२०३९ को आसपास कुनै दिन शशी शाह भेट भए, कीर्तिपुर त्रिवि परिसरमा उनले भने पदम ठकुराठीलाई चिन्नुहुन्छ ? उनी त तपाईंलाई चिन्छु भन्थे ? तपाईंसित भेट्न चाहन्छन् । मैले भने, अहिले ठम्याउन सकिनँ तर पछि एकदिन पदम ठकुराठी भेटेपछि त चिनिहालें, उनको मेरो त्रिचन्द्र कलेजको भेट हो, २०२४ सालतिर ।
पदम ठकुराठी एक साप्ताहिक अखबार निकाल्न चाहन्थे । त्यो थियो साप्ताहिक मञ्च, साप्ताहिक मञ्च सत्ताको आलाोचना गर्ने फायर ब्रान्ड अखबार भयो । यसमाथि अनेक पनि लाग्यो । यसले अनेक अन्य ठाउँमा निकाल्नु प¥यो ‘विमर्श’ नाउँले पनि निक्ल्यो । यो नाउँमा यो सबैभन्दा बढी चर्चित भयो । त्यस अखबारको थालनीदेखि अवशानसम्मकोे म साक्षी रहेको हुँ । पहिलो अंकदेखि साहित्य विविध स्तम्भमा अनुवन्धित भएको म, पछिसम्म लगातार लेखें । अखबारले नाउँ फेरे पनि यही अखबार देखे, जुन नाउँ फेरे पनि, समूहले गर्दा उस्तै गरी चलिरहन्थ्यो अर्थात लोकप्रियतासहित पदम ठकुराठीले भेट्नुअघि दुई पटक सन्देश पठाइसकेका थिएँ । दुवै पटक शशी शाहमार्फत यसरी शशी शाह त्यस घटनाका सूत्र बनेका थिए ।
शशी शाहसँग एकदम पहिलो परिचय भएको मिति मैले सम्झिन कठिन छ । उनी कहिलेकाहीँ काठमाडौंका सडक–रेस्टुरेन्टहरूमा भेटिन्थे । कहिले एक्लै कहिले उनका कलाकार मित्रहरूका साथ । भेट्नुअघि नै थाहा थियो शशी शाह एक ठूला चित्रकार हुन् । अरूभन्दा फरक पनि । चित्रमा उनको एकप्रिय प्रतीक घोडा हो । त्यसको लागि चर्चा चल्दथ्यो । नेपाली अमूर्त चित्र कलामा उनको अति विशिष्ट योगदान छ ।
व्यक्तिका रूपमा शशी शाहका केही बढी परिचय प्रज्ञा प्रतिष्ठानमा सँगै काम गर्दा पाएँ । उनी कला विभागमा थिए, उत्तम नेपालीका साथ । त्यसबखत एउटै एकेडेमी थियो तर विभिन्न विभाग भने त्यही हुन्थ्यो ।
शशी शाह एक अन्तर्मुखी व्यक्तित्वका मानिस हुन् । कम बोल्छन् । भलाद्मी छन् । शान्त छन् । उनी उग्र भएको मैले कहिल्यै देखिनँ । ‘बैठकी’हरूमा पनि शान्त नै रहन्थे । मैले उनको एउटा प्रदर्शनी पनि हेरेको थिएँ । उनका पेन्टिङहरू अलग किसिमका थिए र प्रभावकारी थिए । एकेडेमीबाट हामी चीन भ्रमणमा गएका थियौं । शाह भ्रमणमा पनि सधैं सहयोगी रहे, हामी दिनभरि घुम्थ्यौं । कार्यक्रमहरूमा तय भएअनुसार जान्थ्यौं भेटघाटमा व्यस्त हुन्थ्यौं । कहिले साहित्यकारहरूसित, कहिले नेताहरूसँग कुरा गर्ने जिम्मा साथीहरूले मलाई नै दिएका थिएँ । लिडर अफ द डेलिभरि पनि मलाई बनाएका थिए । एउटी केटी हाम्री दोभाषे थिइन् । ती त्रिविबाट नेपाली भाषा पढेर गएकी रहिछन् । तिनको चिनियाँ नाउँ के थियो कुन्नि, कीर्तिपुरमै पढ्दा उनको नेपाली नाउँ कुसुम राखिदिएका थिए । तिनै कुसुम हाम्रोमा दोभाषे नियुक्त गरिएको रहेछ । हामी सबै टिमलाई कुसुम नै सम्बोधन गर्दथ्यौं । कुसुम भनेरै चिन्थ्यौ । उनी हँसिली र शिष्ट चिनियाँ केटी थिइन् ।
दिनभरिको कार्यक्रमपछि कुसुम हामीलाई होटेलमा छोडेर जान्थिन्, बेलुकी खानासमेत खाइसकेपछि हामी सारा डेलिगेट मेरो कोठामा जम्मा हुन्थ्यौं, किनभने लिडरका नाताले मलाई एउटा सुट दिइएको थियो । जसमा बेडरुमबाहिर एउटा ठूलो बैठक कोठा पनि थियो । त्यहीँ कोठाको कार्पेटमा औपचारिक गोलो बस्थ्यौं र आधी रातसम्म हाम्रो बैठकी’ चल्थ्यो । त्यसपछि सब आ–आफ्नो डबल बेडका ठूल्ठूला कोठामा जान्थ्यौं । शशी शाह र उत्तम नेपालीको एउटा रुम थियो ।
मलाई दिएको कोठामा बसेर हामी दिनभरिको अनुभव साटासाट गर्दथ्यौं । तिनमा शशी शाह पनि हुन्थे । तर, त्यही पनि उनी कुनै लम्बेतान टिप्पणी कहिल्यै गर्दैनथे ।
म सोच्थे– ‘कस्तो भयो आजको अनुभव उनी भन्थे– ‘राम्रै भयो सबथोक’ यति । कुनै अतिरिक्त टिप्पणी गर्दैनथिए । सदैव स्वभावअनुसार शान्त रहन्थे । त्यति दिनको बसाइमा उनी सधैं सहयोगी रहे । शान्त रहे, कुनै हस्तक्षेप छैन । कुनै गुनासो छैन । त्यस्तै छन्, शशी शाह उनले कहिल्यै कुनै कुरामा प्रश्न उठाएनन् । आज यसो गरौं भन्यो भने, कोहीकोहीको कुनै तर्क पनि हुँदो हो, उनी सधैं भन्थे ‘हुन्छ’ ।
एकदिन हाम्री चिनियाँ कम्युनिस्ट पार्टीका एकदम ठूला नेतासँग भेट्ने अप्वाइन्टेमेन्ट थियो । कुसुम हामीलाई लिन आएकी थिइन् । हामीले सल्लाह ग¥र्यौं, सबैजना दौरा सुरुवाल ढल्काएर जाने, राष्ट्रिय पोसाक हाम्रो त हामी त्यसदिन ठाट्टिएर राष्ट्रिय पोसाकमा ग¥याम–ग¥याम हिँडेका थियौं । त्यसरी हिँडेका नेपाली प्राज्ञ सडकमा चिनियाँहरूको आकर्षणको केन्द्र पनि बनेका थियौं ।
देख्ने प्रत्येक एकछिन टक्क अडिएर हेर्थे, कोहीकोहीले हात पनि हल्लाउँथे हिउँ परेर ढिक्का पग्लिने क्रममा थिएँ । ठाउँठाउँमा जमेका हिउँका दुई चार हात लामो र बग्दाबग्दै जमेका बित्ताभर चौडाइका र एक दुई इन्ची बाक्ला हिउँका खोल्सा देखा पर्दथे जसले थाहा हुन्थ्यो ।
त्यसदिनको कुराकानी पनि निकै महत्वपूर्ण थियो हाम्रा लागि । भेटघाट कार्यक्रममा शशी शाह पनि उपस्थित थिए नै । हाम्रो प्रतिष्ठानका सचिव, कवि हेमन्त श्रेष्ठ पनि थिए ।
बेलुका नियमित हाम्रो ‘बैठकी’मा त्यस भेटबारे हामीले आपसमा कुरा ग¥यौं आफ्नो कोठामा त्यस रात शशी शाहले पनि भेटघाटको सफलतामाथि प्रकाश पार्दै छलफल गरेका थिए । सम्भवत शशी शाहले उत्साहसाथ लामो बोलेको त्यही एक पटक थियो त्यो यात्रामा मलाई सोध्नुहुन्छ भने भन्छु, मैले त त्यसबाहेक उनले बोलेको त्यति लामो न अघि न पछि पनि सुनेको छु ।
शशी शाहको घरमा पनि गएको छु । खानपिन गरियो । उनलाई आफ्नो चित्रकार पनि सोधियो । उत्तम नेपाली पनि थिए । उनले आफ्नो चित्रबारे बोले पनि तर संक्षिप्त हुनाले अहिले सम्झना छैन । त्यो एकदिन शशी शाहसँग, उनका चित्रचित्रका साथ बिताउनु स्मरणीय छ । उनी धेरै बोल्दैनन् । तर उनका चित्र धेरै बोल्छन् । धेरै किसिमले बोल्छन्, पारखी चाहिन्छ ।
अब, त्यो घरमा शशी शाह अझै बस्छन् कि सरिसके ? हुन त त्यो घर पनि कहाँ छ म अहिले भन्न सक्दिनँ । गाइडबिना जान पनि सकिन्न । अचेल शशी शाहसित धेरै भेट हुँदैन । भेट नभएको पनि वर्षाैं भएको छ । तै पनि शशी शाहलाई सम्झें सबैभन्दा पहिले उनका पेन्टिङहरूको सम्झना आउँछ । पेन्टिङको घोडाको अवश्य सम्झना आउँछ, जसलाई कैयौं रूपमा शाहले चित्रित गरेका छन् । एउटा प्रभाव पनि दिन्छन् ती शशी शाहका चित्रित घोडाले मुड भए पनि मुखर बलशाली आदि ।
उनका पेन्टिङको समग्रतामा बेग्लै किसिमको प्रभाव हुन्छ, नेपाली चित्रकलाको इतिहास लेख्दा, त्यसका उन्नायकमा उनको नाउँ अपरिहार्य हुन्छ । किनभने, इतिहासमा उनको ठाउँ उच्च रूपमा सुरक्षित छ । उनको सरलता सौम्यता र प्रतिभालाई पनि म सधैं स्मरण गर्दछु । शशी शाह ती हस्तीमध्ये पर्दछन् जसको कला र व्यक्तित्व दुवै प्रभावित तुल्याउने खालका छन् । मलाई चित्रकलाको धेरै ज्ञान त छैन, तै पनि शशी शाहका चित्रहरू हेर्दा जुन प्रभाव उत्पन्न हुन्छ मेरो मनमा, त्यो सर्वथा अलग्ग छ ।
प्रतिक्रिया