देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा

देशान्तर


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

कम गुणस्तरको मल आयात गरेको आरोपमा अख्तियारले कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, प्रबन्धक विष्णु पोखरेल, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोप लगाएको छ ।

त्यसैगरी आयात गरेको मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, सिनियर सर्भेयर महेन्द्रकुमार डाँगी, ल्याब निर्देशक सुनिलबाबु खत्री, र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।

साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुनेगरी भ्रष्टाचारको आरोपमा विगो कायम गरेको हो ।