रुसले आउँदो महिना फेब्रुअरी मा युक्रेनमाथि सैन्य आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनमा रुसले आउँदो महिना आक्रमण गर्न सक्ने चेतावनी बाइडेनले दिएको बताएको हो ।
यसैबीच रुसले तनाव समाधान हुने सम्भावना निकै कम रहेको बताएको छ । अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसले बताएको हो ।
रुसले सैन्य गठबन्धन नेटोमा युक्रेनको प्रवेश बन्देज गरिनु पर्ने माग गरेको थियो, तर अमेरिकाले भने सो माग स्पष्ट रुपमा अस्वीकार गरेको छ ।
रुसले पछिल्लो केही हप्तामा युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ ।
अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा रुसले आउँदो महिना आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन् ।
टेलिफोन वार्ताको क्रममा बाइडेनले रुसले आक्रमण गरेको खण्डमा अमेरिकासहित साझेदार राष्ट्रहरुको साथ युक्रेनलाई रहने भनी जेलेन्स्कीलाई विश्वास समेत दिलाएको ह्वाइट हाउसले जनाएको छ ।
प्रतिक्रिया