देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्रमा चुनौती देखिएपछि अर्थमन्त्रीले गरे अर्थविद्सँग छलफल

देशान्तर

काठमाडौं-अर्थतन्त्रमा एकपछि अर्को चुनौती देखिन थालेपछि अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्सँग छलफल गरेका छन् । आज काठमाडौंमा भएको छलपलमा अर्थमन्त्री शर्माले विकासमैत्री नीतिको अभाव रहेको अर्थशास्त्रीसँग बताएका छन् ।
‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, उनले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’
उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताए। सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँलयाए ।
छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाएका थिए ।
विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उनीहरुले सुझाब दिए भने कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत विज्ञहरूले दिए ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो। त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो ।