नेपाल र मोरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । खेल अपरान्ह पौने ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । पहिलो खेलमा १–० गोल अन्तरको जित निकालेको नेपाल आज पनि जित निकाल्ने लक्ष्यमा रहेको छ ।
उता मोरिससले पनि दोस्रो खेल जित्दै मैत्रीपूर्ण खेलको सुखद् अन्त्य गर्न नै चाहने छ । पहिलो खेलमा लामोसमयपछि नेपाली टिममा कमब्याक भएका विमल घर्तिमगरले गोल गरेका थिए ।
पहिलो पटक नेपाली भूमीमा अफ्रिकी देशसँग खेलिरहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिसससँगको दोस्रो खेलमा केहि परिवर्तन गर्ने सम्भावना पनि रहेको छ ।
अघिल्लो खेलमा ४–३–३ को फर्मेशनमा उत्रिएको नेपाली टिमले दोस्रो खेलमा पनि यहि शैलीलाई अपनाउने सम्भावना भने रहेको छ ।
साढे दुई बर्षपछि अन्तराष्ट्रिय फुटबल खेलेको मोरिससले पनि नेपालसँगको दोस्रो खेलमा सकारात्मक नतिजाको अपेक्षा गरेको छ ।
आसन्न अफ्रिकी कप अफ नेशन्सको सुरुवाती चरणको छनोटको तयारीमा रहेको मोरिसस आफ्नो पहिलो खेलमा गरेका कमजोरीलाई सुधार्ने लक्ष्यमा हुनेछ ।
मोरिससले पहिलो खेलमा केहि राम्रा मौका सिर्जना गरेपनि गोल भने गर्न सकेको थिएन ।
यता नेपालले पनि पहिलो खेलमा धेरै अवसर पाएको थियो, तर गोलका लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।
नेपालले मोरिसससँगको दोस्रो खेलमा केहि खेलाडी परिवर्तन गर्ने संभावना पनि रहेको छ ।
प्रतिक्रिया