविता ‘रूपरेखा’मा प्रकाशित भएको थिए । त्यत्ति हो । त्यस बखत धनगढीमा विद्यार्थीका रूपमा गएको थिएँ । अब यसपटक ‘साहित्य महोत्सव’मा भाग लिन गएको थिएँ ।

म अझैं पहिलो यात्राको पहिलो सम्झनामै अल्झिन चाहन्छु । एउटा ठूलो कोटामा गुन्टा पनि नखोलेर पल्टेको छु । उडानको धकान, साँझ कोही छैन सब बन्दोबस्तमा लागेका छन् । म एक्लै छु, एक्लो अनुभव गर्दै, निधारमा नारी राखेर गुन्टामाथि पल्टेको छmु लखतरान । लाग्दथ्यो, कहीँ कोही छैन । चारैतिर शून्य छ । अँध्यारो छ, उदासी छ, व्यर्थ आएको भन्ने भाव पनि छ । महत्वपूर्ण काम हो हुन त, तर त्यसबखत मलाई महत्व लागिरहेको थिएन । मलाई आज पनि अचम्म लाग्छ, त्यो कस्तो भाव थियो । एउटा एकतमासपन्न भित्र बाहिर, चारैतिर । बिरानोपन आदि आदि केके केके ?

धेरैबेर त्यसरी पल्टेपछि म एक्कासी उठेँ । आफूे लगेको कापी झिक्न थाले । मैले पहिलो पंक्ति वा सायद केही अरू पनि लेखेँ ।
तिनै प्रथम पंक्तिहरू मेरो पहिलो प्रकाशित उपन्यास ‘अन्त्यपछि’ का प्रथम केही पंक्ति थिए । धनगढीमा यो मेरो अर्को प्रथम तर सबैभन्दा अविस्मरणीय घटना थियो ।