देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिमा लोकतान्त्रिक संस्कृति

देशान्तर

राजनीतिमा विभिन्न थरी विचारधारा र सिद्धान्तहरू छन् । निरंकुश, निर्दलीय, सैनिक या धार्मिक तानाशाही, कम्युनिजमलगायतका शासन व्यवस्थाका बेग्लाबेग्लै चरित्र हुने गर्दछन् । तर सबैभन्दा पृथक्, मौलिक र उदार विचारधारा लोकतान्त्रिक विचारधारा हो । यसको तुलना अरूसँग हुन सक्तैन । त्यसैले यो विचार वा सिद्धान्त विश्वभरि नैं लोकप्रिय छ ।

एकपटक दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई पत्रकारले सोधेछन्– ‘नेताजी, तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?’ उनले सहजै जवाफ दिएछन् ‘मेरो दिमागमा हरदम मसँग असहमति राख्नेहरूको चेहरा र उनीहरूको विचार नाचिरहन्छ र सोच्छु, यिनीहरूलाई के गरेर सहमत गराउने, सम्झाएर बुझाएर या उनिहरूका कुरा मानेर ।’ यसलाई सायद उच्च राजनीतिक संस्कार र चरित्र मानिन्छ । सबै नेता मण्डेला बन्न सक्दैनन् तर राजनीतिमा सक्रिय व्यक्ति अझ लोकतान्त्रिक राजनीतिमा विश्वास राख्ने व्यक्तिमा मण्डेलाको केही अंश हुनैपर्छ । तर विडम्बना नैं मान्नुपर्छ नेपालको राजनीतिमा यस्तो चिज खोजेर पनि पाइन छाडेको छ । व्यक्तिगत महत्वाकांक्षा, संकीर्णता, सत्तालोलुप प्रवृत्ति र अवसरवादको अधिकतम अभ्यास हुने समाजको रूपमा नेपाली समाज चिनिन थालेको छ । सहअस्तित्वमा विश्वास र सहकारी भावना बिलुप्प हुँदै जान थालेको छ । यसले समाजमा द्वन्द्व बढाएको छ, अराजकता र तनाव थपिदिएको छ । यस बाटोले नेपाली समाजलाई कुन दिशातर्फ अग्रसर गराउँछ भन्ने चिन्तासमेत बढेको छ ।

नेपालको राजनीतिमा नेपाली कांग्रेस सर्वाधिक पुरानो लोकतान्त्रिक पार्टी हो । यसले अंगीकार गरेको दर्शन, सिद्धान्त र विचारले आजसम्म नेपाली समाजलाई डो¥याएको छ । त्यतिमात्र होइन, बारम्बारका राजनीतिक संंघर्षहरूमा नेतृत्व प्रदान गरेको छ । भिन्न दर्शन तथा सिद्धान्तमा विश्वास गर्ने समूह वा राजनीतिक दलहरू समेतलाई साथ लिएर ठूलठूला परिवर्तनहरू सम्भव तुल्याएको छ । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसमेत स्थापना गरेको छ । यो चानचुने सफलता होइन । यस ऐतिहासिक कार्यमा नेतृत्व प्रदान गर्ने जननायक बीपी कोइरालालगायत हाम्रा आदरणीय नेताहरू सम्मानित तथा प्रातः स्मरणीय हुनुहुन्छ । उहाँहरूमा संकल्प, दृढ इच्छाशक्ति र कसिलो एकता नभएको भए यति धेरै परिवर्तन सम्भव नैं थिएन । उहाँहरूको कार्ययोजना, संंगठन र संंघर्षले नैं राजनीतिक गन्तव्य भेट्टाएको हो । यसमा एउटा प्रश्न सँगसँगै जोडिएर आउने हुनाले अब त्यस विषयमा थोरै चर्चा गरौंं ।

ठूलो संंघर्षको परिणामस्वरूप स्थापना र पुनस्र्थापना भएको राजनीतिक प्रणाली नैं हाम्रो गन्तव्य हो त ? कि नेपाली जनताको जीवनलाई सुखद बनाउँदै नेपालको भौतिक विकास गरी राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई चुल्याउनु हाम्रो गन्तव्य हो ? आज गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ । के हामीले स्थापना गरेको राजनीतिक प्रणाली सुरक्षित भइसक्यो ? नेपालले अन्तर्राष्ट्रिय स्तरको पर्याप्त भौतिक विकास गरिसक्यो ? नेपाली जनताको जीवनमा समृद्धि आइसक्यो ? के नेपालको प्रतिष्ठा चुलिइसक्यो ? यी प्रश्नहरूको सकारात्मक उत्तर हामीसँग छैन । नेपालका कम्युनिस्ट पार्टीहरू वर्तमान राजनीतिक प्रणालीमार्फत अर्थात् यसैलाई माध्यम बनाएर आफ्नो गन्तव्यमा पुग्न खोजिरहेका छन् । राजाको स्थान खोजिरहेको शक्ति क्रियाशील छ । यसको अर्थ मौजुदा प्रणाली सुरक्षित छैन । र अर्को कुरा नेपाली कांंग्रेसले आफ्नो संंगठनलाई जरैदेखि मजबुत बनाउनैं बाँकी छ ।

स्थानीय चुनाव निकट भविष्यमा छ । र आमचुनाव आउँदैछ । यस्तो घडीमा पार्टीभित्र एकता चाहिन्छ कि चाहिँदैन ?अनि एकता कस्को पहलकदमीबाट हुन्छ ? जित्नेको कि हार्ने को ? चौधौंं महाधिवेशनको परिणाम जसरी र जस्तो आयो यसमा लामो बहस गर्न सकिए पनि परिणाममा कसैले प्रश्न उठाएको छैन । तर महाधिवेशनको परिणामपछि पार्टीको मूल नेता हिँड्न खोजेको बाटो ठिक छ त ? आज गम्भीर प्रश्न उठेको छ । चौधौं महाधिवेशन पछि पनि पुरानै नेतृत्वले निरन्तरता पाएकाले के अब पार्टीको कार्यशैली फेरिँदैन त ? पार्टीका आम साथीहरूको चाहना र राष्ट्रको आवश्यकता मुताविक पार्टीमा रूपान्तरण हुँदैन त ? हाम्रा अगाडि यस्ता अनगिन्ती प्रश्नहरूको ठूलो चाङ खडा भएको छ । यसले समुचित उत्तर खोजेको छ ।

कांंग्रेसलाई चौधौं महाधिवेशनपछि दह्रोसँग उभ्याउने संकल्पलाई सार्थक बनाउन आजैबाट क्रियाशीलता बढाउनुपर्ने आवश्यकता छ । पार्टीलाई उभ्याएर मात्र नपुग्ने अवस्था छ । गत आमचुनावबाट थला परेको पार्टीलाई राम्रोसँग हिँडाउनु छ र अझ दौडाउनु छ । नत्र राजनीति जितिँदैन । पार्टीको महाधिवेशनमा नेताहरूले आफ्नो पक्षमा नतिजा निकालेर मात्र पुग्दैन । स्थानीय र आमचुनावमा पार्टीको पक्षमा नतिजा कसरी निकाल्ने, आजैबाट गृहकार्य थाल्नुपर्छ । यो विषय सोच्ने बेलामा महाधिवेशनमा झन्डै आधा मत ल्याउने समूहलाई निस्तेज पारेर पुगिन्छ कहाँ ? लोकतन्त्रले असहमतलाई पनि आफूसँगै राख्ने र सँगसँगै हिँडाउने कार्यदिशा अंगाल्न सकेन भने त्यो लोकतन्त्र नैं रहँदैन ।

संंसद्मा चाहिँ भिन्न सिद्धान्त भएका दलहरूसँग सहकार्य गरेर अघि बढेको पार्टीले आफ्नो दलभित्र एकता कायम गर्न सकेन भने आमचुनावको सामना कसरी गर्छ ? घरझगडा कायम राखेर विपक्षीसँग कुन शक्तिले लड्ने ? तसर्थ कांंग्रेस सभापतिले यतिबेला आफ्ना भनिएका वा ठानिएकाहरूबाट घेरिएर होइन, एक्लै बसेर सोच्नु पर्छ । पार्टीभित्र र बाहिर कुनैं कदम चाल्दा वा निर्णय लिँदा १० पटक सोच्नु पर्छ । पार्टीको मूल नेता सबै सदस्यहरूको अभिभावक पनि हो, संरक्षक र मार्गदर्शक पनि हो । उसले लिने निर्णय सबै साथीहरूका निम्ति उत्साहजनक हुनुपर्छ । अन्यथा पार्टीको हित हुँदैन ।

चौधौं महाधिवेशनपछिको सुरुआतले नकारात्मक सन्देश दिएको छ । यसलाई तुरुन्तै सच्याएर अघि बढ्ने अग्रसरता सभापतिले लिनु पर्दछ । आफ्ना सबै प्रतिस्पर्धीहरूलाई सँगै राख्ने सभापतिले मूल प्रतिस्पर्धीलाई किनारामा धकेल्नुपर्ने कारण के हो बुझ्न सकिएन । यस्तो चरम गुटगत मानसिकताले पार्टी चल्दैन । लोकतन्त्रमा आफूलाई मत नहाल्ने नागरिकलाई समेत राज्यले विभेद गर्दैन भन्ने कुरा बेलायत बसेर आउनु भएका सभापतिलाई भन्दा अरूलाई बढी थाहा हुने कुरा भएन । तसर्थ पार्टीमा द्वन्द्व गहिरिन नदिने हो भने बेलैमा ध्यान पु¥याउन आवश्यक छ । यसमा पनि फेरि मण्डेलाकै भनाइ स्मरण गर्नुपर्ने हुन्छ, उनी भन्छन् ‘चुनाव जित्ने व्यक्तिसँग हार्ने व्यक्तिलाई अपहेलना गर्ने अधिकार हुँदैन भने हार्ने व्यक्तिसँग जित्ने व्यक्तिलाई असहयोग गर्ने सुविधा हुँदैन । यसमा पहिलो हात जित्ने व्यक्तिले नैं बढाउनुपर्छ र यो हेक्का राख्नुपर्छ कि अपहेलना भयो भने असहयोगको ढोका खुल्छ ।’ तसर्थ बल सभापतिको कोर्टमा छ, समयले दर्शाउँदै लानेछ । हरेक सकारात्मक कदम या पाइलाले सुखद परिणाम ल्याउनेछ ।