देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

देशान्तर

काठमाडौँ-चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरेको जानकारी गराए ।

‘ शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ,’ दिन्सको भनाइ थियो । उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, फिल्मले यही विषयलाई प्रस्तुत गरेको जानकारी गराए ।

फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए । ‘नेपाली सिनेमा हेर्दा सधैँ केही न केही छुटेजस्तो भइरहन्थ्यो । नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’उनले भने, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिन म । तर हामीले एउटा ईंटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौँ ।’