काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोट्र्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ ।
एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । मञ्चको छनोट समितीले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयमा परेका छन् । यस्तै टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका जुनियर नम्बर वान प्रिन्स दाहाल रहेका छन ।
मनोनयनमा पर्न सफल खेलाडीलाई इ–सेवाबाट प्राप्त मत, खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकले मतको आधारमा चैत ८ गते हुने कार्यक्रममा विजेता घोषणा गरिनेछ । समर्थकको मत ५० प्रतिशत रहनेछ भने फेसबुक पेजबाट प्राप्त लाइकको मतभार २५ प्रतिशत हुनेछ । यसैगरी राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै एनएएजेएफ पल्सर स्पोट्र्स अवार्डको १८ औँ संस्करणलाई दशक अवार्डका रूपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ । अरू विधामा दशक अवार्डबाट खेलाडी सम्मान हुने भए पनि पिपल्स च्वाइज विधालाई नियमित अवार्डका रूपमा राखिएको छनोट समितका संयोजक गोविन्द रेग्मीले जानकारी दिए ।
एनएसजेएफले प्रदान गर्ने अवार्डमा पिपल्स च्वाइसबाहेक सर्वोेत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ । दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार जित्नेछन भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
आइतबारकै कार्यक्रममा एनएसजेएफले विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग पिपल्स च्वाइस विधाको भोटिङका लागि प्रायोजन सम्झौता गरेको छ । एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रतिक्रिया