देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नीतिका अभावका कारण ठूला परियोजनामा भूगर्भ विज्ञ छैन्’

देशान्तर

डा. कविराज पौड्याल खनिज तथा भूगर्भ विज्ञ उनी करिब २० वर्षदेखि त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागमा प्राध्यापन तथा चुरे संरक्षणलगायत क्षेत्रमा आबद्ध छन् । दर्जनौं विद्यार्थीलाई खनिज विषयमा विद्यावारिधि गराइसकेको उनीसँगै देशान्तरका सचिन दाहालले प्रविधि र भूगभसँग सम्बन्धित समस्यालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश ।

भूगर्भ कस्तो खालको शास्त्र हो ? यसमा कस्ता विषय समावेश हुन्छन् ?
भू भनेको पृथ्वी हो । गर्भ भनेको पृथ्वीभित्र रहेका वस्तुहरूको अध्ययन गर्ने विज्ञान हो । त्यतिमात्र नभएर पृथ्वीको समग्र अध्ययन नै भूगर्भ हो । पृथ्वीमा बाहिर रहेका पहाड, नदीनाला, झरना, समुद्र, माटो तथा यसमा रहेका चट्टान, खानी हो । यसबाहेक पहिरो भूकम्प, बाढी जाने, जमिन भासिने र योसँग सम्बन्धित पृथ्वीसँग रहेका प्रत्यक्ष र अप्रत्यक्ष वस्तुहरू भूगर्भ शास्त्रभित्र पर्दछन् । यसलाई अंग्रेजीमा जियोलोजी भनिन्छ ।

यसभित्र रहेका महत्वपूर्ण विधा कुन–कुन हुन् ?
महत्वपूर्ण विधामध्ये खनिजसँग सम्बन्धित र खनिजपत्ता लगाउने खनिजमा आधारित उद्योगधन्दा सञ्चालन गर्ने विधा नै महत्वपूर्ण हो । सिमेन्ट बनाउन चाहिने महत्वपूर्ण खनिज चुनढुंगा हो । यसभित्र चुनढुंगा कहाँ पाइन्छ, कस्तो अवस्थामा पाइन्छ, कस्तो प्रकारको चुनढुंगालाई कहाँ प्रयोग गर्ने, महँगा गरगहनामा बनाउने पत्थरहरूका बारेमा अध्ययन गरिन्छ । खनिजको क्षेत्र व्यापक छ । हामीले खाना पकाउने कुकर, स्टिल आइरन, खान चलाउने डाडु, पन्यूँ, खाना पकाउने मेटल प्रयोग गरिएका सामान जसमा ग्यास चुलो, एलपी ग्यास र पाइप, प्लास्टिकसमेत खनिजसँग जोडिएका हुन्छन् । त्यसैगरी इलेक्ट्रिक सामग्रीमा रहेका तामाका तार, कपमा प्रयोग भएको टेरामिक्स (माटो) खनिज नै हो । यस्तै हामीले प्रयोग गर्ने कम्प्युटर २० प्रकारका खनिज मिलेर बन्छन् । कम्प्युटरका चिप्स, पेनड्राइभ, थर्मस पनि खनिजै हो । हामीले बिहानदेखि बेलुकासम्म प्रयोग गर्ने ८५ प्रतिशत वस्तुहरू खनिजजन्य नै हुन् । यी वस्तु खनिजजन्य वस्तुबाटै बनेका हुन्छन् । त्यसैले पनि खनिज महत्वपूर्ण विधा हो ।

खनिजको विज्ञान र प्रविधिसँगकोे भूमिका कस्तो हुन्छ ?
प्रविधि भनेका हाम्रा औजार हुन् । मोबाइल फोनले संसारलाई नजिक बनाएको छ । मोबाइलको ब्याट्री पनि खनिजै हो ।

खनिजको विकास कसरी हुँदै आएको छ ?
खनिजको इतिहास साढे चार लाख वर्ष पुरानो हो । प्राग ऐतिहासिक कालमा सिकार खेल्ने हतियार र प्राचीनकालमा भने गहनाको प्रयोगमा खनिज प्रयोग गरिन थालियो । त्यसपछि पैसा, घर र यातायातका साधन बनाउन खनिजको उत्पादन तथा प्रयोग गर्न थालियो । मध्ययुगमा आएर ऊर्जाका लागि खनिज उत्खनन हुन थाल्यो । अहिले आधुनिक युगमा भने कम्प्युटर, सञ्चार, आणविक ऊर्जा, सैनिकीकरणमा खनिज प्रयोग गर्न थालिएको छ । मानव सभ्यताका महत्वपूर्ण कालखण्डलाई ढुङ्गेयुग, फलामयुग, तामा युग, स्टिल युग र अहिले न्युक्लियर युग चलिरहेको छ । त्यसैगरी मानव सभ्यतालाई पाँच खण्डमा विभाजन गरेर खनिजकै नामबाट मानव सभ्यतालाई नामकरण गरिएको छ । यसले मानव सभ्यतासँग खनिजको कत्तिको सम्बन्ध छ भन्ने पुष्टि गर्दछ । पेन ड्राइभमा शुद्ध ९९ प्रतिशत सिलिका हुन्छ । हामीले दर्शनढुंगालाई ल्याएर त्यसभित्र रहेको वस्तुलाई प्रशोधन गरेर कम्प्युटर र पेनड्राइभका किट, सेमी कन्डक्टर निर्माण गरेका छौं ।

खनिजको महत्व कस्तो छ ?
पृथ्वीनारायण शाहले खानी विकासलाई महत्व दिएका थिए । खानी भएको ठाउँमा गाउँ भए पनि गाउँ अरू नै ठाउँमा सारेर खानी चलाउनु भनेको उपदेश अहिले पनि मननीय छ । त्यतिबेला नै खानीको विकास गर्नुपर्छ भन्ने विषयलाई राजाले महत्वपूर्ण रूपमा लिएका थिए । नेपालमा अहिले गाडीमा लाग्ने वस्तुहरू मात्र पनि नेपाली खानीबाट उत्खनन गर्ने हो भने गाडीको लागत कम पर्छ । विदेशबाट सबै वस्तु आयात गर्नाले हामीलाई महँगो परिरहेको छ ।

हामीले बाहिरी देशबाट खनिज आयात गर्दा महँगो पर्ने भए किन आयात भइरहेको छ ?
यस प्रश्नको जवाफ दिँदा मलाई पनि नराम्रो लागिरहेको छ । हाम्रो देशमा खनिज नभएको पनि होइन । देशभित्र रहेका खनिजलाई विदेशी खनिज शास्त्रीबाट अनुसन्धान पनि भएका छन् । हामीसँग खानी तथा भूगर्भ विभागले पनि यसै क्षेत्रमा काम गरिरहेको छ । विभागको मुख्य काम खानी पत्ता लगाउनु हो । विश्वविद्यालयले पनि खानीसम्बन्धी शोधहरू गराइरहेको छ । नयाँ पुस्ताले खनिजको सूचना लिन सकेनन् । नीति निर्माणमा बस्ने मानिसले पनि खानी विषयमा छलफल चलाउन सकेका छैनन् । महाभारत क्षेत्रमा बाटो विनाश गरी बसाइ सर्ने, कुलकुलेसाहरू निर्माण भयो र सिँचाइ भयो । मानिसले भूमि दोहन गर्न थाले । कुन ठाउँमा के गर्न हुने र के गर्न नहुने भनेर योजना बनेका छन् । संरक्षण विकास समिति हरेकको छ । यसले लामो समयदेखि काम गरिरहेका छन् । हामी भूगर्भ शास्त्रीले पनि बोली रहेका छांैं । हाम्रा अनुसन्धानका कृतिहरू प्रकाशन भइरहेका छन् । यति हुँदाहुँदै पनि दोहन गर्ने कार्य रोकिएको छैन । गिटी, बालुवाको उत्खनन हुने काम भइरहेको छ । त्यसैले चुरेको, नदीनाला, वन, जल, भूमिको संरक्षण गर्नुपर्छ । यसो गरियो भने मात्र हाम्रो खनिजको दोहन हुन पाउँदैन ।

चुरे भित्र के–के पाइन्छ ?
चुरेमा मलिलो माटो, चिसो पानी, वन, जङ्गललगायत वस्तु पाइन्छ । धेरै अग्लो नभएको हुनाले पहाड चढ्न नसक्ने पर्यटकलाई पहाड चढाई अर्थोपार्जन गर्न सकिन्छ । चुरेबाट त्यसको दक्षिणपट्टीको तराईलाई हेरेर आनन्द लिन सकिन्छ । तराईमा धेरै गर्मी हुनाले चुरेमा निस्कनासाथ चिसो अनुभव हुन्छ । चराचुरुङ्गी, जनावरहरूको बासस्थान पनि चुरे हो । चुरेमा धेरै विषय रहेर पनि त्यसको संरक्षण हुन सकेको छैन । जसका कारण पहिरो गएको छ । त्यसैले यस्तो महत्वपूर्ण भूभागको भूसंरक्षण गर्नुपर्ने आजको आवश्यकता छ ।

भू–क्षय न्यूनीकरण कसरी गर्न सकिन्छ ?
भूमिमा कमजोर र बलियो ठाउँ कुन छ भनेर इन्जिनियरिङ नक्सांकन गर्ने चलन छ । सर्वप्रथम भूमिको नक्सा बनाउनुपर्छ । कमजोर रहेको भूभागमा काम गर्दा होसियारका साथ गर्नुपर्छ । सुरुङ निर्माण र राष्ट्रिय गौरवका परियोजना गर्दा जमिनको भारवहन क्षमता रहेको ठाउँ कस्तो छ ? जमिनमा चिरा परेको छ ? यी चिरामा कुन विषय सक्रिय र कुन निष्क्रिय छन् । कहाँ माटोको गहिराइ रहेको छ ? कहाँ बढी भिरालो र भूमिगतभित्र जल छ ? यस्ता विषय पत्ता लगाएर हाम्रा बस्ती विकास परियोजना निर्माण गर्नुपर्छ । के कारणले पहिरो गइरहेको छ ? पानीको कारण हो कि हामीले सडक रोड बनाउँदा डोजर तथा ब्लास्टिङ गरेर पहिरो गएको हो, कारण पत्ता लगाई न्यूनीकरण गर्नु पर्दछ । बाटो बनाउने क्रममा दीर्घकालीन तरिकाले काम गर्न सकिन्छ । हामीले पानीको स्लोप भएको ठाउँमा बाटो निर्माण गर्दा, माटैमाटो भएको ठाउँबाट बाटो निर्माण गर्दा भूक्षय निम्तिने गरेको छ । यस्ता विषयलाई पनि नियन्त्रण गर्नुपर्दछ ।

भूगर्भ भित्र कस्ता विषय रहन्छन् ?
पृथ्वीसँग सम्बन्धित रहेका विकासका खनिज, बाटो निर्माण, पुल, कुलेसो, ठूलाठूला भवन बनाउने, एयरपोर्ट राख्ने, हाइड्रोपावर, ठूलाठूला सुरुङ निर्माणलगायत काममा जमिन योग्य छ वा छैन भनी हेर्ने काम भूगर्भविद्को हो । त्यसैले धेरै काममा भूगर्भविद्को भूमिका रहेको हुन्छ । कतिपय ठाउँमा ज्ञान र नीतिको अभावले ठूलाठूला परियोजनामा पनि भूगर्भविज्ञ रहेका छैनन् । यो नेपालको दुर्भाग्य हो ।

यस्ता महत्वपूर्ण विषयमा किन छायाँमा परेको होला ?
विद्यालय तहमा यससम्बन्धी ज्ञान भएन, युवालाई आकर्षण गर्न सकिएन त्यसैले पनि यो विषय छायाँमा परेको हो । नेपालबाहेक सार्क राष्ट्रका पाठ्यपुस्तकमा भूगर्भसम्बन्धी ३० प्रतिशतसम्म पूर्वाधार विषय राखिएको हुन्छ । नेपालमा हेर्ने हो भने १ दशमलव ५ प्रतिशत पनि छैन । प्रमाणपत्र तहमा भूगर्भको पाठ्यक्रम नै निर्माण गरिएको छैन । अहिले स्नातक तहबाट मात्र अध्ययन भइरहेको छ । यस विषयमा सूचनाको अभाव देखिन्छ । भूकम्प पछाडि भने भूगर्भसम्बन्धी पढ्ने विद्यार्थीको संख्या बढेको छ । त्यसैले ज्ञानको अभावका कारण भूगर्भ विषय छायाँमा परेको हो भन्न सकिन्छ ।

यो विषयलाई विस्तार गर्नका लागि सरकारले के गर्नुपर्छ ?
विदेशमा जस्तो विकास गर्ने ठाउँमा भूगर्भविद्लाई राख्नु पर्दछ । त्यसले स्वतः यस विषयमा आकर्षण बढ्छ । अहिले बढ्ने क्रममै रहेको छ । अझै धेरै ठाउँमा भूगर्भविद्को क्षेत्र निर्माण गर्नुपर्छ । देश अहिले प्रदेशमा गइसकेको हुनाले सबै स्थानीय तहमा भूगर्भ इन्जिनियर राख्नु पर्दछ । यसले दिगो विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ । अहिले हामीलाई दिगो विकास चाहिएको छ । यसलाई पूरा गर्न पनि देशमा भूगर्भविज्ञको स्थान निर्माण गर्नुपर्दछ । भूगर्भविद्को सहयोगमा देश समृद्धि बन्छ ? देशमा निर्माणजन्य सामग्री, गुणस्तरीय बालुवा, गिटी खनिजलगायत रहेका छन् । त्यसलाई प्रयोग गरेर समृद्धि ल्याउन सकिन्छ । जुन भूगर्भविद्को भूमिका रहेको छ ।

भूगर्भ पढ्न आउने नयाँ पुस्तालाई के भन्नु हुन्छ ?
आउनुहोस् स्वागत छ । अमेरिका, क्यानडा, अफ्रिकालगायत देशमा खनिजको विकास होस् वा प्रकोप नियन्त्रणमा भूगर्भविद्को भूमिका महत्वपूर्ण रहेको छ । त्यहाँको विकासमा भूगर्भ विज्ञको महत्वपूर्ण भए जस्तै नेपालमा पनि सरकारले भूगर्भ विज्ञको सल्लाह र सुझाव लिई देशमा समृद्धि ल्याउन सक्नु पर्छ ।