देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाम्रा गफाडी गुरु

देशान्तर

‘जति भयानक रोग हुन्छ, त्यति मीठो नाउँ हुँदो रेछ ।’ एक दिन गफाडी गुरुले बीच बाटोमा मलाई रोक्दै भने । मैले भनेँ–‘गुरु तर त्यसले रोगको भयानकता त कम हुँदैन त ?’

गुरु मुसुक्क हाँसे– ‘बिरामीलाई केही सान्त्वना पनि हुन्छ, त्यो पनि आवश्यक छैन र ? मनोवैज्ञानिक ‘फिलिङ’ को थेरापी हो हो । देख्दैनौं, हुरीबतासहरू दुनियाँमा आउँछन्, घर उजाड्छन् मानिस मार्छन्, तर त्यस्ता भयानकको नाउ कति कोमल हुन्छ?’

‘नाउँ राख्ने कसरी होला गुरु? ल्याब टेस्टबाट त नाउँ आउँदैन होला?’ मैले मेरो स्कुलदेखिका गुरुसमक्ष प्रश्न राखे । गुरुले भने ‘हर प्रश्नको उत्तरको एक समय हुन्छ, अहिले त्यो समय आएको छैन । कुनै दिन दिउँला ।’ भन्न त भने गुरुले तर मलाई लाग्यो, यसको उत्तर यिनलाई पनि थाहा छैन ।त्यसैले टारे ।मैले कोरोना–केन्द्रित हुनु नै उचित ठाने, ओमिक्रोन नै अहिलेलाई सामयिक थियो । भने ‘ओमिक्रोन त फैलिने मात्र बढी र चाँडो हो, यो घातक त कम हो भन्छन्नि ? अझ यसलाई त ‘कोरोना’ समाप्त हुने लक्षण पनि भन्दा रहेछन्?’ गुरुले भने– ‘त्यस्तै हो । ओमिक्रोनले मृत्यु हुने त्यति हुँदैन भन्थे ।,

बेस्सरी नै भएको देखिन्छ । युरोप हेर, अमेरिका हेर । प्रतिशत कम–बेसी त पहिले ‘डेल्टा र डेल्टाअघि पनि त थियो नि ? वास्तवमा यसको ठीक औषधि र जानकारी अझैं कसैलाई छैन । खोप लगा, मास्क लगा, तर तै पनि स्वास्थ्य–सतर्कता कायमै राख भनेको हो ? अलिकति थाम्छ, धेरै विश्वस्त न हो भनेको होइन ? अब हेर ‘वुस्टर डोज’ दिन मिति तोकिसकेको थियो ।अन्य कारणले अहिले नदिने भनियो । यो के हो ? खोप हामीसँग चाहिनेभन्दा बढी नै छ भन्छन्, खोप भने दिने भनेर दिँदैनन् । यो के हो ?यो यस्तै हो । साँच्चै भन्ने हो भने अब त बुस्टर होइन अर्को पूर्ण खोप दिने बेला आइसक्यो । पहिलो दिएको खोपको म्याद आठ महिना, दस महिना भन्थे । लौ वर्षदिन नै भनुँ भने पनि फेरि दिने बेला आएन त ? तर यसबारे कोही केही भन्दैन । खोप पर्याप्त छ र पनि दिइन्न भने, औषधि खल्तीमा हालेर निको हुन्छ भन्नु जस्तै हो । हुन त यो पनि एक थेरापी नै होला ।भए न यो थेरापी विश्वलाई, हाम्रो देशको देन हुनेछ ।

गुरुले त्यसपछि आङताने । कति नेता रोगी थिए । तिनको महत्व नै यसमा थियो कि रोग लिएर पनि कयौं घण्टा काम गर्दै देशसेवा गर्नुहुन्थ्यो । अहिले त्यस्तो चर्चा सुनिँदैन । यो मैले गुरुलाई पनि भने ।गुरुले भने–‘हेर बाबु चुनावका बेला नेता तन्दुरुस्त भएन भने नकारात्मक प्रभाव पर्न सक्छ । रोगीलाई भोट नदिने मनस्थिति बन्न सक्छ । फेरि त्यसमाथि जित्नलाई रोगको सहारा लिनु घातक हुन्छ । त्यसकारण सबै रोग–शोक–भोक छाडेर ती सारा गाली र प्रसंगरित लागेका हुन्छन् ।चुनावमा आफूलाई तन्दुरुस्त देखाउनु जरुरी हुन्छ । सबसित लड्ने–भिड्ने क्षमता देखाउन सक्नु पर्दछ । म वास्तविक ‘बाहुबली’ हुँ भनेर सावित गर्नुपर्ने हुन्छ । केही नखाएको तर खाइलाग्दो देखाउनुपर्ने हुन्छ । यद्यपि वर्षभरि खानपिन गरेरै बसेका हुन्छन् तर तिनले वाचा गर्नुपर्ने हुन्छ, म जनतालाई ख्वाउँछु ।’ त्यसमाथि गुट, उपगुट सबैलाई हेन्डिल गर्नुपर्ने हुन्छ ।यस्तोमा रोग–भोक निन्द्राको कुरा गरेर हिँडेर कसरी हुन्छ ? जित्ने, पछि त छँदैछ, जे जे गर्ने हो गर्नलाई ? त्यसैले चुनावमा चुनाव नै तिनको एक मात्र औषधि हुन्छ । रोग त्यससमय निलम्बनमा हुन्छ ।

कितावले गुरुलाई ऊर्जादिन्छ । उनी देवकोटा पढ्छन् र ठ्याक्कै देवकोटा जस्तै लेखिदिन्छन् । भन्छन् ममा र देवकोटामा केही फरक देखिन्छ त? अर्को दिन सुनाए लेखनाथ जस्तै लागे । मै खाउँ, मैलाउँ, सुख–सयल वा मोज म गरुँ’ किसिमले लेखेका थिए । ‘अरुण तपसी’ मैले सोधे, तरुणको ठाउँमा ‘अरुण किन गुरु?’ गुरुले भने मुसुक्कै हाँस्दैं –‘लेखनाथले त एक तरुण तपसीको कल्पना गरेर लेखे ।अरुण त साक्षत् भर दैनिक रूपमा देखिने आकाशवाणी दुनियाँमा प्रकाश फिजाउने तपसी हो । त्यो झन् ठूलो तपसी छ ।तरुण लेखनाथको अरुण मेरो मन त तरुणमा अरुणको प्रभाव पर्दैन त दुनियाँमा ? गुरु एक दिन मोतीलाल बनेर आए । यस्तै चल्दै थियो। के लागेछ कुन्नी, एक दिन त एज्रा पाउन्डसँग पो आफूलाई दाँज्न थाले ।मैले भने‘किन गुरु पूर्वबाट पश्चिमतिर लाग्नु भएको एक्कासी ?’ गुरुले मसिनो स्वरमा भने यतिञ्जेल विदेशी कवि पढ्नपाएको थिइनँ । अस्ति अनुवादमा पाएँ हेरुँ न त भनेर धस्काइदिएँ ।वा गुरु ‘राम्रो लाग्छ मलाई त मेरै पाखा पधेँरो’ भन्दै माधव घिमिरेसित टक्कर लिन आइपुगे ।

अचानक त्यस्ता श्लोकहरूमा लेख्दालेख्दै एक दिन एउटा कथा पो सुनाउन आइपुगे । शीर्षक राखेका थिए ‘पर्खाल’ । कथा सुनाएपछि उनले भने– ‘हुबहु सार्नको ‘द वाल’ जस्तो भएन त ?’ साँच्चिकै उनले ‘द वाल’ कथा सारेका थिए । कहाँबाट पाए नेपालीमा सार्न कुन्नी ? मलाई पढाइसकेपछि भने ‘सार्न जस्तो भएन त?–‘ठ्याक्कै भयो गुरु ।’ गुरु मुसुक्क हाँसे रहस्यमय किसिमले भने ‘अब भन सार्न भन्दा म के कम त ? सार्नकै कथा सार्नभन्दा कम कसरी भनुँ ?–‘कम छैन गुरु’ भने । तर गुरु एउटा रहस्य मैंले बुझ्न सकिनँ ।लेखनाथ, देवकोटा, माधव घिमिरे, सिद्धिचरण हुँदै तपाईं कसरी बिदेसिनु भएको यसरी ? यो गुरु रहस्यै छ बाबु, यसलाई अहिले नभनुँ ।परिणाम प्राप्त भएपछि भनुँलाहै ? गुरु त झन् रहस्यमयी बने । भने–‘होइन गुरु, भन्नुस् न हामी पनि मद्दत गर्छौं कि ?’ गुरुले अझैं मसिनो स्वरमा भने ‘हाम्रो मदन पुरस्कार जस्तै, एउटा नोबेल पुरस्कार छ रे नि ?’– ‘छ त गुरु अनि?’ गुरुले यताउती हेर्दै भने–‘हो त्यही पुरस्कार पाउन मन लाग्यो क्या ?’

यस पटक भने म निरुत्तर नभई सुखै पाइनँ । गुरुका आँखामा नोबेल प्राइजका टलकहरू बसिराछन् । मनमनै भने–‘धन्य गुरु तपाइंै अपरम्पार हुनुहुन्छ’ गुरुथेरापी भन्दाभन्दै आफैं थेरापी गर्न अवस्थामा प्राप्त भएछन् ।

गुरुको साहित्यमा त्यस्तो रुचि थिएन, आकांक्षा भने ‘उडी छुनु चन्द्र एक’ नै थियो । ‘आकांक्षाका लागि प्रतिभा चाहिन्छ ।’ एक दिन गुरुले नै भनेका थिए । अब आफैं सित्तैमा प्राप्त हुने आंकाक्षा पाल्न थालेछन् । गुरुमात्र त्यस्तो छैन, अरू पनि कति साहित्यिक होलान् ‘किंसुक’ फूलसरि मान जो सित्तैमा प्राप्त हुन्छे आकांक्षा पाल्छन् । तिनलाई पनि प्रणाम छ । ती पनि मेरा लागि गुरु सम्मान छन् । गर्दागर्दै उनी एउटा गुटमा पुगेछन् । एक दिन उनी सम्मानपत्र लिएर आए । त्यसमा उहाँको प्रतिभाको कदर गर्दै ‘अभिनन्दन’ गरिएको रहेछ । तर लेखिएको थियो–उपेक्षित प्रतिभा सेवक समूह ।गुरु दंग । त्यही समूहले एक दिन उनलाई बनाइदिएछ गुरु, अचेल नोबेल प्राइज त प्राचीन खालको लेखकले बढी पाउँछ ।
गुरु धेरै दिन गमे, कोठा बाहिरै ननिस्कएर । सुन्छु अचेल गुरु अब शम्भुप्रसाद ढुंगेलका कविता धुईंधुर्इं खोज्दै छन् ।