काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ । बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै चाप रहेको तरलता दोस्रो त्रैमासमा भने झन् ठूलो चाप परि नयाँ कर्जा स्वीकृत गर्नै नसक्ने अवस्थामा बैंकहरु पुगेका थिए । तरलता समस्याले निकै विकराल बन्ने संकेत देखिए पछि राष्ट्र बैंकले आयातामा कडाइ गरेको थियो भने सरकारले स्थानीय तहको मौज्दातमा रहेको रकम मध्ये ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने निर्णय गरेको थियो ।
अर्थमन्त्रालयको निर्णय पछि केही सहज भएको तरलता समस्या पुनः बढेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणकर भट्टले अहिले प्रणालीमा १० अर्ब रुपैयाँ मात्रै तरलता रहेको जानकारी दिए । उनका अनुसार अन्तर बैंक ब्याजदर पनि करिब ५ प्रतिशत रहेको छ ।
एक बैंकले अर्को बैंकसँग छोटो समयका लागि निश्चित व्याजदर सापटी लिनदिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तत्कालको समस्या टार्नका लागि राष्ट्र बैंकले दिएको यो सुविधा बैंकहरुले उपयोग गर्ने गरेका छन् । यसको व्याजदर समेत बढेर ५ प्रतिशत नजिक पुगेको छ । स्थानीय तहको मौज्दात मध्ये ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने सुविधाले बैंकहरुलाई केही राहत भएको थियो ।
प्रतिक्रिया