देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

देशान्तर

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि विभागीय क्लब एपीएफ र मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुँदैछन् ।

पोखरा रंगशालामा फाइनल खेल दिउँसो साढे २ बजेदेखि शुरु हुने छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ ।

आजको फाइनल जित्दै मनाङ सातौँ पटक उपाधिको खोजीमा रहेको छ भने एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ । २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि भने उचाल्न सकेको छैन ।

फाइनल खेलअघि शुक्रबार आयोजना गरिएको ‘फ्रिम्याच कन्फ्रेन्स’ मा टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दाबी गरे । मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताए।

एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताए। मनाङका टिम कप्तान विमल रानाले दबाब रहित खेल्दै उपाधि जित्ने गरी खेल्ने बताए। टोलीका महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीमा रहेकाले पनि नयाँ र पुराना खेलाडीबीच टिम सेट अघिल्ला खेलमा कठिन भए पनि फाइनलमा राम्रो खेल्ने उहाँले बताए।

एपीएफका कप्तान नविन लामाले टोलीले हरेक खेल राम्रो गर्दै गएकाले फाइनलमा पनि यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने उल्लेख गरे । यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।