देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ वटा बैंक तथा वित्तीय संस्था विलय भएको ग्लोबल आईएमई बैंक १६ औं वर्षमा प्रवेश

देशान्तर


काठमाडौं—ग्लोबल आईएमई बैंक स्थापनाको १६ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको १५ औं वर्ष पार गर्दासम्म १ वाणिज्य बैंकसहित १८ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा विलय हुन पगेका छन् । तत्कालीन जनता बैंकसहित १८ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आईएमई बैंकले धेरै वित्तीय सूचकमा आफूलाई अब्बल बनाउँदै लागेको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसनमार्फत अधिकांश सूचकमा बैंकलाई अब्बल बनाउन सफल रहेको बताए । उक्त अवसरमा बैंकले १५ वर्षदेखि निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ ।

काठमाडौंको एभेष्ट होटलमा आइतबार आयोजित विशेष कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान प्रदान गरे । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत् कर्मचारीहरुलाई सम्मान गरे ।

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकका सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ शेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।
त्यस्तैगरी बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फतसेवा प्रदान गर्दै आएको छ । बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहक आबद्ध छन् ।

वार्षिकोत्सवका अवसरमा बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना भएको थियो । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।