देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कवि प्रेमनाथ घिमिरेको अमर अनुभूति

देशान्तर

उपप्रा. ज्ञाननिष्ठ ज्ञवाली
प्रेमनाथ घिमिरे (जन्म वि.सं.२००४, मदनपोखरा, पाल्पा) ले लामो समयको अध्यापन पेसामा पूर्ण रूपमा सफलता प्राप्त गरी सेवा निवृत्त भएर अमर अनुभूति (२०७८) कवितासंंग्रह प्रकाशन गर्नु भएको छ । सर्वप्रथम उहाँलाई नेपाली कविता साहित्यको इतिहासमा हार्दिक स्वागत छ । उहाँको जीवनवृत्तलाई बुझ्दा उहाँ एक सफल शिक्षक, कुशल अभिभावक र सामाजिक उत्तरदायित्व बोध भएका व्यक्तिका रूपमा चिनिनुहुन्छ भन्ने निचोड निकाल्न सकिन्छ ।

जीवनका विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढ्नुभएका प्रेमनाथजीले आफ्नो घरपरिवार समाजको मात्र नभई सिङ्गो राष्ट्र र विश्वप्रेमको समेत भाव स्पष्ट हुने गरी कविता लेख्नुभएको छ । उहाँको नाम जस्तै उहाँका कवितामा कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता देखिएको छ । कर्मप्रति अनुराग व्यक्त गर्नु भएको छ । सत्चरित्रप्रति उहाँको प्रीति वा प्यार छ । कृपा, दया वा मायाको भावनाले उहाँ आफैं ओतप्रोत हुनुहुन्छ । यिनै कुराहरू कवितामा विभिन्न माध्यमबाट व्यक्त भएको पाइन्छ ।
विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मी मानिन्छ । यस अर्थमा प्रेमनाथ शौभाग्यशाली मानिनुहुन्छ । उहाँले विद्यालक्ष्मी रेग्मीसँग वैवाहिक बन्धनमा बाँधिएपछिको लामो समयक्रममा सन्तानहरू पनि सुयोग्य बनाई सन्तोषको बाटो तय गर्नुभएको पाइन्छ । उहाँकी धर्मपत्नी पनि ३२ वर्ष शिक्षण सेवामा संलग्न भई हाल सेवानिवृत्त हुुनहुन्छ भने छोराछोरीहरू डाक्टर, प्राध्यापक तथा नातिनातिनासमेत डाक्टर भइसकेको देख्दा उहाँको जीवनयात्रा सुखपूर्ण देखिन्छ, यद्यपि कुनै पनि मानिसलाई तापत्रय (आध्यात्मिक, आदिभौतिक र आदिदैविक) बाट मुक्ति भने सम्भव छैन, ज्ञानप्राप्ति नभएसम्म ।
प्रेमनाथ घिमिरेजीका कवितामा गाउँ छ, समाज छ, सहर छ, सिङ्गो राष्ट्र छ, विदेश छ, उहाँमा विभिन्न विषय सन्दर्भलाई कवितामा उन्ने कला छ । आफ्नो जन्मभूमिप्रति मूलतः पाल्पा जिल्लाको मदनपोखरा र माडीप्रति विशेष सम्मान छ । माया, ममता, त्याग र समर्पणको भाव ओतप्रोत भएको छ । प्रजातन्त्रप्रति निष्ठापूर्ण विचार र युवाहरूलाई जुरुक्कै उठाउने सन्देश छ । धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्वप्रतिको आकर्षण तथा सम्झना र मूलतः तिहार पर्वको विशेष भाव अभिव्यञ्जित भएको छ ।
प्रेमनाथ घिमिरेजी देशलाई निकै प्रेम गर्नुहुन्छ । देश विकासको चाहनाले उहाँलाई चुर्लुम्म डुबाएको छ । गरिब, निमुखा, गाउँले र पिछडिएका वर्गप्रति उहाँको विशेष सद्भाव छ । हत्याहिंसासहितको बलि प्रथाप्रति विरोधपूर्ण अभिव्यक्ति छ । कवितामा मूलतः भाग्यमा भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नुपर्ने कर्मवादी सन्देश व्यक्त भएको पाइन्छ । नारीहरूप्रति सम्मान, सद्भाव र उच्च दृष्टि छ । असल पतिपत्नीबाटै सभ्य र शिष्ट परिवार बन्ने धारणा छ । बुहार्तनका सन्दर्भहरू प्रस्तुत गर्दै सासूबुहारीको मेलमिलापप्रति विशेष रुचि देखाइएको छ ।
प्रेमनाथजीले आफ्ना पितापुर्खाप्रति विशेष आदर र कृतज्ञतापूर्ण श्रद्धाभाव व्यक्त गर्नुभएको छ । सभ्य, शिष्ट र समतामूलक समाजको चाहना यसरी व्यक्त गरिएको छ :

सत्कर्म संस्कार जगै बसालौँ
फेरौँ कुसंस्कार सबै हटाऔँ
हाँसी खुसी भैकन बाँच्न जानौँ
हामी मिली सभ्य समाज पारौँ

विद्यार्थी वा जिज्ञासुहरूका लागि विशेष प्रकारका सल्लाहहरू दिइएको छ । श्रमजीवीवर्गप्रति विशेष सम्मान छ । शान्तिको तीव्र चाहना छ । सुखसँग बाँचेर हाँस्ने रहर छ । साहित्यिक संस्थाप्रति विशेष आदर र सद्भाव छ ।
कवि प्रेमनाथजीले बन्दुकलाई हटाएर किताबलाई प्रेम गर्नुपर्ने सन्देश दिनु भएको छ । बन्दुकले अन्याय मच्चाए पनि अन्त्यमा घुँडा टेक्नुपर्ने निचोड कवितामा छ । भन्ने र कार्य गर्ने विरोधाभासपूर्ण प्रवृत्तिप्रति यसरी व्यङ्ग्य
गरिएको छ :
श्रोता ती सुन्ने भनी शान्त बस्छन्
वक्ता प्रसंगै विना ज्ञान छर्छन्
बेला अबेला पनि होस छैन
छोटो मीठो भाषण त्यो हुँदैन

अमर अनुभूति कवितासंग्रहका केही कवितामा कवि प्रेमनाथ घिमिरेजीको मन दुःखेको छ । मुटु जलेको
छ । शोषक, सामन्ती, गरिबमारा, गरिबका नाममा लुट्ने लुटेरा र गरिबको नाम भजाएर आफू सम्पन्न हुने सामन्ती संस्कारप्रति आगोको ज्वाला दन्काइएको छ । शक्तिशालीले शक्तिहीनलाई दबाउने प्रवृत्तिप्रति कडा प्रतिवाद छ । शासक, सत्ता र सामन्तीलाई औँला ठड्याई सचेत र खबरदारी गरिएको छ ।
कवि प्रेमनाथजीले वीर सहिदप्रति उच्च सम्मान र प्रेमपूर्ण सम्झना गर्नुभएको छ । आफूले पढाएका स्कुलहरूप्रति सहृदयी सम्झना व्यक्त गर्दै बिदाइ हुँदाको भावपूर्ण अभिव्यक्ति प्रस्तुत भएको छ । अन्तिम कवितामा जस्तोसुकै अप्ठ्यारो परिस्थिति आइपरे पनि अन्याय र अत्याचारसँग लड्दै कविता लेखिरहने वाचा यसरी गरिएको छ, जुन आगामी समयमा अझ सशक्त कविताप्रतिको प्रेमपूर्ण अनुराग पनि मान्न सकिन्छ । कविताको अंश यसप्रकार
छ ।
नेपाल शान्तिकै क्षेत्र भइरहोस् भन्न छाड्दिनँ
सत्ताकै स्वार्थका निम्ति यो युद्ध हेर्न सक्दिनँ
कठोर यातना भोगूँ न्यायकै पक्ष छोड्दिनँ
यो आफ्नै ढङ्गको छन्द कविता लेख्न छोड्दिनँ

बत्तीसपुतली, काठमाडौं