देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. भुसाल अध्यक्ष पदमा पुनः निर्विरोध निर्वाचित

देशान्तर

काठमाडौं । नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को फागुन २७ गते सम्पन्न निर्वाचनमा डा. रामचन्द्र भुसाल अध्यक्ष पदमा लगातार तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् । जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषि विज्ञ डा. भुसाल सार्क जाइका अलमनाईहरूको छाता संगठन जाइका अलमनाई एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिवसमेत हुन् ।

जानको उक्त निर्वाचनबाट सम्पूर्ण पदाधिकारी एवं सदस्य पदहरूसमेत निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार उपाध्यक्षमा केदार पौडेल, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा बिभाकालिका मल्ल श्रेष्ठ, सचिवमा डा. किरण रूपाखेती, सहकोषाध्यक्षमा दुर्गाप्रसाद भुसाल र सदस्यहरूमा बुद्धिनारायण श्रेष्ठ, सुशीलकुमार भट्टचन, रोशन बज्राचार्य, गोमादेवी पौडेल, ई. रामेश्वरप्रसाद कलवार र उमा श्रेष्ठ निर्वाचित भएका छन् । डा. भुसाल पिस वइन्ड्स जापानको नेपालस्थित कार्यालयका कृषि विज्ञ, पौडेल राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका उपकार्यकारी निर्देशक, शाक्य नेपाल विद्युत प्राधिकरणकी पूर्व उपकार्यकारी निर्देशक र डा. रूपाखेती राष्ट्रिय योजना आयोगका सहसचिव हुन् ।

त्यस्तै बुद्धिनारायण श्रेष्ठ वरिष्ठ सिमाविद्, भट्टचन जाइका नेपालका प्रमुख सल्लाहकार र अन्य पदाधिकारी एवं सदस्यहरूसमेत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग आबद्ध छन् । हरेक तीन वर्षमा जानको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुने गर्दछ ।

जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनुको साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीप मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना भई सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको छ र यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।