काठमाडौंं । नारायणहिटी राजदरबारको जग्गामा बतास समूहले बनाउँदै गरेको रेस्टुराँ भत्काएर तथा बतास समूहले नै सञ्चालन गरिरहेको पशुपतिस्थित धर्मशालाको सम्झौता खारेज गरेर सञ्चार माध्यममा छाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको भित्री र बाहिरी व्यवहारबीच भने आकाश जमिनको फरक पाइएको छ । सार्वजनिक खपतका लागि चर्चामा आउन केही गरे जस्तो गर्ने र भित्रभित्रै अन्य व्यापारिक समूहसँग साँठगाँठ गरी कमिसन लिने गरेको घटना सार्वजनिक हुन थालेपछि मन्त्री आले चर्चामा आउन बाहिर एउटा भन्छन् र भित्र अर्कै धन्दा गर्छन् भने देखिन थालेको छ । आलेले नियम र कानुनको समेत बेवास्ता गर्दै आफूखुसी निर्णय गर्ने तथा गर्न लगाउने गर्न थालेपछि मन्त्रालय भित्रै उनको आलोचना भएको छ । एक व्यवसायीलाई ठाडो आदेशमा लुम्बिनी परिसरभित्र रिसोर्ट खोल्न अनुमति दिनु र एकपछि अर्को गर्दै क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेसँगै उनको कर्तुत बाहिरिन थालको हो ।
आलेको पोल कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’को चार बिघा खाली जग्गा बिना प्रतिस्पर्धा व्यवसायी सुरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीलाई दिने भनेपछि खुलेको थियो । ‘सम्सारा वेलनेस रिसोर्ट’ का तर्फबाट सभाना वैद्य बस्न्यातले राखेको प्रस्तावका आधारमा आलेको अध्यक्षतामा गत मंंसिर ११ मा बसेको कोषको बैठकले सम्सारासँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको थियो । कोषका एक सदस्यका अनुसार बैठकमा मन्त्री आले आफैंंले एजेन्डा ल्याएर निर्णयसमेत सुनाएका थिए । उनका अनुसार त्यतिबेला अनौपचारिक बैठक भनेर सीमित पदाधिकारीलाई मात्र बोलाई उपस्थित नभएकालाई पछि बोलाएर सही गराएर बैठकलाई औपचारिक बनाइएको थियो । यस विषयमा कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले असन्तुष्टि जनाएपछि मन्त्री आलेसँग विवाद भएको थियो ।
यसैगरी कात्तिक १४ मा भैरहवामा राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा आफ्नो सम्मान नगरेको भन्दै मन्त्री आलेले उपाध्यक्ष त्रिपाठी र सदस्यसचिव शाक्यको राजीनामा सार्वजनिक रूपमै मागेका थिए ।
मन्त्री आलेले मन्त्रालय सम्हालेपछि पाँच वटा क्यासिनोलाई लाइसेन्स दिइसकेका छन् । यसअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ रहेकोमा अहिले २२ पुगिसकेको छ । पर्यटन विभागका अनुसार चालू आर्थिक वर्षमा जारी भएका ६ मध्ये ५ वटा क्यसिनोले आले मन्त्री भएपछि नै लाइसेन्स लिएका हुन् ।
गत २२ असोजमा पर्यटनमन्त्री नियुक्त भएका उनले धमाधम लाइसेन्स बाँडिरहेका छन् । सहजै लाइसेन्स पाइन थालेपछि क्यासिनोको लाइसेन्स लिने दाउमा रहेकाहरूको चलखेल बढेको छ । केही हप्ताभित्रै अन्य केही क्यासिनोले पनि लाइसेन्स पाउन क्रममा रहेको मन्त्रालय स्रोतको दाबी छ । मापदण्ड पूरा नभएका क्यासिनोलाई समेत लाइसेन्स दिएपछि भित्रभित्रै कमिसनको खेल भएको मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।
क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ । नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले गुपचुप रूपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेका छन् ।
मन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिएका छन् । यो गुन्डानाइके बलराम सापकोटा ‘बले’ को लगानी रहेको क्यासिनो हो । १९ असोज, २०७७ मा सम्पत्ति शुद्धीकरण विभागले गुन्डानाइके सापकोटा र उनकी श्रीमतीविरुद्ध १९ करोड ५५ लाखबराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । जुन अझै विशेष अदालतमा विचाराधीन छ ।
काभ्रेको रोशी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेसँग पञ्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको स्रोत नखुलेको सेयर लगानी भेटिएको दाबी गर्दै विभागले जफतको लागि अदालतमा माग दाबी पेस गरेको छ । तर मुद्दा टुंगो नलाग्दैै बलेको लगानीमा रहेको क्यासिनोलाई मन्त्री आलेले इजाजतपत्र दिएका हुन् ।
मन्त्री आलेले नेपालगन्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका छन् । उनले करिब २ महिनाको अवधिमा १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गरेका हुन् ।
गत ९ कात्तिकमा मन्त्रालयले नेपालगन्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगन्जमा लाइसेन्स जारी भएको छ ।
गत १२ कात्तिक २०७८ मा फेरि नेपालगन्जकै होटल स्टार लाइटको भेन्यु रिक्रिएसनले पनि लाइसेन्स पाएको छ । १४ पुस २०७८ मा नेपालगन्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टले पनि क्यासिनोको अनुमतिपत्र पायो । १६ पुस २०७८ मा नेपालगन्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पायो । मन्त्रालयले काठमाडौंंको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । जथाभवी इजाजतपत्र बाँड्न थालेपछि भविष्यमा रोयल्टी नउठ्ने समस्या झन् बढ्ने विभागका अधिकारीहरूको चिन्ता छ ।
अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरे पनि सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर चलिरहेका छन् । दुई वटा क्यासिनो बन्द भइसकेका छन् । मन्त्री आलेको विगत पृष्ठभूमि हेर्दा राजनीतिमा नामभन्दा बद्नाम कमाएका व्यक्ति हुन् । मन्त्री आले नेपाली कांंग्रेसबाट राजनीतिक यात्रा सुरु गरी तत्कालीन गाउँपालिकाको अध्यक्षमा टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए । काठ तस्करीको मुद्दासमेत खेपेका मन्त्री आले वनमन्त्री हुँदा अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँस्ने र रूखले कार्वनडाइअक्साइड दिन्छ भनेर भाषण गरेर चर्चामा आएका थिए ।
वनमन्त्री हुँदा कार्यक्षमता अभाव देखिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ६ महिनामै मन्त्रीबाट हटाएका थिए । अवसर हत्याउन पल्केका मन्त्री आले ओलीले मन्त्रीबाट हटाएको रिसमा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे र मन्त्री बनेका हुन् ।
प्रतिक्रिया