देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारको उपहारः ओम्नी, यती र बतास समूहलाई सरासर

देशान्तर

काठमाडौं । तत्कालीन केपी ओली सरकारले राज्यकोषको दोहन र आफन्तलाई पोस्न गरेका निर्णयहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका बेला आम नागरिकलाई नै तर्साउने गरी बतास समूहलाई सरकारी तथा विभिन्न संस्थाका सम्पत्ति सुम्पने निर्णय बाहिरिएपछि एमाले, त्यसका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओली र ओली सरकारका मन्त्रीहरूले कसरी राज्यकोषको दोहन गर्दै भ्रष्टाचार गरेका रहेछन् भन्ने खुलासा भएको छ । कोरोना महामारीमा जनता आक्रान्त भइरहेका ओम्नी समूहलाई सम्पूर्ण स्वास्थ्य सामग्री आयात र वितरणको जिम्मा दिएर अर्बाैं रुपैयाँँ भ्रष्टाचार भएको तथ्य फेला परेपछि जनताको नजरबाट गिरेका ओली र उनका सहयात्रीहरू यति र बतास समूहका नाममा भएको कर्तुत सार्वजनिक भएपछि थप गन्हाएका छन् ।

राजधानी काठमाडौंको मुटु दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई तत्कालीन ओली सरकारले रेस्टुराँ बनाउन समय र जग्गाको सीमासमेत नतोकी जग्गा उपलब्ध गराएको समाचार सार्वजनिक भएपछि खोज्दै जाँदा बतास समूहलाई यति धेरै ठाउँ र सरकारी सम्पत्ति जिम्मा लगाएको पाइएको छ कि देशमा बतास समूहले एकछत्र राज गरिरहेको आभास हुन्छ । पर्यटनको विकास भन्दै यती समूहले नारायणहिटी अगाडिको नेपाल ट्रस्टको जग्गादेखि निकुञ्जको जग्गा एमालेको नेतृत्व र खासगरी ओलीलाई प्रभावमा पारेर सस्तो दरमा भाडामा लिएको परिप्रेक्ष्यमा बतास समूहले पनि ठ्याक्कै यस्तै शैली पछ्याएको छ ।

व्यापारिक, धार्मिक र पर्यटकीय क्षेत्रमा नजर लगाउँदै आएको बतास समूहले यस अगाडि नै पशुपति क्षेत्र विकास कोषको नेतृत्वलाई प्रभावमा पारेर मन्दिर दर्शनका लागि आउने भक्तजनका लागि भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा लिएर होटल बनाउन सफल भएको थियो । पशुपति मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकको सुविधाका लागि धर्मशालाको अभाव भएपछि भारत सरकारले तिलगंगा क्षेत्रमा आधुनिक धर्मशाला बनाउन सहयोग गरेको थियो ।

तत्कालीन पर्यटनमन्त्रीहरू रवीन्द्र अधिकारी, भानुभक्त ढकाल र योगेश भट्टराईसहित ओलीलाई प्रभावमा पारेर बतास समूहका प्रमुख आनन्द बतासले धर्मशालालाई होटलमा परिणत गरिदियो । यति मात्रै हैन यही समूहले पाटन क्षेत्रमा समेत पाटी भाडामा लिएर व्यापार गरिरहेको छ । पोखरा महानगरपालिकाको नेतृत्वलाई प्रभावमा पारेर रामघाट क्षेत्र भाडामा लिएर स्थायी ड्याम बनाएर पर्यटकीय प्रयोजनमा प्रयोग गर्ने र पातले छाँगो भाडामा लिएर व्यापारिक प्रयोजनमा प्रयोग गर्न समेत यही समूह सक्रिय छ ।

सरकारलाई पत्तै नदिई पोखराको मणिपाल अस्पतालको सेयर किन्ने दुई व्यापारिक संस्थामध्ये बतास पनि हो । बतासले नै तनहुँको मानुङडाँडामा सरकारी जग्गा भाडामा लिएर रिसोर्टलगायतका संरचना बनाउने प्रयास गरिरहेको छ ।

पर्यटन, कृषि र अटोमा लगानी गर्दै आएको यो समूहले प्राचीन सम्पदा र ऐतिहासिक क्षेत्रलाई उपयोग गर्दै व्यापार गरिरहेको छ । पर्यटनसम्बन्धी निर्णायक तहमा रहेका एमालेका नेता र जनप्रतिनिधिहरूमा उनको बलियो प्रभाव देखिन्छ । पर्यटन मन्त्रालयमा एमालेका सांसद मन्त्री भएर गएपछि नै पर्यटन क्षेत्रमा उसको प्रभाव बढेको थियो । पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर धर्मशालालाई होटल बनाउन होस् या नारायणहिटीभित्र रेस्टुरेन्ट खोल्न होस् उनलाई एमालेबाट बनेका मन्त्रीले नै सघाएका थिए । पहिला उनलाई पोखराका सांसद रवीन्द्र अधिकारीले सघाए । अधिकारीको निधनपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराईले सघाए । पातले छाँगो र रामघाट क्षेत्र भाडामा दिन पोखरा महानगरपालिकाको नेतृत्वले बतास समूहलाई सघाएको थियो ।

रामघाट क्षेत्रमा सेती नदीमा स्थायी ड्याम बनाएर ३५ वर्षसम्म नदीजन्य सामग्री संकलन अनि निकासी गर्ने बतास समूहको योजना छ । जतिबेला एमाले नेतृत्वमा आउँछ, उतिबेला व्यापारिक रूपमा नै सक्रिय हुने बतास समूहले एमाले नेतृत्वको सरकारबाट पटकपटक विभिन्न बहानामा अनुदानसमेत लिएको खुलेको छ । पर्यटन र व्यापारमा सक्रिय बतास समूहले कृषिको नाममा समेत अनुदान लिएको पाइएको छ ।

देउवातिर पनि सोझियो
उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर राज्यको सम्पत्ति आफ्नो व्यापारिक प्रयोजनमा उपयोग गरिरहेका बतास समूहका प्रमुख आनन्दराज बतासको सम्पर्क एमाले नेतृत्वसँग मात्रै नभई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि रहेको पाइएको छ । स्वयं बतासले आफ्नो सम्पर्क देउवा र ओली दुवैसँग रहेको बताएका छन् भने देउवा पत्नी आरजु राणा बतास फाउन्डेसनको सल्लाहकार सदस्य रहेको पाइएको छ ।

आफूलाई देउवाको मान्छे भन्न रुचाउने बतासले आफू झापाली ज्वाईं रहेको बताउँदै एमाले नेतृत्व र कर्मचारी संयन्त्रलाई प्रभावमा पार्ने काम त गर्थे नै आरजुसँगको सम्बन्धका कारण देउवालाई पनि प्रभावमा पारेर आफ्नो दुनो सोझ्याउने काम गरिरहेको पाइएको छ ।
बतास समूहसँगको आबद्धता सार्वजनिक भएपछि दुई दिनअघि नै आरजुले विज्ञप्ति जारी गरी आफ्नो संलग्नता नरहेको दाबी गरे पनि बतास फाउन्डेसनको सल्लाहकार सूचीमा उनको नाम आज पनि छ । खासगरी व्यापारिक घराना र ठूला गिरोहमा आरजुको संलग्नता यसअघि पनि पटक पटक देखिँदै आएको छ ।