देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरान विश्वकपका लागि छनोट

देशान्तर

काठमाडौं । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप–२०२२ का लागि छनोट भएको छ ।

कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो ।

तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए ।

यसअघि प्रशिक्षकसँगको विवादका कारण तारेमीलाई टिमबाट खेल्न दिइएको थिएन । तर प्रशिक्षक ड्राग स्कोकिचले इराकविरुद्धको खेलमा उनलाई मैदान उतारेका थिए ।

इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएको इरान न्युज एजेन्सीले जनाएको छ ।

तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

यसै समूहको अर्को खेलमा लेवनानलाई १–० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ ।

यस्तै सिरियालाई २–० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ । यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४–० र जापानले चीनलाई २–० ले हरायो ।

जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

आगामी नोभेम्बर–डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित १४ राष्ट्र छनोट भइसकेका छन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १३ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेका हुन् । अब १८ राष्ट्र छनोट हुन बाँकी छ ।