काठमाडौं– विश्वका विभिन्न देशहरूमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै विज्ञहरूले तेस्रो लहरको सङ्केत हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा २९ डिसेम्बरयता दैनिक झन्डै ५ हजार नयाँ सङ्क्रमित थपिन थालेका छन् ।
भारतमा डिसेम्बर २८ मा करिब ९ हजार रहेको दैनिक सङ्क्रमित हुनेको सङ्ख्या हिजो अर्थात् ३ जनवरीमा ३७ हजार नाघेको छ ।
बेलायतमा पनि हिजो मात्रै १ लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएका छन् । त्यहाँ पनि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
यस्तै वल्र्डोमिटरको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्ला दिनहरूमा विश्वभर कोभिड (१९) को सङ्क्रमण बढ्दै गएको छ ।
डिसेम्बर २६ मा करिब ६ लाख ९० हजार नयाँ थपिने सङ्क्रमित रहेकोमा जनवरी ३ मा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या साढे १३ लाख भन्दा बढी पुगेको छ ।
खास गरी कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै महामारीले तेस्रो लहर निम्त्याउन सक्ने चिन्ता विज्ञहरूको छ । पछिल्ला दिनमा बढिरहेको सङ्क्रमणले समेत त्यसैको सङ्केत गरेको देखिन्छ ।
भारतका सबै प्रदेशमा नयाँ थपिइरहेका सङ्क्रमितमध्ये आधा सङ्क्रमित ओमिक्रोन भेरियन्टबाटै सङ्क्रमित भइरहेको हुनसक्ने विज्ञहरूको आङ्कलन छ ।
ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा निकै बढी सङ्क्रामक भएका कारण फेरि स्वास्थ्य क्षेत्रमाथि सङ्कट आउन सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसअघि नै जानकारी दिइसकेको छ ।
विश्वभर सङ्क्रमण बढ्दै जाँदा नेपालमा समेत महामारीले तेस्रो लहर निम्त्याउन सक्ने चिन्ता देखिएको छ ।
यसबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै नागरिकहरूलाई खोप लगाउन आग्रह गरिरहेको छ भने, जोखिमपूर्ण समूहका नागरिकहरूलाई खोपको तेस्रो मात्रा लगाउन समेत आग्रह गरिसकेको छ ।
भारतमा सङ्क्रमण बढ्दा नेपालमा समेत प्रत्यक्ष असर पर्ने र सङ्क्रमण बढ्ने विज्ञहरूको भनाइ छ । यसै कारण सबैले सचेत हुन आवश्यक देखिन्छ ।
प्रतिक्रिया