उता रुसले युक्रेनमाथि आक्रमण गर्यो, यता चीनले धम्की दियो– नेपालको संसद्ले अमेरिकाले प्रदान गर्ने एमसीसी परियोजना अनुमोदन गर्यो भने त्यसलाई उसले प्यान्डोराज् बक्स तुल्याइदिनेछ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ताको पछिल्लो वक्तव्यको भाषा र शैली जे भए पनि त्यसको कूटनीतिक अर्थचाहिँ नेपालको संसद्लाई धम्क्याउनु नै हो– खबरदार एमसीसी अनुमोदन गर्न पाइन्न, गर्याैं भने परिणाम भोग्ने छौ ।
के हो प्यान्डोराज् बक्स भनेको ? नेपालको गरिबी तथा पिछडापनको अन्त्यका लागि अमेरिकाले आर्थिक सहयोग प्रदान गर्न सम्झौता गर्दा चीनलाई किन टाउको दुखेको ? युक्रेनमाथि रुसले आक्रमण गरेको कारण पनि यत्ति थियो कि उसले नाटोको सदस्यता लिन खोज्यो । एउटा स्वतन्त्र र सार्वभौम देशले युरोपका सम्पन्न देशहरूको सामरिक संगठन– नाटोको सदस्यता प्राप्त गर्न खोज्दा रुसले जसरी आपत्ति प्रकट गरेर दण्डात्मक कारबाहीस्वरूप आक्रमण गरेको हो, चीनले नेपाललाई पनि त्यस्तै दुष्परिणाम भोग्नु पर्ने चेतावनी दिनु भनेको नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको अपमान गर्नु हो । नेपाल र नेपाली जनता त्यस्तो दुस्साहसको घोर भत्र्सना गर्दछन् ।
रुस युरोप र चीन एसियाका साना तथा कमजोर देशमाथि आफ्नो हैकम लाद्न कति उद्यत् छन् ? युक्रेनले रुसको हेजेमोनीलाई अस्वीकार ग¥यो भन्दैमा उसमाथि साततिरबाट घेरा हालेर आक्रमण गरेजस्तै चीनले पनि एमसीसी स्वीकार गर्ने सम्झौता संसद्ले अनुमोदन गर्न खोज्दा त्यसलाई रोक्न ठाडो आदेश दिनु र अटेर गरे प्यान्डोराज् बक्स तुल्याइदिने धम्की दिनु उस्तै भएको छ । दुःखको कुरा, खै, त्यसको नेपालमा विरोध भएको ? किन त्यस्तो धम्कीको अन्तर्य बुझ्ने चेष्टा कतैबाट हुँदैन ? एमसीसीको सम्झौता अमेरिका र नेपालका बीचमा भएको हो । संसद्को अनुमोदन पनि नेपालको संविधानअनुसार हुन लागेको हो । तर त्यसका आडमा चीनले नेपालमाथि द्वेष, कलह, लोभ, वैमनष्य र शत्रुताको यस्तो स्रोत खुला गरिदिने धम्की दिएको छ, जसमा परेर यो देश आफैं नष्ट हुनेछ । त्यसका लक्षण प्रकट पनि हुनथालिसकेका छन् ।
पाँच दलको गठबन्धन सरकारमा पनि बस्ने र त्यही सरकारले अनुमोदनका लागि संसद्मा दर्ता गरेको प्रस्तावका विरुद्ध मतदान गर्ने निर्णय आफ्नो पार्टीबाट गराउनेजस्ता घोर अनैतिक तथा चरित्रहीन काम गर्न, माओवादी र नेकपा समाजवादीलाई कसले प्रेरित र प्रोत्साहित गरेको रहेछ, भन्नै नपर्ने गरी प्रमाणित भएकै छ । उनीहरूलाई सदन र सडकमा नाङ्गै हिँड्न लगाउने को रहेछ, त्यसलाई पनि कसैले चिनाइरहन नपर्ने भएको छ । सदनमा उनीहरूको भूमिका र नयाँ बानेश्वरको बिजुलीबजारका सडकमा उनीहरूका कार्यकर्ताको अभिनयले उनीहरू कसका लागि राजनीति गरिरहेका रहेछन्, त्यो पनि खुलस्त भएकै छ ।
ग्रीक दन्त्यकथामध्येको एक प्रसिद्ध कथा हो– प्यान्डोराको बाकस । सत्ययुगमा ईश्वरले मानिस जातिको रचना गरिसकेपछि उनीहरूका सुख, समृद्धि र आनन्दको कामना गर्दै त्यसलाई बिथोल्ने दुःखकष्ट, पीडा, द्वेष र कलह इत्यादिलाई एउटा बाकसमा हालेर प्यान्डोरा नामकी एउटी सुन्दरीलाई सुरक्षित राख्ने जिम्मा दिएका थिए । कुनै पनि हालतमा खोल्ने काम नगर्नु भनेको चेतावनी बिर्सेर त्यो बाकसमा के होला भन्ने उत्सुकता थाम्न नसकेकी चञ्चल स्वभावकी प्यान्डोराले त्यसभित्रको रहस्यमय वस्तु अवलोकन गर्न त्यसलाई खोलिछाडिन् ।
खोल्नु के थियो, त्यो बाकसबाट द्वेष, कलह, लोभ, वैमनश्य र शत्रुताको मुस्लो एकसाथ निक्लियो र चारैतिर फैलियो । त्यसै दिनदेखि शान्त र सुखी मानिसहरू अशान्त र ईष्र्यालु मात्र बनेनन्, स्वार्थी पनि भएकाले एकअर्कालाई नष्ट पार्ने दुष्ट भएर व्याप्त हुन थाले । आधुनिक युगका कम्युनिस्टलाई तिनैका सन्तान मानिन्छ । चीनले त्यस कथालाई प्रतीक बनाएको कारण पनि त्यही हो ।
नेपालका दर्जनौं कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता सबैलाई आफ्ना खल्तीका एजेन्ट ठानेर उनीहरूमाथि हैकम चलाउँदै आएको चीनको सरकारले एमसीसीलाई इन्डो–प्यासिफिक रणनीतिको अंग हो भनेर परिभाषित गरेपछि नै नेपालमा त्यसको विरोध हुन थालेको हो । सन् २०११ देखि अहिलेसम्म नेपाल सरकारको नेतृत्व गरेका अथवा गठबन्धन सरकारमा सामेल भएका नेकपा एमाले, माओवादी, जनमोर्चालगायत अहिलेका समाजवादी मात्र होइनन्, सरकारमा नपुगेका नेमकिपा, विप्लव, मोहन वैद्य सबका सबले चीनलाई सन्तुष्ट पार्न नेपाललाई कंगाल तुल्याउने नीति अपनाएका मात्र छैनन्, त्यसैमा समर्पित पनि भएर लागेका छन् । त्यस्तो राष्ट्रघाती तथा अत्यन्त निन्दनीय परमुखापेक्षी दुष्चेष्टालाई उनीहरूले राष्ट्रवादी अडानको नाम दिएका छन् । नेपालका पाखण्डीबाहेक दुनियाँ भरका कम्युनिस्टहरू राष्ट्रवादी हुँदैनन्, त्यसलाई कार्ल माक्र्सले लेखेको कम्युनिस्ट घोषणापत्रले पुष्टि गरेकै छ । त्यसले भन्छ– ‘दुनियाँभरिका मजदुर सबै एक होऊ ।’
या त त्यो घोषणापत्र नै पाखण्ड हो, या चीनको चाकरीमा नेपालको समृद्धिको सपनाको गला घोट्न प्राणप्रणले लागेका कम्युनिस्टहरू पाखण्डी हुन्, त्यो खप्पाउने र छुप्पाउने काम नेपाली जनता जनार्दनको हो ।
बिहान र बेलुका दिनको दुई पटक एमसीसीप्रतिको दृष्टिकोण र निर्णय परिवर्तन गरेर कम्युनिस्टहरू नाङ्गै सडकमा हिँडेको कन्तबिजोग कतिन्जेल हेरिरहने ? अब त देख्नेले पो आँखा छोपेर हिँड्नुपर्ने भइसकेको छ । त्यस्तो घिनलाग्दो दृश्य नहेर्ने हो भने जनताले नै अघि बढेर निर्लज्ज उनीहरूका आङ कपडाले छोपिदिनु पर्ने भइसक्यो । उनीहरू त “एक लज्जा परित्याज्यम् सर्वत्र सुखी भवेत्.” भन्दै बढेका बढ्यै छन् ।
प्रतिक्रिया