काठमाडौं । टंक तिमिल्सिना र रेखा जोशीको गीत ‘लैलै देउडा’बाट अभिनयमा डेब्यु गरेका अभिषेक खड्कालाई मोडलिङ फापेको छ । अहिले उनी एकपछि अर्को म्युजिक भिडियोमा काम गर्दै आएका छन् ।
अछामको सा“फेबगरमा जन्मे, हुर्केका अभिषेक काठमाडौं अध्ययनका लागि आएका हुन् । २०६७ सालमा एसएलसी पास गरेपछि काठमाडौं आएर इन्जिनियरिङ अध्ययन गर्न थाले । उनले ब्याचलर अफ इन्जिनियरिङ गरिसकेका छन् । अहिले अध्ययन एकातिर, पेसा अर्कोतिर भइरहेको छ । सन् २०१९ मा मिस्टर हेन्सम नेपालको उपाधि जितेका अभिषेकले आधा दर्जन व्यापारिक विज्ञापनमा काम गरेका छन् भने दुई दर्जनभन्दा बढी लोक र आधुनिक विधाको गीतमा अभिनय तथा नृत्य गरेका छन् ।
मोडलिङमै भविष्य देख्न थालेका अभिषेकले ‘राजकुमारी’, ‘सानुको अँगालो’, ‘मैना’, ‘यत्तिकोले चल्छ’, ‘आउ“दैछु गाउ“तिर’,‘कलकत्ते काइ“यो’, ‘१६ वर्षे उमेर’, ‘सल्लाधारीमा’, ‘गोधूलि साँझ–२’, ‘च्वा“स्स यो मन’मा उनको दर्शक श्रोताले मन पराएका गीत हुन् । उनले ‘छोडी जाने निष्ठुरीको’, ‘फेरि याद आयो’ लगायतका आधुनिक गीतमा अभिनय गरेका छन् । उनले ईसेवा, एनसेल, भायोनेटलगायतका व्यापारिक सेवाको प्रमोसनमा पनि अभिषेकलाई खोज्न थालिएको छ ।
गोरो वर्ण, हँसिलो मुद्रा, मन्द मुस्कान र अग्लो कदका अभिषेक मोडलिङबाटै टिकिरहेका छन् । उनै मोडल अभिषेक खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :
कस्तो छ संगीतको यात्रा ?
रमाइलो ! गज्जब छ । हरेक काममा नयाँ नयाँ कुरा सिक्दैछु । आफू खार्दै अघि बढेको छु ।
तपाईको डेब्यू गीत कुन हो ?
मैले सुदूरपश्चिमी लवजकै गीत ‘लैलै देउडा’बाट गरेको हुँ । त्यो गीत टंक तिमिल्सिना र रेखा जोशीको थियो । त्यहाँबाट सुरु भएको अभिनय यात्राले गत तीजमा लोकदोहोरी गायक खुमन अधिकारीसँग भेटेपछि गति लियो । त्यसपछि व्यस्तता बढेको छ ।
त्यो क्षण सम्झनुस् त, डेब्युको समयलाई ?
म एकदम खुसी थिएँ । मोडलिङमा डेब्यु गर्दा नै आफ्ना लोक संस्कृतिबाट गर्न पाएको थिएँ । म जुन क्षेत्रबाट माथि उठें । त्यही क्षेत्रको कला संस्कृतिलाई सपोर्ट गरिन् भने मलाई पाप पनि लाग्छ । संंयोगवश डेब्यु अफर नै देउडाबाट गरें । यस अर्थमा पनि आफैँले आफैँलाई भाग्यमानी ठान्छु ।
तपाईंलाई कहिल्यै लागेको थियो कि, मोडलिङमा यति व्यस्त हुन्छु भन्ने ?
सानै देखि देउडा र लोकदोहोरीसँगै हुर्केको व्यक्ति हुँ । म विद्यालय तहमा पढ्दै गर्दा विभिन्न उत्पादनको प्रमोसनका लागि विभिन्न मोडलको फोटोसहितको होडिङ बोर्ड टाँसिन्थ्यो । त्योबेला देखि नै मलाई पनि भोलि म पनि यस्तै बन्छु भन्ने लाग्थ्यो । गाउँमै बुनेको सपना पूरा गर्ने बाटोमा अहिले छु । अहिले केही व्यापारिक विज्ञापनमा आफूलाई प्रस्तुत गर्न पाएको छु । साथीभाइले फोटो खिचेर पठाउँछन् । अहिले आफैँले आफैँलाई गर्व गर्ने ठाउँमा पुगेको छ ।
अर्को घटना पनि छ, कक्षा ६ मा पढ्दै गर्दा खुमन अधिकारीको स्याङ्जाली–झापाली दोहोरी गीत निकै चलेको थियो । त्यो बेला प्रिन्सिपलले सिडी डेस्टप कम्प्युटरमा राखेर भिडियो देखाउनु भएको थियो । त्यस समयमा मेरो मनमा सिनियर कलाकारको संगतमा कहिले पुग्ने होला भन्ने भएको थियो । अहिले गएको तीजदेखि उनै गायक खुमन अधिकारीसँग जोडिने अवसर मिल्यो । उहाँले मलाई अघि बढाउन गरेको सहयोगले म निकै खुसी छु । तीजको गीतमा नाचेपछि एकपछि अर्को भिडियोको अफर पनि आइरहेको छ । काममै व्यस्त छु । सँगत नहुँदा चलेका कलाकार घमण्डी हुन्छन् होला सोच्छे तर त्यस्तो रहेनछ । खुमन दाइको व्यवहारले कलाकारलाई दिने सम्मान भाव अझ बढेर आएको छ ।
तपाई मिस्टर हेन्सम नेपालको प्रतियोगितामा कसरी पुग्नु भो ?
एउटा ब्युटिपार्लरमा मेरो दिदी गइराख्नुहुन्थ्यो । त्यहाँ दिदीले प्रतियोगिता हुँदै छ भन्ने थाहा पाउनु भएछ । उहाँले मलाई प्रस्ताव राख्नु भयो । त्यो बेला मेरो परीक्षा चलिरहेको थियो । तत्काल जवाफ दिन सकिनँ । गौरा राई दिदीले तिमीभित्र त्यो क्षमता छ, जुन मिस्टर हेन्सम नेपालमा खोजिन्छ भनेर भन्नुभयो । केही दिन सोच्ने समय मागें । सहभागी बन्ने निचोडमा पुगें । फर्म भर्न गएँ । थुप्रै हेन्सम, अग्ला, ज्यान भएका यूवाहरूलाई देखें । अलिअलि डर पनि लाग्यो । तैपनि प्रतिस्पर्धामा सहभागी भए । उपाधि जिते । मलाई के लाग्छ भने ब्युटी प्रिजेन्टको एउटा टाइटल मिस्टर हेन्सम नेपाल हो तर त्यहाँ राम्रो अनुहार भएको व्यक्ति मात्र जानुपर्छ भन्ने हुँदैन । ऊ भित्रको क्षमतालाई पनि हेरिन्छ । जब मैले टाइटल उपाधि जिते । किन जिते भने फाइनलमा सोधिने प्रश्नको जवाफ राम्रो दिएँ होला ।
मिस्टर हेन्समकै उपाधि नै तपाईंको टर्निङ प्वाइन्ट बनेको हो ?
मान्नुपर्छ । यदि मिस्टर हेन्सम नेपालको उपाधि हात नपरेको भए यति छिट्टै विज्ञापन र गीतसंगीतमा मोडलिङको अवसर पाउन्थिन कि भन्ने लाग्छ । त्यो स्वाभाविक पनि हो । एउटा सफलताले थुप्रै सम्भावनाको ढोका खोल्दो रहेछ ।
मोडलिङ अब तपाईंको प्यासन बन्यो त ?
एकदम, गीत संगीतमा अझैँ झिज्दैछु । काम गर्दै सिक्दैछु ।
नाच्न कति गाह्रो लाग्छ ?
नाच्न भनेर म प्रोफेसनल डान्सर होइन । फेरि यसोभन्दा नाच्न जान्दिन भन्ने पनि होइन । अन द स्पर्ट नाच्छु तर ट्राइ टु वेस्टको सिद्धान्त आत्मसात् गर्दैछु । अर्को कुरा स्कुल लेवलमा नाच्थें । डान्समै स्कुलबाट छनोट भएर जिल्लासम्म पुगेको व्यक्ति हुँ । गाउँघरमा हुने प्रायः कार्यक्रममा सहभागी हुन्थे र पुरस्कृत हुन्थे । विद्यालय तहको त्यो अभ्यासले अहिले संगीतसँग जोडेको हो कि जस्तो पनि लाग्छ । हिजोसम्म कलाकारितामा भविष्य सोचेको थिइन् तर अहिले कलाकारितामा भविष्य सोचिसके । मोडलिङमा धेरै गर्नुछ । त्यस्तो लाग्दैछ ।
गीत छनोटमा कति ध्यान दिनुहुन्छ ?
गीत सुन्छु । आफूलाई चित्त बुझे मात्र थप छलफल अघि बढाउछु । केही केही गीत अस्वीकार पनि गरेको छु । आफ्नो भविष्य र चर्चा जोडिने कुरामा अलिकति भए पनि चुजी हुन आवश्यक नै छ जस्तो लाग्छ ।
मोडलिङको भ¥याङ चढेर फिल्ममा फड्को मार्ने चाहना पनि छ ?
नायक बन्ने प्रस्ताव पनि आएको हो । त्यो बेला अभिनय के हो भन्ने थाहै थिएन । अहिले पनि धेरैले नायक बन्नुपर्छ भन्ने तवरले सल्लाह दिनुहुन्छ । लुक्स, ज्यान, स्टाइलले नायक बन्नुपर्छ भन्ने शुभेच्छा छ । उहाँले भनेर मात्रै पनि हुँदैन । म भित्र नायक बन्ने क्षमता छ कि नाइँ भन्ने कुरा त मलाई थाहा हुन्छ जि, हैन र ? तर भोलिका दिनमा समयले फिल्मी क्षेत्रमा जादिनँ भन्ने पनि होइन । राम्रो स्कृप्टसहित अफर आएमा किन फिल्म नगर्ने भन्ने पनि होला ।
फ्रन्टलाइनमा नाच्नेको कमाइ कस्तो हुँदो रैछ ?
बाँच्न पुग्छ । पारिश्रमिक यति नै भन्नुभन्दा पनि निर्मातासँग हुने छलफलबाट त्यसको निचोड निस्कने हो । छ्या भन्ने पनि हँुदैन । भयंकर नै हुन्छ भन्ने पनि होइन् । भिडियोको बजेटअनुसारको पारिश्रमिक लिन्छु । ठिकै छ । मैले एउटा प्राइभेट स्कुलको एडबाट १५ हजार पारिश्रमिक थापेर आफ्नो करियर सुरु गरेको हुँ ।
मोडलिङको छोटो अवधिमा खुट्टा तान्ने, कुरा काट्नेहरू कति भेटिए ?
धेरथोर भेटिँदो रैछ । पछिल्लो समय मलाई खुमन अधिकारीले सपोर्ट गरिरहनुभएको छ । भन्नेहरू खुमनले अभिषेकलाई किन सपोर्ट गरिराछ भन्नेहरू, आरिस गर्नेहरू हुँदा रैछन् । तर त्यसलाई सामान्य रूपमा लिएर आफ्नो काम इमानदारीपूर्वक गर्दै आएको छु । कुरा काट्नेहरूलाई कामले जवाफ दिनुपर्छ भन्ने लाग्छ ।
प्रतिक्रिया