काठमाडौं-भारतमा कोरोनाभाइरस संक्रमितको सङ्या बढेसँगै नेपालमा पनि भित्रभित्र नयाँ भाइरस ओमिक्रोन मेरियन्ट संक्रमण बढेको आशंका गरिएको छ । पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा बिस्तारै कोरोनाको सङ्क्रमण दर उकालो लाग्न थालेसँगै नयाँ भेरियन्ट बढेको आशंका गरिएको हो ।
भारतमा तिब्र रुपमा फैलिएको निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा पुष्टि भइसकेको छ भने यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार बढेर ५ प्रतिशत नजिक पुगेको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आज राष्ट्रपति समक्ष कोरोना रोकथामको विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले संक्रमण तिब्र भएको पत्ता पाएर नै राष्ट्रपतिसँग भेट गरेको हुनसक्ने बुझाई जनमानसको छ ।
कोरोना संक्रमणको दर पुस २२ गते १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३१ रहेको छ । पुस २१ गते १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २२५ थियो । यस्तै पुस २० गते ९ हजार ३२९ जनाको परीक्षणमा ३९३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार पुस २० गतेको सङ्क्रमित सङ्ख्या ५ हजार ९४ छ ।
यता पुस १९ गते १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । १९ गते ५ हजार ५ जना सक्रिय सङ्क्रमित रहेका थिए । यस्तै पुस १८ गते ७ हजार ६३१ जनाको परीक्षण गर्दा २१६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका थिए । बितेको ५ दिनमा सङ्क्रमण दर १.६३ प्रतिशतले बढेको पाइएको छ । यो तथ्यांकअनुसार आगामी दिनमा सङ्क्रमण दर बढ्न सक्ने देखिएको हो ।
प्रतिक्रिया